तुवाचुङ-जायाजुममा बृहत् साकेला सिली

0
3
खोटाङ,
हलेसी तुवाचुङ नगरपालिका-७ स्थित तुवाचुङ-जायजुममा तीन चुल्हाको पूजा गर्दै  बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । साकेला उभौलीको अवसरमा  विभिन्न जिल्लाका किरात समुदाय भेला भइ सामूहिक रुपमा साकेला सिली प्रदर्शन गरिएको हो ।
किरात ऐतिहासिकस्थलमा पितृको सम्झना एवं संस्कार-संस्कृतिको संरक्षण गर्न तुवाचुङ-जायजुम संरक्षण समितिको आयोजनामा खोटाङ, उदयपुर, ओखलढुङ्गालगायतका किरात समुदाय भेला भइ तीन चुल्हाको पूजा गरी साकेला सिली प्रदर्शन गरेका हुन् ।
यस ठाउँमा किराती पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषि युग र मानव सभ्यताको सुरुवात गरेको किंवदन्ती रहेको तुवाचुङ-जायजुम संरक्षण समितिका महासचिव दिनेश राईले बताउनुभयो ।
त्रिधार्मिकस्थल हलेसी नजिकै रहेको तुवाचुङ-जायजुममा संसारभरका किरात समुदाय पितृ पुर्खालाई पूज्न आउने गर्छन् । सिली प्रदर्शनीमा १३ समूहले ढोल, झ्याम्टाको तालमा गाउँदै साकेला सिली प्रदर्शन गरेका थिए । सिली प्रदर्शन तथा तीन चुल्हा पूजाको औपचारिक उद्घाटन हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले गर्नुभएको थियो ।
साकेला उभौलीले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्ने किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किरातले बताउनुभयो । “साकेलामा विशेष गरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । यसले किरात र गैरकिरातबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पु-याउँछ”, उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here