पौवादुङमाले दुई सय उन्नत जातका गाई वितरण गर्ने

0
19

भोजपुर,

पौवादुङमा गाउँपालिकाले किसानलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले दुई सय उन्नत जातका गाईका बाच्छी वितरण गर्ने भएको छ । गाउँपालिकाले १५औँ गाउँसभामा आफ्नो बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको हो ।

आगामी आर्थिक वर्षमा पालिकाले किसानसँगको सहकार्यमा ५० प्रतिशत अनुदानमा उन्नत जातको गाईका बाच्छी वितरण गर्ने योजना सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रम सञ्चलानको लागि पालिकाले रु ६० लाख बजेट विनियोजन गरेको छ ।

पशुपालनबाट किसानलाई आयआर्जनमा जोड्न पशु शाखाबाट घाँसखेती कार्यक्रम ल्याइएको छ । “दुग्ध मिसन कार्यक्रमअन्तर्गत हामीले उन्नत जातका गाई वितरण कार्यक्रमलाई जोड दिएका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “यो कार्यक्रममा किसानसँगको लागत साझेदारीमा दुई सय गाईका बाच्छी वितरण गर्ने लक्ष्य छ ।”

कार्यक्रम वडा नं १ श्यामशिला, वडा नं २ तिवारी भञ्याङ र वडा नं ३ च्याङ्गेमा सञ्चालन गरिने भनाइ छ । त्यस्तै वडा नं ४ मा अकबरे खुर्सानी र वडा नं ५ र ६ मा व्यावसायिक बाख्रापालनलाई जोड दिइएको उहाँको भनाइ छ ।

गाउँपालिकाले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गर्न नीति तथा कार्यक्रम र बजेट ल्याइएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो । “पालिकाले दूग्धजन्य उत्पादनमा जोड दिएको छ”, उहाँले भन्नुभयो, “यसअघि किसानलाई उन्नत जातका भँैंसी दिएका थियौँ । यो कार्यक्रम सफल भएको छ । यस पटक गाई वितरणको कार्यक्रम अघि सारेका छौँ ।” उत्पादित दूधको बजारीकरणमा गाउँपालिकाले भूमिका खेल्ने उहाँको भनाइ छ ।

गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको अध्यक्ष राईले जानकारी दिनुभयो । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास भइरहेको उहाँको भनाइ छ । “यहाँ धेरै कृषियोग्य तथा पशुपालनको लागि उपयुक्त भूगोल छन्”, उहाँले भन्नुभयो, “बाँझो जमिन सदुपयोग गर्ने र सामूहिक खेतीमा लाग्नेलाई प्रोत्साहनको नीति लिएका छौँ ।”

कृषिमा बहुवर्षीय बालीमा (एभोकाडो, किबी, चिउरी) लगायत खेतीलाई प्राथमिकतामा राखिएको उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । व्यावसायिक तरकारी, अकबरे खुर्सानी खेतीका साथै किसानसँगको लागत साझेदारीमा फलफूल बगैंँचा विकास तथा ‘एक घर एक करेसाबारी’ कार्यक्रम सञ्चालन गर्ने नीति लिएको उहाँको भनाइ छ ।

महिला विकास बोर्डमार्फत ‘उपाध्यक्ष आत्मनिर्भर’ कार्यक्रमबाट महिला लक्षित कार्यक्रम ल्याइएको उहाँको भनाइ छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल रु ३६ करोड ९२ लाख ४१ हजार बराबरको बजेट विनियोजन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here