जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र

0
2

झापा,

मेचीनगर नगरपालिका–१३ चारआली स्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ । नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमबाट मात्र नभएर छिमेकी मुलुक भारत पश्चिम बङ्गालको दार्जीलिङ, सिलीगुढी र बिहारको किशनगञ्ज र ठाकुरगञ्जसम्मका सर्पदंशका बिरामी आउने गर्छन् । यहाँ सबै प्रकारका विषालु सर्पले डसेको उपचार हुन्छ ।

सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराई सानो र कम सुविधायुक्त भएता पनि जनविश्वास अन्तर्राष्ट्रियस्तरमा फैलिएको कारण सर्पदंश उपचार केन्द्रको स्तरोन्नतिमा राज्यको ध्यान दिनुपर्छ भन्नुभयो । उहाँले केन्द्रलाई सेनाले जग्गा र प्राविधिक सहयोग गरिरहेको जानकारी दिनुभयो । आफ्नो ब्यारेकभित्र रहँदै आएको यस उपचार केन्द्रलाईसेनाले विसं २०६० चैत ५ गते समुदायलाई हस्तान्तरण गरेको थियो ।

त्यसअघि सैनिकहरूलाई सर्पले डसेमा शीघ्र उपचार गर्न ब्यारेकभित्र सानो युनिट सञ्चालनमा रहेको थियो । गैरसैनिक व्यक्तिलाई सर्पले डसेमा उपचारका लागि ब्यारेकभित्रै लगिन्थ्यो । बिरामीको चाप बढ्दै गएपछि सेनाले समुदायलाई नै यसको जिम्मा दिएको हो ।

मेचीनगरको चारआलीमा चन्द्रगढी जाने सडकमा पायक पर्नेगरी सेनाले उपचार केन्द्रका लागि जग्गा उपलब्ध गराएपछि तत्कालीन चन्द्रगढी गाविसका अध्यक्ष दुर्गा भट्टराईको नेतृत्वमा उपचार केन्द्रका लागि सहयोग जुटाउने अभियान चल्यो । उहाँकै अध्यक्षतामा गठित समितिले केन्द्रको भवन र अन्य सुविधा थप्ने कार्य गर्यो ।

उपचार केन्द्र मानिसहरूको जीवन बचाउने थलो बन्दै गएको छ । मेचीनगरले यसका लागि भवन बनाउनदेखि सञ्चालनका लागि विभिन्न समयमा सहयोग पुर्याउँदै आएको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी बताउनुभयो । “सर्पदंश उपचार केन्द्र मेचीनगरको गौरव गर्नलायक संस्था हो”, उहाँले भन्नुभयो, “जुन ढङ्गले बिरामीको चाप बढिरहेको छ । त्यसअनुरुप सेवा र सुविधाको विस्तार गर्न आवश्यक भइसकेको छ । अब यसको स्तरोन्नतिका लागि नयाँ योजना र सङ्कल्पको खाँचो छ ।”

झापा र इलामका सबै पालिकाले बैठक गरेर वार्षिक रु दुईदेखि पाँच लाखसम्म अनुदान दिने हो भने चारआलीको सर्पदंश उपचार केन्द्र मुलुककै नमूना अस्पताल बन्ने र त्यसका लागि आफू समन्वय गर्न तयार रहेको उहाँले जानकारी दिनुभयो ।

मेचीनगरले यस संस्थाको स्तरोन्नतिका लागि प्रदेश सरकारसँग समन्वय गरेर बजेटको व्यवस्था गर्दै आएको छ । आर्थिक वर्ष २०८१÷८२ का लागि प्रदेश सरकारबाट प्राप्त योजना तथा कार्यक्रमका लागि सशर्त अनुदानस्वरुप नगरले रु १५ लाख बजेट तथा नीति कार्यक्रममा समावेश गरेको छ । नगर प्रमुख बुढाथोकीले केन्द्रको स्तरवृद्धिका नयाँ योजना बनाउन समितिका पदाधिकारीलाई आग्रह गरिसकेको बताउनुभयो ।

सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप दिनानुदिन बढिरहेको छ । यो साता उपचारका लागि आएका ८० प्रतिशत इलामका थिए । बिगतमा झापाका बिरामी धेरै हुने गरेको अहिले इलामका बिरामी बढेका छन् । बर्सेनि एक हजारभन्दा बढीले उपचार पाइरहेको केन्द्रबाट यही वैशाखमा ६१, जेठमा एक सय २३ र असारमा ९३ जनाले उपचार सेवा लिएका छन् । विसं २०८० मा सर्पले डसेका नौ सय७६ जनाले केन्द्रबाट उपचार प्राप्त गरेको अध्यक्ष भट्टराईले राससलाई जानकारी दिनुभयो ।

इलामको सूर्योदय वडा नं १ का ३९ वर्षीय दिनेश तामाङले यही उपचार केन्द्रका कारण आफूले नयाँ जीवन पाएको बताउनुभयो । उहाँलाई केही दिनअघि घाँस काट्ने क्रममा गुर्बे सर्पले डसेको थियो । मेचीनगर–१५ का ५१ वर्षीय जुपुई हेमरमलाई पनि गत साता ओछ्यानमै विषालु सर्पले डस्यो । तत्कालै उहाँलाई मोटरसाइकलमा चढाएर यस उपचार केन्द्रमा ल्याइएका कारण उहाँको ज्यान बच्यो ।

हिउँदमा गुप्तबास बस्ने गरेका सर्प बर्खायाममा जमिनको सतहमा आहाराका लागि निस्कन्छन् । ओसिलो, पाखो र कुनाकाप्चा खोज्दै जाने सर्पसँग जम्काभेट हुँदा मानव–सर्प द्वन्द्व हुने गरेको छ । यसका कारण नेपालमा बर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन् । पहाडमा गुर्बे र हरेउ सर्प विषालु हुन्छन् भने तराईमा गोमन र करेत अत्यधिक विषालु हुन्छन् । उपचार नपाएमा गोमनले डसेको केही घण्टाभित्रै मानिसको मृत्यु हुने गर्छ । बेलैमा भरपर्दो अस्पताल वा चिकित्सकको सम्पर्कमा पुर्याए सर्पदंशका सबै बिरामी उपचारबाट बाँच्ने नेपाली सेनाका चारआलीस्थित अरिदम गणका स्वास्थ्य प्राविधिक कृष्ण थापा बताउनुुहुन्छ ।

केन्द्रका अध्यक्ष भट्टराईले विसं २०६० चैत ५ गतेदेखि नेपाली सेनाले समुदायलाई हस्तान्तरण गरेको यस उपचार केन्द्रबाट दुई दशकमा २० हजारभन्दा बढी सर्पदंशका घाइतेले सफल उपचार पाएको बताउनुभयो । केन्द्रले बिरामीको दर्ता शुल्क रु एक सय र साधारण उपचार सेवा शुल्क रु छ सय मात्र लिने गरेको छ ।

उपचारका लागि बस्दा बेड शुल्क रु एक सय, पाँच भाइलसम्म औषधि (एन्टी स्नेक भेनम सिरम)को रु एक हजार पाँच सय र पाँच भाइलभन्दा जतिसुकै धेरै लागे पनि रु तीन हजार मात्र शुल्क लिने गरिएको केन्द्रले जनाएको छ ।

विपन्न र असहाय बिरामीका लागि निःशुल्क उपचार गर्दै आएको उहाँले जानकारी दिनुभयो । “समुदायको सहयोगबाट चलिरहेको उपचार केन्द्र भएकाले बिरामीबाट सामान्य व्यवस्थापन शुल्क मात्र लिने गरेका हौँ”, उहाँले भन्नुभयो । कोशी प्रदेशमा १३ सर्पदंश उपचार केन्द्र रहेकामा यस जिल्लामै चारवटा रहेका छन् । चारआलीस्थित सेनाको ब्यारेक परिसरमा रहेको सर्पदंश उपचार केन्द्र कोशी प्रदेशकै सबैभन्दा ठूलो उपचार केन्द्र हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here