मोरङको पथरीशनिश्चरे नगरका विभिन्न सामुदायिक वन तथा सिमसारहरूमा पर्यटनको प्रचुर सम्भावनाहरू सँगसँगै चुनौति देखिएका छन् । हाल यस नगरभित्रका विभिन्न सामुदायिक वन उपभोक्ता समूहको कुल क्षेत्रफल एक हजार छ सय ६१ दशमलव ५५ रहेको छ । नगरपालिकाको कुल ७९ दशमलव ८१ वर्ग किलोमिटर क्षेत्रफल मध्ये १५% यसै क्षेत्रमा रहेको छ ।
मोरङ जिल्लाका कुल एक सय ३५ सामुदायिक वन मध्ये यस पथरीशनिश्चरे नगरभित्र कुल १३ वटा सामुदायिक वनहरू रहेका छन् । जसमा चौतारी, हरियाली, सुन्दर, शान्ति, मनकामना, पशुपति, डाँस मोरङ्गी, भुल्के पशुपति, विशाल, सीता छ धारे, महिला जागृति, शिवालय मन्दिर धार्मिक वन तथा श्रीजङ्गा स्मृति धार्मिक वन हुन् । यस नगरपालिकाको सबैभन्दा पूर्वमा रहेको चौतारी सामुदायिक वन उपभोक्ता समूह कुल एक सय १५ दशमलव १९ हेक्टर जमिनमा फैलिएको छ ।
वडा नम्बर २ का चौतारी, सुन्दर र हरियाली सामुदायिक वन उपभोक्ता समूहहरू
यस सामुदायिक वनका अध्यक्ष टंक कन्दङ्वाले यस समूहको क्षेत्रभित्र एक लोकप्रिय सेल्फी रोड र नागबेली सिमसार रहेको बताउनुभयो । दुई सय ५५ मिटर लामो र २६ मिटर चौडा भएको सो दलदले खोल्सीलाई सरसफाई गरी वन्यजन्तुलाई पानी पिउने दिगो स्रोत र नजिकैको मानव बस्तीमा गर्विलो सिँचाई सुविधा उपलब्ध गराउने र एक पर्यटकीय गन्तव्यको रूपमा यसलाई सिमसारको रूपमा विकास गर्दै लैजाने उद्देश्य रहेको उहाँले बताउनुभयो । उहाँले चालू आर्थिक वर्ष २० ७९÷०८० मा पथरीशनिश्चरे वडा नं. २ का कार्यालयले एक लाख ५० हजार रुपैयाँ र सोही वनकोसहित कुल चार लाख ५० हजारको लागतमा नागवेली पोखरी निर्माण गरिएको जनाउनुभयो । उहाँले सेल्फी रोडको लोकप्रियता अझै बढाउन र सिमसारलाई पर्यटकीय क्षेत्र निर्माण गर्न गुरू योजना तयार गरिरहेको जानकारी दिनुभयो ।
त्यसैगरी, सुन्दर सामुदायिक वनको क्षेत्रफल ८९.११ हेक्टर छ । यसमा दुई सय १७ घरका एक हजार एक सय ७३ जनाले लाभ लिइरहेको छन् । यसमा एक सिमसारयुक्त पोखरी, एउटा सभाहल, जलकन्या देवीको मन्दिर र प्रवेशद्वार निर्माण भएका छन् । त्यस्तै पथरीशनिश्चरे–२ कै अर्को हरियाली सामुदायिक वन उपभोक्ता समूहको मातहतमा हरियाली सामुदायिक वन लिमिटेडले गत जेठ २० गते नगर प्रमुख मोहनप्रसाद नुम्वापोबाट समुद्घाटन गर्दै पर्यापर्यटन प्रवद्र्धनका लागि विधिवत् सुविधासम्पन्न पौडी पोखरी र अन्य संरचनाहरु सञ्चालनमा ल्याएको छ ।
वि.सं. २०७६ मा गणेशमान स्मृति पुरस्कारबाट पुरस्कृत देशकै उत्कृष्ट सामुदायिक वन मध्ये हरियाली वन कुल दुई सय ४५.९४ हेक्टरमा फैलिएको छ । यस वनबाट एक हजार २८ घरका तीन हजार नौ सय ९१ जनसंख्याले प्रत्यक्षपरोक्ष लाभान्वित छन् । यस वनका उपभोक्ताहरू शेयरधनी रहेको यस हरियाली कम्पनीले एक व्यवस्थित पानीपोखरी (बाल–वयुस्क), महिला र पुरुष चेन्जिङ रूम, पानी फिल्टर मेसिन कोठा, शौचालय, चमेना गृह, टिकट काउन्टर, सुरक्षागार्ड, एटिसम रूम इन्टरलक, दक्षिण कम्पाउण्ड वाल आदि संरचनाहरु निर्माण गरेको छ ।
यो कम्पनीले नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट दुई करोड ७० लाख रुपैयाँ र स्थानीय स्तरबाट (हरियाली वन समूह) एक करोड ४६ लाख गरी जम्मा चार करोड १६ लाख रुपैयाँको बजेटबाट ति संरचनाहरू निर्माण गरेको थियो । हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगरले अन्य सामुदायिक वनहरू भन्दा फरक सोच र अवधारणा बनाई वन र वन्यजन्तुहरूको संरक्षण गर्दै आफ्ना उपभोक्ताहरूको लागि सीपमूलक आयआर्जन सुनिश्चित गरिएको जनाउनु भएको छ । स्थानीय स्तरमा एक दर्बिलो र दिगो विकासका लागि यो कम्पनी स्थापना गरेको कम्पनीका उपाध्यक्ष दिलबहादुर तामाङले बताउनुभयो ।
वडा नम्बर १ मा रहेका सामुदायिक वन उपभोक्ता समूहहरु
वडा नं. १ मा रहेको शान्ति सामुदायिक वन एक सय ७८ दशमलव ९२ हेक्टरमा फैलिएको छ । यस वनभित्र हाल पर्यटकीय स्थल, बाल उद्यान, बोटिङ, पिकनिक तथा कार्यक्रम स्थल, शौचालय आदिको राम्रो प्रबन्ध रहेको शान्ति भुल्के कार्यकारी समितिका उपाध्यक्ष नवराज मिश्रले बताउनुभयो । यसै हिन्दु, बौद्ध र अन्य धार्मिक समुदायका धार्मिक संरक्षित क्षेत्रहरू छन् ।
पर्यटकीय दृष्टिले सुन्दर, शान्त र रमणीय वातावरणमा घुम्ने र झुम्ने आगन्तुकहरूको लागि भुल्के देवी मन्दिर, तीन पोखरी, जलधारायुक्त कुण्ड र अन्य देवस्थलहरू यहाँका लोकप्रिय आकर्षणहरू हुन् । यस क्षेत्रको पोखरीभित्र टापु र तीन पोखरी छेउका ड्यामहरुको संरक्षण गर्न संघीय सरकारबाट यस वर्ष ९० लाख रूपैयाँ विनियोजन भएको छ । पिकनिक स्पोर्ट निर्माण भएका छन् । यतिबेला ड्याम र पोखरी बीचको टापुलाई जोगाउनै चुनौति छ । आवश्यक बजेट प्राप्त नहुनु र नहुँदा थुप्रै योजनाहरु अलपत्र पर्ने चुनौति देखिएका छन् ।
वडा नम्बर १० का सामुदायिक वनहरू
यस वडामा मनकामना, भूल्र्के पशुपति, पशुपति, डाँस मोरङ्गी, महिला जागृति, विशाल, शिवालय मन्दिर धार्मिक वन र सिरीजङ्गा स्मृति धार्मिक वन जस्ता वनहरू छन् । हाल सिमसार क्षेत्रको विकास भई पर्यटकको आकर्षक गन्तव्य बनेको मनकामना सामुदायिक वनभित्र माछापोखरीसहित प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ । ट्री हाउस र खाजाघर निर्माण भएपछि यतिबेला टिकटक बनाउने आन्तरिक र वाह्य पर्यटकहरूको बाक्लो भिड देख्न सकिन्छ । यी सामुदायिक वनहरू मध्ये डाँस–मोरङ्गी सामुदायिक वन उपभोक्ता समूह १९४.०२ हेक्टरमा रहेको छ ।
यो वनका तीन सय ६३ घरधुरीका एक हजार छ सय ३० जना उपभोक्ता छन् । हाल सो वनभित्र मोरङ्गी खोला पश्चिममा पथरीशनिश्चरे नगरपालिका र उक्त सामुदायिक वन समूहको पाँच–पाँच लाख रूपैयाँको साझेदारी लगानीमा पिकनिक स्पोर्ट, शौचालय, पोखरी निर्माण कार्य भइरहेको सो समूहका अध्यक्ष मदन पोख्रेलले बताउनुभयो । शिवालय मन्दिर धार्मिक सामुदायिक वन आठ हेक्टरमा, सिरीजङ्गा स्मृति धार्मिक सामुदायिक वन १३ हेक्टरमा र विशाल सामुदायिक वन आठ हेक्टर क्षेत्रफलमा फैलिएका यस नगरका सामुदायिक वनहरु हुन् ।
वन तथा सिमसारयुक्त पर्यटनको क्षेत्रमा नगरपालिकाको भूमिका
पथरीशनिश्चरे नगरकै भूगोल र नगरभित्रका मात्रै उपभोक्ता रहेका शान्ति, मनकामना, हरियाली, चौतारी, सुन्दर, पशुपति लगायतका सामुदायिक वनहरू र सिरीजङ्गा स्मृति धार्मिक सामुदायिक वन गरी सात वटा वनहरू छन् । पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापोले नगरभरि कै सिमसारहरूले प्रचुर सम्भावना बोकेकाले सोही अनुरुप आर्थिक वर्ष २०८०/०८१ का लागि बहुवर्षीय योजनाहरु अघी बढेको जनाउनु भयो ।
जैविक विविधता र चुनौति
नगरभित्रका वनजंगलमा विभिन्न प्रकारका जीव, वनस्पति तथा जडीबुटी पाइन्छ । यहाँका वनमा हर्रो, बर्रो, सर्पगन्धा, कुरिलो, गुर्जो लगायतका औषधिजन्य जडीबुटी र वनस्पति पाइन्छन् । त्यस्तै साल, बोट धँगेरो, अस्मा, जमुना, क्यामुना, चिलाउने, कट्टुस लगायतका रुखहरू पनि प्रशस्त पाइन्छ । लोपोन्मुख प्रजाति बिरूवा सत्तीसाल, हर्रो, बर्रो अमला आदि हुन् । पछिल्लो समयमा वातावरण परिवर्तनसँगै अन्य वनस्पतिको संरक्षणमा चुनौति छ ।
तिते झार, ड्याङ्ग्री लहराहरू आदिको कारणले नयाँ बोटबिरुवाहरूको अस्तित्वमा संकट देखापरेका छन् । यी सामुदायिक वनहरूमा मृग, हरिण, बँदेल, स्याल, खरायो, दुम्सी, लूँइचे, भ्याकुरा, सिम कुखुरा, वन कुखुरा (कालिज), घुम्ने हात्ती, न्याउरी मुसा लगायतका वन्यजन्तुहरु पाइन्छन् । यिनीहरुको सही संरक्षण एवम् सम्बद्र्धन गर्न सके मात्रै जैविक विविधता कायम हुने र लाखौंको आम्दानी गर्न सकिने सम्भावना छ । नगरले पर्यापर्यटनको वृद्धिका लागि शुरू गरेका कामलाई निरन्तरता दिँदैँ अघि बढनुपर्छ । यसो गरेमा पथरीशनिश्चरे नगर पूर्वमै पर्यटन आकर्षणको प्रमुख केन्द्र बन्ने थियो कि ?