दहीझोडा सामुदायिक वनले निर्माण शुरु गरेको जैविक तटबन्धन प्रभावकारी बन्दै

0
21

अमित खम्बू,
अर्जुनधारा ।

झापाको अर्जुनधारा–५स्थित दहीझोडा सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वन क्षेत्रमा पर्ने खोलाखोल्सीहरुको किनारमा गत वर्षदेखि निर्माण शुरु गरेको जैविक तटबन्धन प्रभावकारी भएको छ ।

वर्षाको समयमा खोलाखोल्सीहरुमा आउने बाढीलाई नियन्त्रण तथा त्यसबाट वन क्षेत्रको जमिनमा पुग्ने क्षतीलाई न्यूनिकरण गर्ने उद्देश्यले समूहले शुरु गरेको उक्त कार्य प्रभावकारी भएको शुक्रबार समूहद्वारा आयोजित अनुगमन तथा निरीक्षण कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

समूहले गत वर्ष समूहको ब्लक नं.१मा रहेको पग्लाह खोलामा अनुमानित दुई सय मिटर, भालु खोलामा दुई ठाँउ २५ मिटर र समूहको घाटगद्दी संरक्षण गर्न ५० मिटर जैविक तटबन्धन निर्माण सम्पन्न गरेको समूहका अध्यक्ष टेकनाथ अधिकारीले जानकारी दिए ।

गत वर्ष निर्माण गरेको तटबन्धनको परिणाम राम्रो भएपछि समूहले यस वर्ष पनि त्यस कार्यलाई निरन्तरता दिएको अध्यक्ष अधिकारी बताउँछन् । यस वर्ष पग्लाह खोलामा थप ६० मिटर, बराइली खोल्सीमा २५ मिटर, कुसुमे खोलामा २५ मिटर तटबन्धन निर्माण सम्पन्न भएको छ ।त्यसैगरी कुुसुमे खोलामा थप ४० मिटर तटबन्धन निर्माणको कार्य भइरहेको र दहीझोडा खोलामा ६० मिटर निर्माण हुने बताइएको छ ।

कम लागतमा स्थानीयस्तरमा नै पाइने बाँस, किल्ला र झ्याँसको प्रयोगबाट निर्माण गरिने जैविक तटबन्धनले वन संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको अध्यक्ष अधिकारीले दावी गरे । “वन संरक्षणमा स्थानीय स्रोतसाधनको उपयोगसँगै उपभोक्ताहरुले पनि रोजगारी पाएका छन् ।”–उनले थप स्पष्ट पारे ।

जनप्रतिनिधि, सम्बन्धित निकाय र सरोकारवाला संघ–संस्थाका प्रतिनिधि, समूहका पदाधिकारी, सदस्य र कर्मचारीहरुलगायतको सहभागिता रहेको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, कनकाई सब डिभिजन वन कार्यालयका अधिकृत सुरेशकुमार खनाललगायतले समूहले शुरु गरेको जैविक तटबन्धन निर्माण कार्य उदाहरणीय भएको प्रतिक्रिया दिए ।

राष्ट्रिय वृक्षारोपण दिवस–२०८१ मनाइयो

यसैबिच राष्ट्रिय वृक्षारोपण दिवस–२०८१ को सन्दर्भमा दहीझोडा सामुदायिक वन उपभोक्ता समूहले शुक्रबार वन क्षेत्रमा रहेको खोलाखोल्सी किनारसँगै वन क्षेत्रको खाली जमिनमा बाँस तथा विभिन्न प्रजातिका बिरुवाहरु रोप्ने कार्य शुरु गरेको छ ।

समूहको ब्लक नं.१ मा समूहका अध्यक्ष टेकनाथ अधिकारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले बाँसको बिरुवा रोप्दै उद्घाटन गरेका थिए ।

ब्लक नं. १देखि शुरु भएको वृक्षारोपणको कार्य ब्लक नं.२, ब्लक नं.३ र ब्लक नं.४का केही क्षेत्रमा वृक्षारोपणको कार्य सञ्चालन गरिने समूहका कार्यालय सचिव युवराज खड्काले जानकारी दिए ।

उक्त कार्यक्रमअन्र्तगत बाँससँगै अमला, जामुन, बडर, लटर, लामपातेलगायत प्रजातिका दुई हजार बढी बिरुवा रोपिने अध्यक्ष अधिकारीले बताए ।

कार्यक्रममा कनकाई सब डिभिजन वन कार्यालयका अधिकृत सुरेशकुमार खनाल, समूहका पूर्व अध्यक्ष खगेन्द्र सुब्बा, सल्लाहकार सदस्य छविलाल लम्साल, समूह अन्र्तगत रहेको हरियाली महिला उपसमितिकी संयोजक सीता भट्टराईललगायतले मन्तव्य राखेका थिए ।

समूहका उपाध्यक्ष अर्जुन बस्नेतले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कार्यवाहक सचिव सीताराम पराजुलीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here