‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र

0
2

म्याग्दी,

म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो ।

गण्डकी प्रदेश सरकारको रु ५० लाख सशर्त अनुदान र बेनी नगरपालिकाले रु ३० लाख बजेट विनियोजन भएको यस सडक आयोजना निर्माणका लागि श्रमजिवी निर्माण सेवाले रु ५६ लाख ५२ हजार ४५ मा ठेक्का सम्झौता गरेको थियो ।

बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको बेनी नगरपालिकाका इञ्जिनियर दिपेश केसीले बताउनुभयो । कालोपत्र र ढलानअघि सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कुनातर्फ टेवा पर्खाल निर्माण गरिएको थियो ।

विभिन्न ठाउँमा सय मिटर ढलान गर्ने काम सकिएको निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले बताउनुभयो । बाँसबोटका कृषक दुर्गादत्त पौडेलले सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको बताउनुभयो । पशुपालक कृषकसमेत रहेका पौडेलले सडक सुधार भएसँगै यसअघि बाँसबोटदेखि बेनी आउन ३० मिनेट लाग्ने गरेकोमा अहिले यात्राअवधि छोटिएर १० मिनेट भएको बताउनुभयो । बेनी सामुदायिक माथि, कुरिलाखर्क र अर्थुङ्गेको घुम्तीमा सडक स्तरोन्नति गर्नुपर्ने स्थानीयबासीले बताएका छन् ।

गत वर्ष अर्थुङ्गदेखि बाँसबोटसम्म करिब दुई सय मिटर सडक कालोपत्र भएको थियो । यो सडकले बेनी नगरपालिकाको ६, ५ र मङ्गला गाउँपालिकाको १ नम्बर वडाका बस्तीहरुलाई जिल्ला सदरमुकाम बेनीलाई जोड्छ ।

बेनी–पुलाचौर सडकको एकपाटे, अवेचौर, पुरुण्डी खण्डमा स्तरोन्नति र बेनीको सङ्गमचोकदेखि हुलाकचोक खण्डमा ओभरले कालोपत्र गर्न सञ्चालित अर्को आयोजना पनि सम्पन्न हुने चरणमा छ । सडक बोर्ड नेपालको रु ७० लाख र बेनी नगरपाकिलाको रु ३० लाख बजेट रहेको यो सडकअन्तर्गत एकपाटे, अवेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर सडक ढलान गर्ने काम अन्तिम चरणमा पुगेको हो ।

ढलानको काम सकेर हुलाकचोकदेखि सङ्गमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र गर्ने काम यही असार महिनासम्म सम्पन्न गर्ने तयारी गरेको निर्माण कम्पनीका सञ्चालक नवराज बरुवालले बताउनुभयो । यो सडक स्तरोन्नतिका लागि एसएस विल्डर्सले रु ७६ लाख २१ हजार एक सय ९९ मा ठेक्का सम्झौता गरेको थियो । यो ठेक्काको काम सकिएपछि बेनीदेखि पुरुण्डीसम्मको सडक सहज हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here