एकीकृत समाजवादी महाधिवेशन : चार प्रतिवेदनमाथि छलफल

0
5

काठमाडौँ,

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेशनमा विभिन्न चार विषयका प्रतिवेदन माथि छलफल प्रारम्भ गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा जारी महाधिवेशनमा प्रतिनिधिहरूको धारणा लिन राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा सामूहिक छलफल सुरु गरिएको हो ।

यी प्रतिवेदनमा उल्लिखित पार्टीका नीति तथा कार्यक्रमका आधारमा नयाँ कार्यसमिति निर्वाचित गरिने पोलिटब्यूरो सदस्य सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तयार पार्नुभएको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक, सांस्कृतिक पक्ष उल्लेख गरिएका छन् ।

उक्त प्रतिवेदनमा मुलुकको समसामयिक परिस्थिति, राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको आगामी कार्ययोजनासमेत प्रस्तुत गरिएको छ ।

सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रस्तुत गर्नुभएको समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा समाजवादको स्वरुप, आर्थिक रुपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय छन् । भूमि व्यवस्थित गरी उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, विकास तथा समृद्धिका आधार तयार गरिएको छ । मुलुकमा सामाजिक न्याय, समानतासहित विकास तथा समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिइएको छ ।

पार्टीका उपाध्यक्ष बेदुराम भुसालको विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ । युवा सहभागिता वृद्धि गर्ने विषयलाई प्राथमिकता दिएको जनाइएको छ ।

यसैगरी महासचिव घनश्याम भुसालले प्रस्तुत गर्नुभएको साङ्गठानिक प्रतिवेदन देशभर पार्टीको सङ्गठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख छन् । सशक्त पार्टी निर्माणका लागि सङ्गठनको महत्त्वपूर्ण भूमिका उल्लेख गरिएको दस्तावेजमा पार्टी निकट सबै सङ्गठन जनहितमा परिचालन गर्नुपर्नेमा जोड दिइएको छ ।

पार्टीका नेता राजेन्द्र राई र साध्यबहादुर भण्डारीले पूरक प्रतिवेदन पेस गर्नुभएको छ । यसमा पनि छलफल गरिने छ । महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिसहभागी छन् । छलफल सकिएपछि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ । निर्वाचन विद्युतीय उपकरणबाट गरिने तयारी छ । यही असार २० गतेसम्म महाधिवेशन चल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here