जनपक्षीय नेता दीर्घ थापा

0
23

दीर्घ थापा अर्थात् दीर्घ सर अब यस धराधाममा रहेनन् । २०१५ सालमा जन्मेका थापाले २०८१ साल असार २ गते राति १ः५० बजे कनकाई नगरपालिका–३ स्थित निजी निवासमा अन्तिम सास फेरे । समाजलाई निस्वार्थ भाव, परोपकार र मानवताको सन्देश दिएर जाने एक उदाहरणीय व्यक्तित्वका रूपमा झापाबासी विशेषतः कनकाई नगरवासीले उनलाई सदैव स्मरण गरिरहने छन् । सबैको स्मृतिमा एक असल व्यक्तित्वको अमिट छाप बनाएर अस्ताएका थापा जस्तै सब कोहीको मरण हुँदैन । उनको जीवन जनजनका मनमनमा सदैव शीर्षस्थानमा रह्यो भने उनको मृत्यु सगरमाथा जत्तिकै अग्लो र महान रह्यो । जो कोहीको मृत्यु यसरी स्मृतिमय हँुदैन ।

जीवनको लामो समय शिक्षा क्षेत्रमा बिदाएका थापा जनप्रतिनिधि हुनु अघिदेखि नै आफ्नो वडामा एक सफल न्यायाधीश जस्तैः भूमिकामा रहेर वडाबासीलाई सेवा प्रदान गर्दै आएका थिए । उनले जीवनका धेरै चुनौतिपूर्ण यात्रा पार गरेका छन्, धेरै उकाली–ओराली छिचोलेका छन् र धेरै सफलता हात पारेका छन् । तर, यस पटक क्यान्सरका जीवाणुसँगको युद्धमा उनी हारे । शान्त रहेको बेलामा, हुरीहुण्डरी नआएको बेलामा एउटा नरकट पनि ठिङ्ग उभिन सक्छ, तर आँधीहुरी चलेका बेलामा सतीसाल मात्र ठिङ्ग उभिन सक्छ । मुक्ति आन्दोलनमा, जनयुद्ध र जनान्दोलनका मोर्चामा अविचलित सतीसालझैं ठिङ्ग उभिएर विरोधीका प्रहार खपेका थापा एक असल जनपक्षीय नेता थिए । उनका घरमा उनी पदमा रहे पनि नरहे पनि न्यायका निम्ति बोलिदिनुहोस् भनी जनसाधारणको लाम लाग्थ्यो ।

विपन्न, दुःखी र भुइँमान्छेका लागि उनी ‘आफ्नै’ र ‘घरभित्रका’ थिए । उनी मुखका मात्रै नेता थिएनन् । उनको जनप्रियताको कारण उनको जनतासँगको घनिष्ठता थियो । उनी यति सरल थिए कि सर्वसाधारण उनीसँगको मनको कुरा बताउन सक्थे । अहिलेका धेरै पदासीनसँग जनता बोल्न पनि डराउँछन् । नगरपालिका वा गाउँपालिकाका प्रमुख, उपप्रमुख र जनप्रतिनिधिसँग निजी सचिव र सहयोगीसँग समय मिलाएर मात्र भेटघाट गर्न पाउने आजको अवस्था छ, तर दीर्घ सरसँग भेट्न सहज थियो । उनी एक असल गायक र अभिनेता पनि थिए ।

जनताका आँखा खोल्ने, चेतनाका दीप बाल्ने दर्जनौं गीत गाउने थापा सर एक उत्कृष्ट अभिनेता पनि थिए । पाँच दर्जनभन्दा बढी नाटकमा नायक र खलनायकको भूमिकामा अब्बल रूपमा प्रस्तुति दिने थापा सर दर्शकलाई जुरुकजुरुक उठाउँथे र सत्य र न्यायका लागि उभ्याउँथे । दीर्घ थापा एक रसिक व्यक्ति थिए । आफ्ना सारा दुःख–कष्ट र वेदनालाई आफ्नो मनभित्र लुकाएर दुनियाँसामु मुस्कुराउन सक्ने उनको गुण सदैव स्मरणीय छ । उनी हरदम ख्यालठट्टा गरिरहन्थे । विद्यार्थीसँग, समकक्षीसँग, सहकर्मी नेतासँग मात्र होइन, सबैसँग हँसीमजाक गरिरहने थापा सर सानाठूला सबैसँग समान व्यवहार गर्थे ।

विद्यार्थी र अभिभावकका लागि उनी एक अब्बल शिक्षक थिए । उदाहरण, दृष्टान्त, उपमा, कथा–कहानी जोडेर पाठलाई बुझाउन सक्ने क्षमताका धनी थापा सर विद्यार्थीका हृदयका गुरु थिए । उनले शिक्षकको मात्र भूमिका ननिभाएर एक उत्कृष्ट प्रधानाध्यापक र एक अब्बल प्रशासकको भूमिका पनि निभाएका थिए । उनी विद्यालयका लागि सदैव चिन्तित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएर पनि शिक्षा क्षेत्रको अभिवृद्धिका लागि समर्पित रहेका थिए ।

चम्पापुर मावि, पशुपति प्रावि, भगवती आधारभूत विद्यालयका लागि उनले गरेको योगदान अनुशरणीय रहेको छ भने सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पस, घैलाडुब्बामा रहेको आदर्श क्याम्पस मात्र होइन कनकाई नगरमा पहिलो पटक निजीस्तरबाट स्थापना भई सञ्चालनमा रहेको युनिक बहुमुखी क्याम्पसका त उनी एक असल सल्लाहकार र शुभचिन्तक थिए । स्वर्गीय थापा नेकपा एमालेका तर्फबाट विजय भएका कनकाई नगरपालिका वार्ड नं. ६ का वार्ड अध्यक्ष थिए ।

जनप्रतिनिधि भएर काम गर्दा उनी साझा जनप्रतिनिधिका रूपमा स्थापित थिए । उनले जनता र सेवाग्राहीका लागि कहिले पनि नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा वा जनता समाजवादी पार्टी केही पनि भनेनन् । उनी सबैका साझा नेता थिए । उनी परिवारका एक असल अभिभावक थिए । पारिवारिक जीवनमा केही उतारचढाव भए पनि ती सबै प्रतिकूलतालाई सहनशील भएर चातुर्यका साथ अनुकूलतामा परिणत गरी समाजसेवाको बाटोमा सदैव अघि बढिरहे । बाहिर र भित्र, समाजसेवाको काम र पारिवारिक उत्तरदायित्वका वीच उनले सन्तुलन राखेर एक असल अभिभावकको उदाहरण प्रस्तुत गरेका थिए ।

उनी गाउँघर, साथीभाइ र इष्टमित्रका लागि भरोसायुक्त मानिस थिए । सा¥हो–गा¥हो परेका बेला सेवा र सहयोगका लागि उनी सदैव अघि सर्थे । उनी भरपर्दा छिमेकी थिए । उनको जीवनको एक असल चारित्रिक गुणका रूपमा उनको मिलनसार चरित्रलाई लिन सकिन्छ । क्षेत्रीको छोरा भएर पनि उनमा नश्लवादी, जातिवादी भेदभावका कुनै पनि गुण थिएनन् । उनी जातीय विभेद विरोधी थिए । तथाकथित जातीय उँचनिच र छुवाछुतका उनी कट्टर विरोधी थिए । थापा सरको अल्पायुमा भएको निधनले कनकाई नगरबासी, विद्यार्थीहरू, समकक्षी, समवयी, दावाँली र शुभचिन्तकहरू अश्रुपुरित नयन लिएर शोकमा डुबिरहेका छन् । उनी जनताका सुख–दुःखका सारथी थिए ।

सामाजिक विभेद र वर्गीय मुक्ति आन्दोलनका पक्षमा लागिरहने एक असल, सच्चा, निःस्वार्थ व्यक्ति थिए । वार्ड बासीले एक कुशल वडा अध्यक्ष र परिवारजनले प्रिय अभिभावक गुमाउनु परेको छ । नेकपा एमालेले इमान्दार, कर्तव्यनिष्ठ कार्यकर्ता गुमाएको छ । रुद्रबहादुर थापा, विशाल थापा, बबिता थापाका स्नेही पिता, सामाजिक, सांस्कृतिक र शैक्षिक व्यक्तित्व थापा सरको निधनले स्तब्ध बनाएको र शोकमा डुबेको कनकाई सुरुङ्गा नगर उनका गुणहरूलाई आत्मसात गर्दै उनको अन्यायका बिरुद्धमा दृढ भएर उभिने चरित्रलाई हृदयाङ्गम गर्दै आफूलाई सम्हाल्न प्रयत्न गरिरहेको छ । उनमा राजनीतिक सङ्कीर्णता थिएन । उनी समाजसेवी थिए, मिलनसार थिए, ठट्टा रमाइलो मन पराउने मानिस थिए ।
अल बिदा दीर्घ सर ! भावपूर्ण श्रद्धाञ्जली !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here