माओवादीद्वारा एक लाखको फलफूलका बिरुवा रोप्ने कार्य प्रशंसनीय

0
43

नेकपा (माओवादी केन्द्र)ले दमकमा एक लाख फलफुलका विरुवा रोप्ने योजना अन्तर्गत बिरुवाहरु रोपिरहेको छ । राजनीतिक दलहरुले गर्ने राजनीतिक कार्यक्रमभन्दा पृथक भएर माओवादी केन्द्रले पूर्वमा संगठन विस्तार र सुदृढीकरण कार्यक्रमसँग जोडिएर दमकमा मात्र एक लाख बिरुवा रोप्ने जुन योजना बनायो र त्यस अनुसार काम गरिरहेको छ यो राजनीतिक दलको एउटा नविनतम् सोच हो ।

यसभन्दा अघि पनि विभिन्न राजनीतिक दल र सामाजिक संघ–संस्थाहरुले पनि वृक्षरोपण नगरेका भने होइनन् । तर, त्यस्ता वृक्षरोपण औपचारिकतामा सिमित थिए र केही बिरुवा रोपेर फेसबुकमा फोटो पोस्ट्याउने काम हुन्थ्यो । तर, माओवादी केन्द्रले यो पटक दमकमा लिचि, कागती, अम्बक, जामुन लगायतका एक लाख फलफुलका बिरुवा रोप्ने अभियान चलाएर एउटा सकारत्मक सन्देश दिएको छ ।

बिरुवा रोप्नुमात्र ठूलो कुरा होइन यसको संरक्षण गर्नु चुनौति हो । हरेक घरधुरी र सार्वजनिक महत्वका कार्यालय तथा स्थानहरु छनोट गरेर बिरुवा रोपेको देखिन्छ । यसले गर्दा संरक्षणका लागि त्यति ठूलो समस्या नहोला । जसरी बिरुवा रोप्न उत्साह छ त्यसरी यसको संरक्षणका लागि पनि लाग्नु आवश्यक छ । बिरुवा रोप्ने तर त्यसको संरक्षण नगर्ने हो भने सस्तो लोकप्रियता हो की भन्ने देखिन्छ । तसर्थ, यी बिरुवाहरु संरक्षणका लागि पनि कसरत गर्नुपर्ने देखिन्छ ।

आमनागरिकले उत्साहित भएर बिरुवाहरु आफै लगेर रोपिरहेका छन् । निःशुल्क रुपमा उपलब्ध गराएपछि आफूले चाहेको बिरुवा लगेर रोपिरहेका कारण यो प्रभावकारी बन्ने र संरक्षण हुनेछ । दमकमा एक लाख बिरुवा रोपिँदा ७५ प्रतिशत बिरुवा जोगिए भने पनि यो एउटा ठूलो उपलब्धि हुनेछ । वातवरण संरक्षण र फलफुलको परनिर्भरता कम हुनेछ ।
केही वर्षअघिको तथ्याङ्क अनुसार नेपालको कुल भू–भागको ४०.३६ प्रतिशत वन क्षेत्र र ४.३८ प्रतिशत भू–भाग अन्य काष्ठ तथा बुट्यान क्षेत्र गरी कुल ६६ लाख हेक्टर वन र बुट्यान क्षेत्रले ढाकेको छ भने बाँकी भू–भाग कृषि, बसोबास क्षेत्र र नदी क्षेत्रले ढाकेको छ । पछिल्लो समयमा वन विनासका कारणले गर्दा वातावरणमा नराम्रो असर परेको छ । त्यस्तो असरलाई कम गर्न पनि यसले केही न केही भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ ।

सरकारी र गैर सरकारी क्षेत्रका कार्यालयका खाली ठाउँ, विद्यालय र क्याम्पसका खाली चौरहरू, निजी जग्गाहरू, सडक किनारा, नदी र खोला किनारा, सार्वजनिक जग्गा, वन क्षेत्र, झाडी बुट्यान क्षेत्र आदिमा आमनागरिक, निजी क्षेत्र, नागरिक समाज, राजनीतिक पार्टी, सरकारी क्षेत्र सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी बृहत् रूपमा बहुउपयोगी फलफुल, काष्ठजन्य, गैर काष्ठजन्य बिरुवाहरू वृक्षरोपण दिवसका दिनदेखि रोपण गर्दै उक्त रोपेका बिरुवाहरूको उचित हेरचाह र संरक्षण गरी सो रुखहरूबाट सतत रूपमा उत्पादन लिँदै देशलाई चाहिने आवश्यक वस्तुहरूको परिपूर्ति गरी व्यापार घाटा कम गर्दै राष्ट्रको समृद्धिमा योगदान गर्न वृक्षरोपण कार्यले मद्दत गर्न सक्छ ।

वृक्षरोपणको महत्व धेरै नै रहेको छ । मानिसलाई श्वास फेर्न प्रतिदिन १७.५ के.जी.अक्सिजनको आवश्यकता पर्छ जुन सात वटा रुखहरूले प्रति रुख २.५ के.जी. अक्सिजन दिएर पूर्ति गरिदिन्छन् । वृक्षरोपणबाट औद्योगिक कच्चापदार्थको आपूर्ति भई औद्योगिकरण मार्फत रोजगारी सिर्जना गर्न, व्यापार घाटा कम गर्न र राजश्व प्राप्त गरी समृद्धि हासिल गर्न मद्दत पुग्छ । जस्तैः चिनले बाँस वृक्षरोपणबाट कागज उत्पादन गरेर र भारतले लहरे पिपल वृक्षरोपण मार्फत कागज उत्पादन गरी विदेशी मुद्रा आर्जन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here