नेत्रहीन संघको २७ औं स्थापना दिवसमा विविध कार्यक्रम

0
26

झापा ।

नेत्रहीन संघ झापाले प्रेरक व्यक्तित्व हेलेन केलरको १४४ औं जन्म जयन्ती दिवस तथा नेत्रहीन संघको २७अौं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ।

बिर्तामोड नपा-३, बिर्ताबजारस्थित संघको सभाहलमा हेलन केलर जयन्ती, पालिका स्तरीय स्थानीय अपाङ्गता संघ (ओपीडी) हरुबीच हाजिरी जवाफ प्रतियोगिता, व्ययसायिक कुचो तथा फिनेल बनाउने तालिमको उदघाटनसहित विविध कार्यक्रम सम्पन्न गरिएको हो।

नेत्रहीन संघ झापाका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षता तथा सामाजिक व्यक्तित्व विराट बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक रुद्र सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका उपाध्यक्ष उत्तम खत्रीले स्वागत गरेका थिए।

संघका कोषाध्यक्ष रोशन थापाले हेलन केलरको व्यक्तित्व, योगदान तथा जीवनी प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि सिटौला, कनकाई धार्मिक विकास संंस्था कोटीहोमका अध्यक्ष तथा संघका सल्लाहकार शेरबहादुर थापा, उज्यालो परिवर्तन समाज नेपालका अध्यक्ष राम मैनाली, सामाजिक व्यक्तित्व सुरज रौनियार, संगीत प्रशिक्षक चन्द्र भट्टराईलगायतले हेलन केलर चर्चा तथा संघप्रति शुभकामना व्यक्त गरेका थिए।

त्यसैगरी सातवटा पालिकाका विभिन्न अपाङ्गता संघहरुबीच भएको हाजिरी जवाफ प्रतियोगितामा दमक , बिर्तामोड र हल्दिबारी अपाङ्गता संघ(ओपीडी) क्रमश: प्रथम, द्वितीय र तृतीय भएका थिए। प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः नगद ५ हजार,३ हजार र २ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

यसैबीच पाँचथर नेपाली हङकङ सम्पर्क मञ्चको आर्थिक सहयोगमा ७ दिवसीय व्यवसायिक तथा सीपमूलक कुचो तथा फिनेल बनाउने तालिमको उदघाटन गरिएको छ। संघका निवर्तमान अध्यक्ष यशोदा बरालले प्रशिक्षण प्रदान गर्ने तालिममा १०/ १० जना नेत्रहीन सदस्य सहभागी रहने बताइएको छ। त्यस्तै मेचीनगर र बिर्तामोड नगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको कम्प्युटर तथा संगीत तालिम समापन गरिएको छ।

कार्यक्रमको सञ्चालन सचिव दिलकुमार राजबंशीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here