बिर्तामोडमा ‘मिस्टर झापा’ बडी बिल्डिङ च्याम्पियनसीप हुने

0
34

बिर्तामोड ।

झापाको बिर्तामोडमा ‘फस्ट स्टेप मिस्टर झापा बडी बिल्डिङ च्याम्पियनसीप २०८१’ हुने भएको छ । फस्ट स्टेप फिटनेसले मिशन बिर्तामोडको सहकार्यमा आगामी असोज १९ गते बिर्तामोडमा ‘मिस्टर झापा’ प्रतियोगिता गर्न लागेको हो ।

आयोजक संस्था फस्ट स्टेप फिटनेसले आज (बुधवार) बिर्तामोडमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको तयारी बारे जानकारी दिएको हो । झापामा खेलाडी उत्पादन तथा खेलाडीलाई पोत्साहन गर्ने उदेश्यले ‘मिस्टर झापा’ प्रतियोगिता आयोजना गर्न लागिएको फष्ट स्टेप फिटनेसका अध्यक्ष सुवास मेचेले जानकारी दिए ।

प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७० वढी केजी तौल समुहबाट सहभागी भएर पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमश ५ हजार, ३ हजार र २ हजार रुपैयाँबाट पुरस्कृत गरिने आयोजक संस्थाका अध्यक्ष मेचेले बताए ।

त्यस्तै ओभरअलमा सहभागीता जनाएर ‘मिस्टर झापा’ को च्याम्पियनसीप हुनेलाई नगद एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ भने दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेलाई क्रमश एक लाख एक हजार, ७६ हजार, ५१ हजार र ३६ हजार नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित १५ लाख खर्च हुने र स्थानीय सरकार, खेलप्रेमी, सामाजिक संघ÷संस्था, सामाजिक ब्यक्तित्वसँग सहकार्य गरेर प्रतियोगिता सम्पन्न गर्ने आयोजक समितिका देवराज परियारले जानकारी दिए । यो प्रतियोगता झापामा १७ बर्ष अघि अर्थात २०६४ सालमा भएको थियो ।

त्यस प्रतियोगिताबाट अभिनेता तथा संस्थाका हालका अध्यक्ष सुवास मेचेले ‘मिस्टर झापा’ च्याम्पियनसीपको उपाधि जित्न सफल भएका थिए । त्यसपछि भने यो प्रतियोगिता हुन सकेको थिएन तर, यो पटक भने प्रतियोगिता हुन लागेको बताइएको छ । पत्रकार सम्मेलनको सहजीकरण फस्ट स्टेप फिटनेसका सचिव माधवकुमार झाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here