झापामा ट्राफिक सप्ताह र लागूऔषध विरुद्धको अभियानको समापन

0
30

बिर्तामोड ।

सातै दिन सात काम सडक सुरक्षा हाम्रो अभियान भन्ने मुल नाराका साथ कोशी प्रदेशमा शुरु भएको ट्राफिक सप्ताह र ‘लागू–औषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्ध’ अभियान आज समापन गरिएको छ ।

गत असार ६ गतेबाट शुरु भएको अभियान आज सम्पन्न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा भएको “ट्राफिक सप्ताह २०८१” को बिर्तामोडमा एक कार्यक्रमका बीच समापन गरिएको हो ।

सात दिनसम्म भएका ट्राफिक गतिविधिका बारेमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीले प्रकाश पारेका थिए । सातदिनसम्म निरन्तर सडक सुरक्षा सम्बन्धी गतिबिधि सञ्चालनपछि ट्राफिक प्रहरीले सप्ताहव्यापी अभियानको औपचारिक समापन गरेको हो । बिर्तामोडमा सप्ताहको अन्तिम दिन सचेतनामुलक र्‍याली सहित कार्यक्रम समान गरिएको जनाइएको छ ।

सडक सभ्यता अभिवृद्धि तथा सवारी दुर्घटना न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रमहरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । तीव्र गतिमा सवारी नचलाऔं, सदैव ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू पनि बचौं अरुलाई पनि बचाऔं, मोटरसाईकलमा दुई जना भन्दा बढी नबसौं लगायतका सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै अभियान समापन गरिएको हो ।

यसैबीच समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “लागू–औषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्ध” साता व्यापी कार्यक्रमको पनि समापन गरिएको छ । ट्राफिक सप्ताह र लागूऔषध विरुद्धको सप्ताह व्यापी कार्यक्रम एकै साथ समापन भएको हो । कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै झापाका प्रहरी उपरीक्षक मिलन केसीले लागूऔषधको अवस्था भयावह बन्दै भएको भन्दै चिन्ता ब्यक्त गरे ।

नेपाल प्रहरी प्रधान कार्यालयको निर्देशनमा देशभर एकै सात शुरु भएको “लागू–औषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्ध” अभियान झापामा पनि समान भएको हो । लागू–औषध दुरुपयोग तथा अवैध ओसार–पसार बिरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा आज समापन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय अनारमनी झापाको संयुक्त आयोजनामा भएको कार्यक्रममा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बास्तोलाले सवारी दुर्घटना न्यूनिकरण र लागू औषध विरुद्ध सबै मिलेर अघि बढ्नुपर्ने उल्लेख गरे । स्थानीय संघ–संस्था, जनप्रतिनिधि लगायत हरेक नागरिकले आफ्नो कर्तव्य ठानेर लागे मात्रै असल समाज निर्माण गर्न सकिने धारणा ब्यक्त गरे । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, वीरता लेडी जेसीजकी अध्यक्ष मिनु ओली, सञ्चारकर्मी मुक्ति पौडेल लगायतले बोलेका थिए ।

जिल्ला सुरक्षा समितिका पदाधिकारी, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, विद्यालयहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न माध्यमबाट ट्राफिक प्रहरीलाई सहयोग गरेको भन्दै ट्राफिक सप्ताह समापनको अवसरमा धुलाबारीस्थित इस्टहोराइजन स्कूललाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here