सालबारीमा विशेषज्ञ सेवासहितको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

0
42

अर्जुनधारा ।

शनिश्चरे आयुर्वेद औषधालयको आयोजनामा झापाको अर्जुनधारा–११स्थित सालबारीमा एक दिने विशेषज्ञ सेवासहितको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।

स्थानीय महारानीगञ्ज माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त शिविर आयुर्वेद सेवामा सबैको पहुँच विस्तार एवम् स्थानीयस्तरमा रहेका मलद्वारमा हुने रोगहरु, नशा रोग तथा जोर्नीको समस्या भएका बिरामीहरुलाई लक्षित गरि सञ्चालन गरिएको औषधालयका प्रमुख वरिष्ठ कविराज अनिल ठाकुरले जानकारी दिए ।

वडाध्यक्ष खगेन्द्र इङनामको अध्यक्षतामा आयोजित उक्त शिविरको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् । अर्जुनधारा–१०का वडाध्यक्ष भूपेन्द्र न्यौपानेले मन्तव्य राखेको कार्यक्रममा शिविरको औचित्यसहित स्वागत औषधालय प्रमुख ठाकरले र कार्यक्रमको सञ्चालन दुधे आयुर्वेद औषधालयका कविराज निरीक्षक राजेन्द्र पोखरेलले गरेका थिए ।

प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरका शल्य चिकित्सक डा. विनोदकुमार यादव, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डा. अनिलकुमार यादव र डा. सुरज पन्तलगायतले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेको शिविरमा एक सय ६२ जना बढीले सेवा लिएका छन् ।

औषधालयका प्रमुख ठाकुरका अनुसार बिरामीको जाँच, परामर्श, उपचारसँगै औषधी वितरण गरिएको उक्त शिविरमा सहभागी धेरै बिरामीहरुमा पायल्स, नशा रोग, बाथ रोग तथा जोर्नीको समस्या रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here