झापामा छ महिनामा ६९ मानवअधिकार उल्लंघन

0
6

बिर्तामोड ।

झापाको बिर्तामोडमा मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

झापामा सन् २०२४ को जनवरीदेखि छ महिनाको अवधिमा भएका घटनाहरुका विषयमा समीक्षा तथा छलफल गर्दै पुस्तकमा समेटिनुपर्ने विषयमा चर्चा गरिएको हो । मानवअधिकार सञ्जाल झापाकी उपाध्यक्ष कविता बाँस्तोला शर्माको अध्यक्षतामा भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा अनौपचारिक सेवा केन्द्र इन्सेक झापाका प्रतिनिधि नरेश खातीले पुस्तकमा समावेश गर्नका लागि तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्लामा ६९ वटा मानव अधिकार उल्लंघनका घटनाहरु भएको र जसमा ७१ जना बालबालिका ६७ जना महिला र दुई जना पुरुष पीडित रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

झापामा गैर राज्यपक्षबाट गोली प्रहार एक, हत्या आठ, घरेलु हिंसा दुई, बलात्कार २७, बलात्कार प्रयास सात, बहुविवाह छ, अपहरण एक, जातीय भेदभाव तथा छुवाछुत एक, यौन दुव्र्यवहार १५ र आर्थिक सामाजिक, सांस्कृतिक अधिकार तोडफोड दुई वटा घटना भएको जनाइएको छ ।

सन् २०२४ को जनवरी १ देखि जुन महिना अर्थात् २०८० पुस १७ गतेदेखि २०८१ असार १५ गते करिब छ महिनाको अवधिमा झापामा यी घटनाहरु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा नागरिकमाथि कुटपिट गरेको दमकमा विद्यार्थी माथि गोली प्रहार भएको, अस्पतालमा विरामीको मृत्यु भएको बहानामा तोडफोडका घटनाले मानव अधिकार उल्लंघन भएको बालिका माथि यौनजन्य हिंसा भएको समाचार लेखेकै कारण मानव अधिकारकर्मी तथा पत्रकारलाई ज्यान मार्ने धम्की दिएको, मेची प्रादेशिक अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा सर्वसाधारण नागरिक स्वास्थ्य सेवाबाट वञ्चित भएको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेको अनिवार्य राष्ट्रिय परिचय पत्र गरिएसँगै वृद्धवृद्धालाई कष्टकर रुपमा सेवा लिन बाध्य बनाइएको लगायतका विषयहरुलाई इन्सेक प्रतिनिधि खातीले आफ्नो प्रतिवेदनमा समेटेका छन् ।

प्रतिवेदनमाथि छलफल गर्दै प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले झापामा मानवअधिकार उल्लंघनका घटना कम गर्न आफूले प्रयास जारी राखेको बताए । उनले झापालाई मानव अधिकारमैत्री जिल्ला बनाउनका लागि आफूले सबै पक्षसँग छलफल र समन्वय गर्ने गरेको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले मानव अधिकार रक्षाका लागि झापामा सबै पक्षले समन्वय गरेर अगाडि बढ्ने गरेको उल्लेख गरे । उनले इन्सेकले तयार पारेको अर्धवार्षिक समिक्षामा समेटिएका सवालप्रति सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे । मानव अधिकार रक्षाका लागि झापाली पत्रकार सदैव सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।

कार्यक्रममा झापाका प्रहरी उपरीक्षक मिलन केसीले प्रहरीले मानव अधिकार सम्बन्धी छुट्टै डेक्स नै खडा गर्ने गरेको भन्दै मानव अधिकार रक्षाका लागि नेपाल प्रहरी सचेत रहेको उल्लेख गरे । कहिकतै प्रहरीबाट कुनै घटना भएमा त्यसको गहनता बुझ्न आग्रह गर्दै मानव अधिकारका क्षेत्रमा आफूहरु सचेत रहेको धारणा व्यक्त गरे ।

सशस्त्र प्रहरी २ नं. गणका प्रमुख कविन्द्र राईले सिमा क्षेत्रको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीको भएको भन्दै सिमा क्षेत्रमा हुने अपराध नियन्त्रणका क्रममा गरिएका बल प्रयोगलाई मानवअधिकार उल्लघंनका घटनाका जोड्न नहुने विचार व्यक्त गरे ।

शान्ति सुरक्षा कायम गर्दै जिउधनको रक्षा गर्नु पहिलो जिम्मेवारी रहेको तथा अपराध नियन्त्रणका लागि गरिएका प्रयासप्रति गहन रुपमा बुझ्न आग्रह गरे । आफूहरु मानव अधिकार रक्षाको सवालमा गम्भीर रहेको भन्दै सिमा क्षेत्रमा हुने घटनालाई सूक्ष्म रुपमा अध्ययन गरिदिन आग्रह समेत गरे ।

कार्यक्रममा मानव अधिकारका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तहरुले आफ्ना जिज्ञासा तथा धारणाहरु राखेका थिए । कार्यक्रमको सञ्चालन झापा प्रतिनिधि खातीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here