पूर्बाधार विकासमा फड्को मार्दै बाह्रदशी

0
19

सुरेन्द्र भण्डारी,
बाह्रदशी।

मागका आधारमा आधारभूत आवश्यकता पूरा गर्दै गाउँपालिकालाई आर्थिक, सामाजिक र पूर्बाधारको क्षेत्रमा आत्मनिर्भर र समृद्ध बनाउने गरी बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा नीति तथा कार्यक्रम सहितको बजेट ल्यायो ।

बाह्रदशी गाउँपालिकालाई कृषिमा आधुनिकीकरणमार्फत कृषि उत्पादनमा बृद्धि, शिक्षामा गुणस्तर, सबै नागरिकमा स्वास्थ्यको पहुँच र सबल पूर्बाधार निर्माणलाई मजबुत बनाउँदै समृद्ध गाउँपालिका निर्माणमा जनप्रतिनिधि जुट्ने प्रतिवद्धताका साथ ल्याइएको बजेट कार्यान्वयनको अन्तिम चरणमा छ ।

बिकास निर्माणका कामलाई बर्गीकरणका आधारमा अघि बढाउँदै लगेको बाह्रदशीले ‘वडा विकासमा हातेमालो’ अभियान सञ्चालन गरेको छ । उपभोक्ताबाट सञ्चालन हुने योजनामा प्रत्येक घरधुरीको सहभगिता सुनिश्चित हुने व्यवस्था मिलाउँदै वडाको विकासमा टोल विकास संस्थालाई परिचालन गर्ने र विकास निर्माणलाई चुस्त बनाउने उसको योजना छ ।
प्रत्येक बस्तीलाई सडकसँंग जोड्ने र कच्ची सडकलाई ग्राभेल गरी स्तरोन्नतिसहित सातै वडामा रहेका एक÷एक वटा सडकलाई कालोपत्रे गर्ने कार्यलाई पालिकाले अघि बढायो । अहिले पालिकाभित्र रहेका सातवटा सडकलाई कालोपत्रे गरिएको छ ।

अधुरा आयोजनालाई प्राथमिकतामा राखी काम सम्पन्न गर्ने, गौरबका आयोजनालाई बहुबर्षीय आयोजनाका रुपमा छनौट गरी काम सम्पन्न गर्ने, डीपीआर भइसकेका आयोजनाको काम कार्यान्वयनका लागि संघीय र प्रदेश सरकारसँंग बजेट माग गर्दै आयोजनाका कामलाई अघि बढाउने, ठेक्का पट्टाको काममा लापरवाही र ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कानून बमोजिम कारवाही गर्ने प्रक्रिया अघि बढाएसँंगै बाह्रदशीको विकासले कोल्टे फेरेको बताइन्छ ।

विकासका प्रक्रियामा आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका विकासले व्यक्तिगत, सामुदायिक, र राष्ट्रिय स्तरमा प्रगति गर्न मद्दत पु¥याउँछ । सोही अनुरुप बाह्रदशी गाउँपालिकाले विकास निर्माणका कामलाई तदारुकताका साथ अघि बढाएको गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाँईले बताए ।

पूर्बाधारतर्फ ६ वटा योजना सम्पन्न

बाह्रदशी गाउँपालिकामा सञ्चालित ठूला १३ वटा आयोजना मध्ये ६ वटा आयोजनाका काम सम्पन्न भएका छन् । सम्पन्न भएका योजनामा गौरीशंकर माध्यमिक विद्यालयको चारकोठे भवन निर्माण, वडा नम्वर –४ मा सडक कालोपत्रे, वडा नम्वर ७ को डाँडागाउँबाट बिरीङ खोला जाने सडक कालोपत्रे, राजगढ बजारमा सडक कालोपत्रे गर्ने काम रहेका छन् ।

ठूला आयोजना मध्ये बाह्रदशी –७ मा रहेको गौरीशंकर माध्यमिक विद्यालयको भवन ३६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । संघीय सरकारको लगानीमा सो भवन निर्माण गरिएको हो । यो भवन निर्माणसंँगै शौचालयसमेत तयार गरिएको छ । भवन निर्माणका लागि ५० लाख रुपैयाँ लागत अनुमान गरिएकोमा ठेक्का प्रक्रियाबाट ३६ लाख रुपैयाँमा आधुनिक र प्रविधिमैत्री निर्माण कार्य तयार भएको हो । त्यस्तै बाह्रदशी –४ को शिवमन्दिर पूर्ब घाग्राखोला जाने सडक कालोपत्रे गरिएको छ । यसको लम्वाइ ९ सय ६ मिटर रहेको छ । ८९ लाख रुपैयाँको लागतमा यो सडक निर्माण गरिएको हो । सडकको स्तरोन्नतिसँंगै कालोपत्रे गरिएपछि त्यस क्षेत्रका स्थानीय प्रत्यक्ष लाभान्वित भएको पालिकाले बताएको छ ।

बाह्रदशी –७ को डाँडागाउँबाट बिरीङ खोला जाने सडक कालोपत्रे सम्पन्न भएको छ । ९ सय ८४ मिटर लम्वाइ रहेको यो सडक एक करोड ४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । सडक ४० एमएम मोटाइ र साढे पाँच मिटर चौडाइको रहेको छ ।

बाह्रदशी –३ स्थित राजगढ बजार दक्षिण पूर्ब १५ लाख रुपैयाँको लागतमा सडक कालोपत्रे गरिएको छ । राजगढको दुर्गा मन्दिर पूर्व अधुरो रहेको सडक कालोपत्रे गरिएको हो । यो सडकको लम्वाइ एक सय ४ मिटर रहेको छ । सडक बोर्डको योजना अन्तरगत २५ लाख रुपैयाँ र २० प्रतिशत गाउँपालिकाको साझेदारी अन्तरगत ६ लाख २५ हजारसमेत गरी ३२ लाख रुपैयाँको लागत अनुमानमा मिलन मार्ग निर्माण गरिएको छ । वडा नम्वर –१ मा सिप्तावारी गाउँबाट डिक्लीवारी गाउँ जोड्ने सडक रहेको छ । सात दशमलव ९ किलोमिटर सडकको काम सम्पन्न भएको छ । सडक निर्माण गर्न २४ लाख रुपैयाँ खर्च भएको बताइएको छ ।

त्यस्तै राजगढको पेट्रोलपम्बाट दक्षिण दिब्यज्योति स्कूल जाने सडकमा पेवर्स बिछ्याउने काम सम्पन्न भएको छ । यो सडक सामुदायिक अस्पताल जोड्ने मार्ग हो । प्लमसहित ३ सय २० मिटरमा उच्चस्तरीय पेवर्स लगाउने काम सम्पन्न भएको हो । १९ लाख ५१ हजार रुपैयाँको लागतमा यो काम सम्पन्न भएको हो । पालिकाभित्र सञ्चालित अन्य सातवटा योजनाको काम भइरहेको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख नारायणप्रसाद खरेलले जानकारी दिए ।

सातवटा योजनाको काम अन्तिम चरणमा

चालू आर्थिक वर्षको असार मसान्त भित्र काम सम्पन्न गर्ने गरी बाह्रदशी गाउँपालिका भित्र सञ्चालित अन्य सात योजनाको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । जसमा बाह्रदशी गाउँपालिकाको २ नम्वर वडा स्थित कृषि बजारको काम अन्तिम चरणमा पुगेको छ । तीनवटा टहरा निर्माण सम्पन्न भएको र बजारको ल्याण्ड फिलिङ र ब्लक लगाउने काम भइरहेको छ ।

भोला रेग्मीको घरदेखि पूर्ब सापडिग्री खोलामा पुलको काम सम्पन्न हुने चरणमा रहेको छ । त्यस्तै वडा नम्वर –३ मा कल्भर्ट निर्माणको काम सम्पन्न हुने चरणमा रहेको बताइएको छ । सोही ठेक्कामा गाभिएको कुमाल गाउँमा तटवन्धन निर्माणको कामसमेत सम्पन्न हुने चरणमा रहेको प्रविधिक शाखा प्रमुख खरेलले बताए ।

त्यस्तै बाह्रदशी– ७ को सिमलचौक र बाह्रदशी –३ मा रहेको राजगढ सामुदायिक भवन निर्माणको काम सम्पन्न हुने चरणमा रहेको बताइएको छ । चकचकीमा अधुरो शिवालय धर्मशाला निर्माणको काम भइरहेको छ । यसमा छत ढलानसँंगै अन्य काम भइरहेको पालिकाले जनाएको छ । बाह्रदशी –२ को वडा कार्यालयको भवनमा तला थप्ने काम भइरहेको छ । यो काम यसै आर्थिक वर्षभित्र सम्पन्न हुने बताइएको छ ।

त्यस्तै वडा नम्वर १ स्थित भागु डुब्बामा लक्ष्मीथान जाने सडकमा पर्ने खोलामा झोलुङ्गे पुल निर्माणको काम भइरहेको छ । यसको लम्बाइ एक सय २० मिटर रहेको छ । पुलको निर्माण उपभोक्ता समितिमार्फत गरिँदै छ । स्टिल पाट्र्समा पालिकाले टेण्डर आह्वान गरी काम अघि बढाएको हो ।

२० घरे टोलमा अन्धुवा खोलामा सिँचाइका लागि मोटरबाट पानी तान्ने योजनाको काम भइरहेको छ । यहाँ १० हर्स पावरको मोटर राखी मोटर घर निर्माण गरी सिँचाइको व्यवस्था मिलाइएको छ । योजनाका लागि खोलामा इन्टेक, पोल, तार सहित पाइपलाइनको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

द्रुत गतिमा ठूला गौरवका योजना

बाह्रदशी गाउँपालिकामा भौतिक विकासतर्फ अन्य चार ठूला गौरवका आयोजनाको कामसमेत द्रुत गतिमा भइरहेको छ । जसमा बाह्रदशी –१ मा पर्यटन क्षेत्रको विकासका लागि साधुपर्ती झिल निर्माणको काम सञ्चालनमा छ ।

यता बाह्रदशी गाउँपालिका– २ मा १५ शैय्याको अस्पताल निर्मांणको काम भइरहेको छ । त्यस्तै बाह्रदशी –६ मा पर्यटन प्रवद्र्धनका लागि बाह्रदशी डाँडामा कञ्चनभ्यू टावर निर्माणको काम र बाह्रदशी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम तीब्र गतिमा भइरहेको छ । वहुवर्षीय योजना अन्तरगत आर्थिक वर्ष २०७९÷०८० मा सम्झौता भइ हाल निर्माणाधीन अवस्थामा रहेका यी योजनाका कम तीब्र रुपमा अघि बढाइएको पालिकाले जनाएको छ ।

१५ शैयाको अस्पताल निर्माणका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयबाट प्राप्त ११ करोड ५८ लाख रुपैयाँको लागतमा राजगढ अस्पताल निर्माणाधीन छ । यसअघि सो ठाउँमा इलाका स्वास्थ्य चौकी रहेको थियो । स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै अस्पताल निर्माण शुरु भएपछि राजगढबासी उत्साहित भएका छन् । अस्पतालको भवन निर्माणमा निर्माण व्यवसायीले ढिलाइ गरेका कारण समयमा यो आयोजनाको काम सम्पन्न नहुने बताइएको छ । चालू अर्थिक वर्ष भित्र सम्पन्न गर्नु पर्ने यो आयोजनाको काम हालसम्म ४५ प्रतिशत मात्र भएको बताइएको छ ।

त्यस्तै साधुपर्ती झिल सिमसार क्षेत्र पर्यटन प्रवद्र्धन गर्न पर्यटन मन्त्रालय मार्फत विनियोजित बजेटको ३० प्रतिशत गाउँपालिकाले व्यहोरेको छ । ७० प्रतिशत बजेट पर्यटन मन्त्रालयको रहेको छ । कूल ३ करोड ९६ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरी झिल निर्माणको काम अघि बढेको हो । संघीय सरकारबाट बजेट आउन ढिलाइ हुँदा झिल निर्माणको काममा असर परेको बताइएको छ ।

अहिले झिललाई सरसफाई गरी लेभलिङ, झिल जाने बाटोमा रिटेलिङ वाल, प्रवेशद्वारा निर्माण , सार्वजनिक शौचालयको काम, क्यान्टिनको काम , मन्दिरको काम र गेटबाट क्यान्टिन हुँदै मन्दिर जाने स्टोन पेभिङ सडकको काम सो ठेक्कामा रहेको बताइएको छ । सो मध्ये निर्माण कम्पनीले स्टक्चरको काम सम्पन्न गरेको छ । सो मध्ये रंग लगाउने काम, पैदल मार्गमा ढुङ्गा बिच्छयाउने काम गर्न बाँकी रहेको बताइएको छ ।

यता ६ करोड १३ लाख रुपैयाँको लागतमा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम भइरहेको छ । प्रशासकीय भवन तीन तले रहने छ । जसमा घेरावारा, क्यान्टिन रहने छ भने एउटा बाहिरी शौचालय समेत निर्माण हुनेछ । शुरुमा निर्माण व्यवसायीले सोचे अनुरुप काम गर्न नसकेपनि अहिले भवन निर्माणको काम तीव्र रुपमा अघि बढाएको पालिकाले जनाएको छ । भवन निर्माणको काममा ५० प्रतिशत प्रगति भएको बताइएको छ ।

यता बाह्रदशी –६ मा कञ्चन भ्यू टावरको कामलाई समेत तीब्र बनाइएको छ । यो भ्यूटावर रेष्टुरेन्ट सहितको हुनेछ । १७ करोड रुपैयाँको लागतमा भ्यूटावर निर्माणाधीन छ । बाहिरी श्रोत नहुँदा गाउँपालिकाले आन्तरिक श्रोतबाट वहुवर्षीय योजनामा यसको काम अघि बढाएको हो । हाल ११ तलासम्म भ्यू टावर निर्माणको काम सम्पन्न भएको छ । यो ठेक्कामा स्टक्चरसहित रंग रोगनको काम सम्पन्न हुनेछ । लिफ्ट जडानका लागि आगामी वर्षमा बजेटको व्यवस्थापन गर्दै भ्यूटावरलाई पूर्णता दिने बताइएको छ ।

त्यस्तै गाउँपालिकाले ४० ÷ ४० लाख रुपैयाँ बजेट विनियोजन गरी सातवटै वडामा कलोपत्रे गर्ने गरी एउटा ÷एउटा सडक छनौट गर्दै कालोपत्रे गर्ने कामलाई अघि बढाएको छ । जसमा १६ सय ८६ मिटर सडक कालोपत्रे गरिएको छ । २०७९/०८० र २०८०/०८१ मा सम्झौता भई सडक कालोपत्रे गरिएको सडकको लम्वाइ ३६ सय ६८ किलोमिटर रहेको छ । गाउँपालिकाले भौतिक विकासतर्फ उल्लेख्य काम गरेपनि कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान दिएको बताइन्छ ।

उज्यालो बाह्रदशी बनाउने अभियानमा समेत गाउँपालिकाले उत्तिकै ध्यान दिएको छ । युवा तथा खेलकुदका क्षेत्र सहित युवा लक्षित कार्यक्रमलाई समेत गाउँपालिकाले प्राथमिकतामा राखेको अध्यक्ष चम्लागाँईले बताए ।

बाह्रदशीका सबै नागरिकको घरमा विद्युत् सेवा पु¥याउन नेपाल विद्युत् प्राधिकरणसंग सहकार्य गर्दै पालिकाले विद्युत् विस्तारलाई तीब्रता दिएको हो । चालू आर्थिक वर्षभित्र पालिकाभित्र २०० वटाभन्दा बढी पोल बितरण गरिएको र आगामी वर्ष सबै बाह्रदशीवासीमा विद्युत् सेवा पु¥याइने अध्यक्ष चम्लागाँईले बताए । यो वर्षदेखि विद्युुत् महसुलमा समेत सहुलियत दिने गर्ने नीति तथा कार्यक्रम ल्याइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here