ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक

0
2

काठमाडौँ,

नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘ट्राफिक पुलिस मिरर’ सार्वजनिक गर्नुभयो ।

उक्त पुस्तकमा नेपालमा सडक यातायात तथा ट्राफिक प्रहरीसँग सम्बन्धित ऐतिहासिक गतिविधिको सङ्ग्रह गरिएको छ । पुस्तकमा ट्राफिक प्रहरीको इतिहास, विकासक्रम, पोशाक परिवर्तन, घोडचढी प्रहरी, सडक सुरक्षा कार्यक्रमसँग हालसम्म गरिएका विविध गतिविधिलाई तस्बिरमा प्रस्तुत गरिएको छ ।

नेपालमा पहिलो पटक सवारीसाधन भित्रिएपछि विसं २००७ मा रामदलमार्फत ट्राफिक व्यवस्थापन गरिएको इतिहास छ । औपचारिक रूपमा २००९ सालमा ‘ट्राफिक पुलिस डिटचम्यान्ट’को नामबाट ट्राफिक प्रहरीको प्रारम्भ भएको थियो । पुस्तकले ट्राफिक प्रहरीको विकासक्रम, त्यसपछिका महत्त्वपूर्ण अभियान एवं गतिविधिलाई तथ्यपरक बनाउने, सडक व्यवस्थापनका मुख्य सरोकारवाला निकायको भूमिका, समन्वय र सहकार्यलाई थप सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।

उक्त पुस्तक ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी नायब उपरीक्षकहरु चन्द्रबहादुर थापा, रविन कार्की र सुनिलजङ्ग शाह तथा प्रहरी निरीक्षक जितेश दाहाल र शेखरजङ्ग मल्लले सम्पादन गर्नुभएको हो । ट्राफिक प्रहरीको संस्थागत अभिलेख प्रभावकारी नहुँदा महत्त्वपूर्ण इतिहास लोप हुने क्रममा रहेकाले सो पुस्तक प्रकाशन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी महानिरीक्षक कुँवरले नवीनतम् सोचबाट लक्ष्यित क्रियाकलापले मात्रै व्यावसायिकता अभिवृद्धि गर्नुका साथै समग्र सुरक्षा व्यवस्थापनमा प्रभावकारिता आउने विश्वास व्यक्त गर्दै ट्राफिक प्रहरीका कामकारबाहीलाई अझ जनमुखी बनाउन अनुशिक्षण, अनुगमन, सुपरीवेक्षण र परिमार्जन गरी सुधार ल्याउन निर्देशन दिनुभयो ।

“कतिपय सदस्यको आचरण, व्यवहार र गैरव्यावसायिक क्रियाकलापका कारण सबै सार्थक प्रयास ओझेलमा परेका छन् । जोखिम र चुनौतीपूर्ण कामकारबाहीका बाबजुद समग्र सङ्गठन जनगुनासोका घेरामा उभिनु परेको छ”, महानिरीक्षक कुँवरले भन्नुभयो । उहाँले उपलब्ध स्रोत र साधनको अधिकतम् प्रयोगद्वारा सडक व्यवस्थापन तथा यात्रुको सुरक्षामा ट्राफिक प्रहरीले पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले ट्राफिक प्रहरीको इतिहास र विकासक्रमका साथसाथै सडक सुरक्षा एवं ट्राफिक व्यवस्थापनमा गरिएका प्रयासलाई समेटेर तयार पुस्तक प्रकाशन गर्नु प्रशंसनीय रहेको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीको इतिहास, स्थापनाकालदेखि हालसम्म आएको परिवर्तन, सञ्चालित गतिविधि तथा ट्राफिक क्रियाकलापलाई समेटी तयार भएको यो प्रकाशन अनुसरणात्मक सामग्रीका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक प्रहरीको इतिहास, वर्तमान र आगामी परिवेश बुझ्न, अध्ययन गर्न पुस्तक महत्त्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो ।

बढ्दो सहरीकरण र जनघनत्वका अनुपातमा वृद्धि भएका सवारी साधनको सङ्ख्या, सीमित सडक र पूर्वाधारका अभावका बीच ट्राफिक व्यवस्थापनमार्फत नागरिकको जीउधनको सुरक्षा गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएका छन् । आर्थिक वर्ष २०७९÷८० सम्ममा काठमाडौँ उपत्यकामा १८ लाखभन्दा बढी सवारी साधन दर्ता भएका र तीमध्ये दैनिक करिब १४ लाख सवारी साधन उपत्यकाकामा सडकमा गुड्ने आकलन गरिएको छ ।

काठमाडौँमा एक हजार एक सय १३ ट्राफिक दरबन्दी रहेकामा सोभन्दा ६७ प्रतिशत बढी अर्थात् एक हजार आठ सय ६६ जनशक्ति ट्राफिक व्यवस्थापनमा परिचालन भएका छन् ।

ट्राफिक प्रहरीले सडक केन्द्रित सुधारका कार्य, जनचेतना अभिवृद्धि र दुर्घटना न्यूनीकरणमा विशेष योजना अघि बढाउँदै आएको छ । उपत्यकामा बर्सेनि सानाठूला करिब १० हजार सडक दुर्घटना हुने गरेका तथ्याङ्क छ । ती दुर्घटनामा करिब दुई सयको मृत्यु तथा आठ हजारभन्दा बढी घाइते हुने गरेका छन् । मादक पदार्थ सेवन (मापसे) तथा लागुऔषध सेवन (लापसे) गरेर तीव्रगतिमा सवारी चलाउन निरुत्साहन गर्दै दुर्घटना घटाउन ट्राफिक प्रहरीले मापसे र लापसे जाँचलाई तीव्र पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here