कार्सिनोमा

0
52

आन्तरिक सोचाई र छटपटीले मनलाई घायल पारेपछि बिहानिपख मात्र सारिकाको शरिर निद्राले भुसुक्क भएछ । आफ्नो हसवेण्ड द वालडर्फको घरमा आउन छोडेको ठ्याक्कै वर्ष दिन भैसकेको छ । जीन्दगीभरि सँगै बाँच्ने र सँगै मर्ने भनेर खाएका वाचा र कसमहरु कता गए कता । विवाह पूर्वदेखि नै उसलाई अत्यधिक मन पराउने भाष्करले किन वाचा तोड्यो, थाहा भएन । लण्डनको सरकारी जागिर प्रमोसन भएर हाकिम भएपछि ऊ शहरमै बस्न थालेको थियो । पछि सुन्दा मन्त्री क्वाटरमा छ अरे भन्ने कुरा थाहा भयो । आफूलाई मुटुभन्दा बढी माया गर्ने भाष्करले च्वाट्टै छाडेर बिर्सिएपछि सारिकालाई पर्नुसम्मको पिर परेको हो ।

छोरी दिप्तीले ‘पापा खोइ ?’ भनेर सोध्दा मुटुमा गाँठो पारेर ‘शहर जानु भा’छ, आइहाल्नुहुन्छ, तिमी राम्ररी पढ’ भनेर छोरीलाई सम्झाएको पनि धेरै पटक भैसकेको छ । एक पटक शहर गएर भेट्ने हिम्मत नगरेको पनि होइन । तर, फेरि मनमा कुराहरु फेरिए । ठूला वडाको ठूलै चाला होला, आफू जाँदा कतै ओहदामा असर पर्ने हो कि ? भन्ने लागेर मन मारेकी हो । एक दिन त हाम्रो सम्झना आउला नि भनेर बसेको पनि वर्ष दिन बितिसक्यो । कुनै झगडा वा विवाद केही पनि त भएको थिएन । यसरी चटक्कै छोडेर हिँड्नुको के कारण हुन सक्छ ? त्यो कुरा सारिकालाई थाहा भएन ।

हिजो स्कूलबाट फर्केर आउँदा दिप्तीको हातमा एउटा लामो बील देखेकी थिई सारिकाले । यति धेरै पैसा एकै पटक कहाँबाट ल्याउने भनेर चिन्ता माथि चिन्ता थपिएको थियो । ऊ आफू हाउसवाइफ मात्र भएकी हुँदा ऊ सँग कहिल्यै सफिसिएन्ट पैसा भएन । आफ्नो हसवेण्डको यति धेरै ठूलो जायदाद हुँदाहुँदै पनि ऊ अभाव मै रहन्थि । खटाएर दिएको पैसाले इकोनोमिक पोइन्ट अफ भ्यूबाट मात्र व्यवहार चलाएकी थिई । तर, लाष्ट इयरदेखि त त्यो पनि हराएको थियो । त्यसैले आफ्ना थोरै गहनाहरुलाई एक पटक नियालेर त्यसमध्येबाट एउटा बेचेर छोरीको फिस तिर्ने निधो गरी । यसरी कहिलेसम्म धानिएला, चिन्ताको विषय भएको थियो सारिकालाई । बाकसमा विवाहका जोडी कपडा मात्र सुरक्षित थिए । नयाँ परचेज गर्ने इच्छा हुँदाहुँदै पनि आर्थिक अभावले मन मारेर बसेकि थिई ।

छोरी दिप्ती किशोरीबाट वयस्क हुँदै गर्दा सारिकालाई अरू पीर थपिएको छ । उसका दैनिक डिमाण्डहरु पनि थपिन थालेका छन् । आफ्ना साथीहरू सरह स्वच्छन्दतामा ऊ पनि रमाउन चाहन्छे । स्कूलका विभिन्न प्रोग्रामहरूमा पनि आफूलाई एक्टिभ देखाउन चाहन्छे । उसका इच्छा आकांक्षाहरु बढ्दै जानु अस्वाभाविक भने थिएन । सारिकाले आफ्नी छोरीको बढ्दो रुपलाई आफ्नो जवानीसँग दाँजेर हेरी । जवानीले पालुवा फेर्दै गर्दा भाष्करका नजर उसमा परेका थिए । भाष्कर सुगठित, जवान शरीरको एक आकर्षक युवक थियो । पढाइमा अब्बल दर्जाको भएको हुँदा उसलाई हाइयर एजुकेशन स्टडीका लागि उसका गार्जियनहरुले लण्डन पठाएका थिए । पछि उतै रमाउन थालेको थाहा पाएर उसको विवाह सारिकासँग गरिदिए ।

भाष्करसँग विवाह भएपछि सारिकाले पनि यूकेको सपना देखेकी थिई । कस्तो होला पराई घर ? कस्तो होला युके ? विवाह भएको सात दिन मै भाष्कर उसलाई एक्लै छोडेर युके उडेको थियो । उसका सबै साथीहरूले उसलाई कुइरिनी हुने भइस् भनेर इष्र्याका साथ जिस्क्याएका थिए । नभन्दै छ महिनामा एसेन्सियल डकुमेन्टहरु उसका हातमा परे । तबसम्ममा उसले पनि जिल्ला प्रशासन कार्यालयबाट पासपोर्ट बनाइसकेकी थिई । अत्यधिक उत्साहका साथ समयमै ऊ पनि युके बतास्सिई । लण्डनको एयरपोर्टमा बाहिरपट्टि भाष्कर झलक्क देखाप¥यो । उसलाई देखेर आफ्नो विवाहपछि बितेका ती सात दिन खुब याद आए । कसरी ऊ भाष्करको अँगालोमा बेरिएकी थिई । त्यो दिन सारिकालाई आफू संसारकै प्रथम महिला भएको अनुभव भएको थियो । भाष्करको बाहुपासमा समर्पण हुँदा आफूलाई अत्यन्त भाग्यशाली भएको अनुभव गरेकी थिई सारिकाले ।

भाष्कर सरकारी जागिर खाँदै व्यापार पनि गर्दो रहेछ । ‘तिमी पहिला अंग्रेजीको एउटा कोर्ष गर, पछि तिमीलाई एउटा राम्रो जागिरमा लगाइदिन्छु’ भन्दै थियो । उसको प्रेममा सारिका मस्त भै रही । समय बितिरह्यो र समयले नै उनीहरूलाई एउटी प्यारी छोरीको बाबु–आमा बनायो । त्यसबेलासम्ममा भाष्करले ठूलै पैमानामा धन कमाई सकेको थियो । भवन र गाडी त सामान्य कुरा भएका थिए । द वालडर्फमा उसलाई नचिन्ने कोही थिएनन् । उसको व्यापार पनि द वालडर्फदेखि कारनेरी स्ट्रीटसम्म फैलिएर गएको थियो । एक पटक घरबाट हिँडेपछि फेरि घर फर्कने मौकै परेन । सारिकाको सन्तान युकेका परमानेन्ट रेसिडेन्ट (पी आर) भैसकेका थिए ।

यो एक वर्षभित्र आएको परिवर्तनले सारिका चिन्तित भएकी हो । भाष्कर आफैले बनाएको भवन र आफ्नो प्रिय परिवार छोडेर एकाएक सरकारी डेरामा किन सर्यो ? घर व्यवहार बिजिनेस सबै लथालिङ्ग पारेर ऊ फगत एक्लै किन स्ट्रेन प्यालेस र अक्सफोर्ड स्ट्रीट गरिरहेको छ ? अब त फोनमा पनि कुराहरू पातलिएका छन् । प्रायजसो उसको फोन स्वीच अफ नै हुन्छ । कुनै दिन कन्ट्र्याक भए पनि नचिनेको मान्छे जस्तै व्यवहार गर्छ । मासिक रुपमा प्राप्त हुने क्यासहरु पनि समाप्त भएका छन् । त्यसैले घर खर्च र छोरीको स्कूलको फिस तिर्न आफ्नो गहना बेच्न सारिका तयार भएकी हो ।

‘छोरीको पढाई रोक्नु हुँदैन, गहना त पछि फेरि बनाउन सकिन्छ’ । यस्तै सोच्दै सारिकाले ओछ्यान छोडेकी थिई । बाहिर डम्म कुहिरो लागिरहेको थियो । चकमन्न सुनसान, कतैबाट कुनै आवाज आइरहेको थिएन । एकैछिनपछि छोरीको स्कूलबस आइपुग्ने वाला थियो । तर आज छोरीले जिद छोडिन आफ्नो पापासँग भेट नभएको एक वर्ष बितेपछि दिप्ती छटपटाएकी थिई । ‘आज पनि पापासँग कन्ट्र्याक भएन भने म स्कूलै जान्न’ उसले फैसला सुनाई । छोरीको जिद्दीपन सारिकालाई थाहै थियो ।

अचानक फोनको घण्टी बज्यो । फोनमा कुनै अपरिचित महिलाको आवाज सुनियो । उसले आफूलाई भाष्करको पिए भएको बताई । त्यसपछि उसले जे सुनाई, त्यो सुनेर सारिकाका खुट्टा जमिन मुनि भासिए । सारा संसार डाँवाडोल भयो । हाहाकार भयो, मन भित्रभित्रै ठूलो आँधी आएर गयो । भाष्करलाई कार्सिनोमा भएको रहेछ । ऊ लगभग एक वर्षअघिदेखि क्यान्सर अस्पताल धाइरहेको रहेछ । आफूले कमाएको सम्पत्ति सकिँदै गर्दा उसको स्वास्थ्यमा भने अझै गिरावट आएछ । आफू बाँच्ने आशा क्षिण हुँदै गर्दा पनि आफ्नो प्राणभन्दा प्यारो परिवारलाई भने गुमराह मै राखेको रहेछ । कसरी भन्न सक्थ्यो होला र ‘मलाई क्यान्सर भएको छ, म मर्दैछु’ भनेर । द वालडर्फको ठूलो गार्डेनसहितको भवन र सवारीसाधनहरु बाहेक आफूले कमाएको लगभग सबै सम्पत्ति सकेर भाष्करले वारनेरिमा यो संसारबाट विदा लिएछ । सरकारी जागिरे भएको हुँदा लण्डनमा सरकारी स्तरबाटै उसको दाह संस्कार गरिने निर्णय भएको रहेछ ।

फोनबाट भाष्करको पिएको कुरा सुनेपछि सारिका एकै छिन् पनि द वालडर्फमा टिक्न सकिन । आफ्नी छोरी दिप्तीलाई लिएर वारनेरि पुग्दा भाष्करको अन्तिम विदाइ हुँदै रहेछ । एकापट्टि मधुरो स्वरमा बेण्ड बजिरहेको थियो । अर्कापट्टि सेता लवादा लगाएका फादर र पादरीहरु हातमा बाइबल लिएर उभिएका थिए । आफ्नो आइडेन्टिटी देखाएर उनीहरु भाष्कर छेउ पुगेका थिए । श्रद्धाञ्जलीका दुई थोपा आशु सारिकाका आँखाबाट झरेर भाष्करको डेडवडीमा बिलाए । छोरी दिप्ती डाको छोडेर रोई । कार्सिनोमाले एक हराभरा परिवारलाई छिन्नभिन्न पारिदियो । उनीहरुको भविष्य अनिश्चित र अन्धकारमय बन्न गयो । सारिकालाई यो सपना हो कि विपना, थाहा हुन सकेन । ऊ त्यहीँ मुर्छित भएर ढली । भेला भएका सबै किंम्कर्तव्यबिमुड भैरहे ।

आज सारिका उसकी छोरी दिप्तीका साथ द वालडर्फमै संघर्षमय जीवन बिताइरहेका छन् । उनीहरुको अविभावक उनीहरु आफै बनेका छन् । पछि बुझ्दै जाँदा भाष्करले आफू मरेर गए पनि परिवारलाई आफ्नो इन्सुरेन्स लगायत केही मात्रामा सम्पत्ति छोडेर गएको रहेछ । त्यही सम्पत्तिबाट उनीहरूले द वालडर्फको त्यो भव्य भवनलाई क्यान्सर अस्पतालमा परिणत गरे । उनीहरुको भावनालाई कदर गर्दै ब्रिटिस सरकारले यो कार्यमा पूर्णरूपमा सहयोग पु¥यायो । अहिले उनीहरु क्यान्सर पीडित रोगीहरूको सेवा गर्छन् । सेवा नै धर्म हो भन्ने कुरालाई आत्मसाथ गर्दै अघि बढिरहेका छन् । क्यान्सर पीडितहरुको सेवा र भाष्करको पूर्णकदको प्रतिमा नै उनीहरुको जिउने सहारा भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here