परिचयमा दाग नलागोस्

0
10

सगरमाथा र भगवान बुद्धको देशका रुपमा परिचित नेपाललाई अहिले तस्करहरुको स्वर्गभूमि भन्न थालिएको छ । यसो भनिनुको मुख्य कारण भनेको सुन तस्करीको तथ्याङ्क नै हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विद्युतीय सामग्री र ब्रेक सुमा लुकाएर ३१ अर्ब रुपैयाँभन्दा बढीको सुन तस्करी भएको उल्लेख गरेको छ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलबाट लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विभिन्न पाँच वटा कम्पनी मार्फत तस्करी भएको अनुसन्धानमा खुलेको थियो ।

सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले पत्रकार सम्मेलनमा बोल्दै साठ्ठी किलो सुन तस्करीको अनुसन्धानका क्रममा थप बीस जनालाई पक्राउ गरिएको जानकारी दिए । तस्करले विभिन्न पाँच वटा नक्कली कम्पनी मार्फत विद्युतीय सामग्रीमा लुकाएर ठूलो परिमाणमा सुन भित्र्याएको अनुसन्धानमा खुलेको प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीको भनाइ छ । प्रजातन्त्रको उदयपछि सुन तस्करीको स्वरुप, मात्रा र तरिकामा भिन्नता आएको छ र नियन्त्रणको प्रयास गर्दा झन् बढेको छ । पछिल्लो लोकतन्त्र र गणतन्त्रको शासनकालमा सुन तस्करहरुको उचाइ झनै उकालिएको छ । तस्करहरुका बीचमा भागबण्डा नमिल्दा ज्यान मार्नेसम्मका घटना सामान्य जस्तै बनेको छ । अनुसन्धानका क्रममा तस्करहरुको आबद्धता र सम्पर्क ठूला राजनीतिक दलहरुसँगै जोडिएको र पक्राउबिरुद्ध दल र त्यसका नेता कार्यकर्ता सडकमै ओर्लिएका घटनाले तस्करको जालो कता जोडिएको छ प्रष्ट भएकै छ ।

देशको दुर्नाम गराउने सबैखाले भ्रष्टाचारको जालो तोड्ने दायित्व सरकारको हो । तस्करकै कारण व्यवसायीहरु बदनाम भएका छन् भने गरगहना क्षेत्र विभिन्न समस्यासँग संघर्ष गर्दैछ । वर्तमान सरकार र खासगरी गृह प्रशासनको तदारुकताले यसबेला अनियमितता र भ्रष्टाचार गर्नेहरु धमाधम पक्राउ पर्दैछन् । तर, तस्करीका मूल नाइकेहरु अझै पक्राउ पर्न सकेका छैनन् । उनीहरु पक्राउ नपर्नुमा राजनीतिक दलकै संरक्षकत्व रहेको भन्ने आवाज पनि आक्रोशका रुपमा प्रकट भइरहेको छ । यदि दल, नेता र सरकार अनुसन्धान नै गर्छ भने जता–जता अनुसन्धानको सुई तेर्सिन्छ त्यता–त्यता अनुसन्धान गर्न लाग्नुपर्छ । कसैलाई संरक्षण गर्ने, उन्मुक्ति दिने वा ढाकछोप गर्नेतर्फ नलागेर दोषी पाइएका जो कसैलाई कानूनको कठघरामा उभ्याइनुपर्छ । अन्यथा हाम्रो पछिल्लो परिचयको दाग झनै गहिरो हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here