मन पोखिएर
जब मनमै सुक्न खोज्छ
मनका मनहरु पानी भएर
जरुवा जस्तै रसाउँछन्
अनि म कविता खोज्दै
तिमीनेर आउँछु ।
मस्तिष्कको मरुभूमि छिचोल्दै
जब मबाट गणित हराउँछ
साङ्लो बिनाको कैदी जस्तै
आकाश अँगालेर लुक्छु
चिसो बादलभित्रको पहाड जस्तै भएर
अनि म कविता खोज्दै
तिमीनेर आउँछु ।
गोरेटाको ढुङ्गा टेक्दै
चेतना ओरालो झरिरहन्छ
कल्पना उकालो चढिरहन्छ
म त ढुङ्गा भएर
आनन्दपान गरिरहेको हुन्छु
मद्होस हुन्छु
अनि म कविता खोज्दै
तिमीनेर आउँछु ।
मलाई दुख्दैन
शून्यभित्रका शून्यहरु पिएर
जब म मातिन्छु
मनहरु मनभित्रै पोखिन्छन्
शून्यले हावालाई अँगालोमा बाँधे जस्तै
अनि म कविता खोज्दै
तिमीनेर आउँछु ।
बिर्तामोड, झापा