“मुन्दुम सांस्कृतिक उद्यान”मा सुम्निमा र पारुहाङको प्रतिमा

0
35

अर्जुनधारा ।

झापाको अर्जुनधारा–११ सालबारीस्थित “मुन्दुम सांस्कृतिक उद्यान” परिसरमा शनिबार एक कार्यक्रमकोबिच सुम्निमा र पारुहाङको अर्धकदको प्रतिमा स्थापना गरिएको छ ।

किरात राई समुदायको इष्टदेवताको रुपमा परिचित उक्त सुम्निमा र पारुहाङको प्रतिमा अर्जुनधारा–८ निवासी डा. उज्जवल थुलुङ राईले बाजेबोजु लक्ष्मीप्रसाद+रनमाया थुलुङ राई र कोपाकोमा सहरमान+माइतीकुमारी चाम्लिङ राईको स्मृतिमा निर्माण गरेका हुन् ।

उभौली पर्वको अवसरमा किरात राई यायोक्खा अर्जुनधारा नगर समितिद्वारा आयोजित साकेला सिली महोत्सवमा किरात मुन्दुम अनुसार पूजाअर्चना पश्चात् प्रतिमाको प्रमुख अतिथि किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष युवराज राई र दाताका आमा एवम् समितिकी सल्लाहकार सदस्य कुसुम थुलुङ राईले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

ढुंगाबाट नवनिर्मित प्रतिमाको जम्मा लागत(स्तम्भ+रेलिङ)सहित जम्मा सात लाख रुपैयाँ रहेको किरात राई यायोक्खा अर्जुनधाराका सचिव सिंहबहादुर राईले जानकारी दिए । सोही कार्यक्रममा समितिकोतर्फबाट दाताको सम्मान पत्र आमा कुसुम थुलुङ राईलाई प्रदान गरिएको थियो ।

समितिका अध्यक्ष विजय साङपाङ राईको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट सहभागी भएका २२ वटा बढी साकेला सिली टोलीबाट सिली प्रस्तुत गरिएको थियो । त्यसैगरी कार्यक्रममा समितिको भवन निर्माणमा आर्थिक सहयोग प्रदान गर्ने दाताहरुलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा किरात राई यायोक्खा झापाका सल्लाहकार सदस्य एवम् अग्रज पत्रकार दिपीन राई, अध्यक्ष गणेश राई, सहसचिव चिजा राई, अर्जुनधारा नगरपालिकाकी निवर्तमान प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिकी उपाध्यक्ष भूपा राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव सिंहबहादुर चाम्लिङ राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here