भारतमा घट्दो प्रजनन् दर

0
31

चीनलाई उछिन्दै भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको मुलुक बनेको छ । वल्र्डोमिटरका अनुसार भारतको हालको जनसंख्या एक अरब ४४ करोड १७ लाख ६७ हजार ५०८ (जुलाई ३, २०२४ सम्म) रहेको छ । तथापि, अध्ययनहरुले भारतमा प्रजनन् दर घट्दै आएको देखाएको छ । भातरको जनसांख्यिकीय प्रोफाइल द्रूतगतिमा परिवर्तन भइरहेको छ । यसले गर्दा भारतमा काम गर्ने युवा बलको अभाव हुने सम्भावना बढेर गएको छ । जसले गर्दा विश्व बजारलाई समेत चाहिने क्रियाशील युवाजनशक्ति अभाव पर्ने देखिन्छ ।

भारतमा सन् २०२३ सम्ममा करिब ४० प्रतिशत जनसंख्या २५ वर्षभन्दा कम उमेरका थिए भने ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाको उमेर आगामी २० वर्षमा दोब्बरभन्दा बढी हुने अनुमान गरिएको छ । यसले के देखाउँछ भने उत्पादनशील तथा सिर्जनशील जनसंख्या धेरै र त्यहीँ अनुत्पादनशील जनसंख्या पनि धेरै नै हुने देखिन्छ । देशको आम्दानी बढाउने जनसंख्या पर्याप्त हुनेछ भने ज्येष्ठ जनसंख्या माथिको सामाजिक सुरक्षा भार पनि भारतमा निकै पर्ने देखिन्छ ।

संयुक्त राष्ट्रसंघको एक प्रतिवेदन अनुसार विश्वमा २५ वर्षभन्दा कम उमेरका प्रत्येक पाँचमध्ये एक जना भारतमा बस्छन् । अर्को तथ्य के पनि हो भने भारत विश्वको सबैभन्दा ठूलो श्रमशक्तिको घर हो । यस प्रतिवेदन अनुसार भारतको आगामी विकास र आर्थिक प्रगति सुनिश्चित हुने देखिन्छ ।

जनसंख्या विज्ञ पुनम मुत्रेजाका अनुसार, दिगो विकासका लागि यी जनसांख्यिकीय प्रवृत्तिहरूको लाभ उठाउन भारत सरकारलाई बहुआयामिक दृष्टिकोणको आवश्यकता छ । २५ करोड ३० लाख जनसंख्यामा किशोरकिशोरीहरू १० देखि १९ वर्ष उमेर समूहको भारतको जनसंख्याको लगभग २०% छन् । तथापि, घट्दो कुल प्रजनन् दर (टीएफआर)ले सङ्केत गरे झैँ भारतसँग युवा जनशक्ति उपयोगको अवसर कम हुँदै जाने देखिन्छ ।

आगामी केही दशकमा, युवा जनसंख्यालाई भविष्यका चुनौतिहरूको लागि तयार गर्न सकिन्छ । परिवार नियोजन सेवाहरू सहित स्वास्थ्य सेवाहरूमा पहुँच सुधार गरेर, शैक्षिक अवसरहरू वृद्धि गरेर र व्यापक सीप विकास कार्यक्रमहरू विकास गरेर उनीहरूलाई भारतीय र विश्वव्यापी श्रम बजारका लागि आवश्यक सीपहरूसँग सुसज्जित गर्न सकिन्छ । धेरै विकसित र पश्चिमी देशहरूमा, काम गर्ने उमेरको जनसंख्याको जारी कमीलाई ध्यानमा राख्दै यस्ता कार्यक्रमहरु लागू गरी समस्या सामाधान गरिन्छन् ।

सन् २०११ मा गरिएको पछिल्लो जनगणनाका कारण भारतको वास्तविक जनसंख्या थाहा नभए पनि स्टेट अफ वल्र्ड पपुलेशन रिपोर्टले चीनको एक अर्ब ४२ करोडभन्दा बढी जनसंख्यालाई करिब ३० लाखले उछिनेर जुलाई २०२३ मा भारत सबैभन्दा बढी जनसंख्या भएको देश बनेको जनाएको छ । पीईडब्ल्यू रिसर्च सेन्टरको एक रिपोर्ट यस तथ्यसँग सहमत छ ।

सन् १९५० यता भारतको जनसंख्या एक अर्बभन्दा बढीले वृद्धि भएको छ र यो दशकको अन्त्यसम्ममा १.५ अर्ब नाघ्ने अनुमान गरिएको छ । सन् २०५० मा यो बढेर एक अर्ब ६७ करोड पुग्ने अनुमान गरिएको छ । सन् २०६४ मा एक अर्ब ७० करोड पुग्ने अनुमान गरिएको छ । तथापि, भारतको प्रजनन् दर डरलाग्दो दरमा घटिरहेको छ र यदि प्रचलित प्रवृत्ति जारी रह्यो भने देश चाँडै स्थिर जनसंख्या कायम राख्न आवश्यक संख्याहरू पूरा गर्न कमी झेल्नु पर्नेछ ।

टिएफआर, जनसांख्यिकीविद्हरूले बच्चा जन्माउने वर्षहरूमा महिलाले जन्माउन सक्ने बच्चाहरूको औसत संख्या प्रतिबिम्बित गर्न प्रयोग गर्ने शब्द, प्रति महिला २.० बच्चाहरूमा झरेको छ, जुन २.१ को टीएफआरभन्दा कम छ । प्रत्येक पुस्तालाई जारी राख्न आवश्यक प्रति महिला बच्चाहरूको औसत संख्या कायम गर्न कठिन हुने देखिन्छ । संयुक्त राष्ट्र संघीय जनसंख्या विभाग, द लान्सेट र भारत सरकारको राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण (एनएफएचएस)को अधिकांश अनुमानमा टीएफआर हाल २.० को हाराहारीमा छ । सन् १९५० मा ५.९ र सन् १९९२ मा ३.४ बच्चा जन्माएकी भारतीय महिलामा अहिले २.० बच्चाको दर रहेको एनएफएचएसको सन् २०१९–२०२१ को पछिल्लो रिपोर्टले देखाएको छ ।

द लान्सेटले सन् २०२३ को रिपोर्टमा सन् २०५१ सम्ममा १.२९ बालबालिकाको टीएफआर कम हुने प्रक्षेपण गरेपछि खतराको घण्टी बजेको थियो । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युएनइएससीएपी)ले सन् २०५० सम्ममा १.७८ बालबालिकाको टीएफआर कम हुने प्रक्षेपण गरेको छ ।
युएनइएससीएपीका अनुसार सन् १९९० मा ४.०४ रहेको टीएफआर सन् २००० मा ३.३५ र सन् २०२० मा २.०५ मा झरेको छ । सन् २०२४ का लागि प्रजनन् दर १.९८ रहेको छ । हाल चीन र अमेरिकामा भने प्रजनन दर क्रमशः १.२ र १.६ रहेको छ ।

प्रजनन् दर र धर्मः पीईडब्ल्यू रिसर्च सेन्टरका अनुसार हिन्दू, इसाई, सिख, बौद्ध र जैन लगायत भारतका हरेक धार्मिक समूहको प्रजनन दर घटेको छ । मुस्लिम समुदायमा पनि घटेको देखिएको छ । एनएफएचएस (२०१९–२०२१) का अनुसार प्रजनन् दर भारतीय राज्यहरूका साथै ग्रामीण र शहरी क्षेत्रहरूमा फरक–फरक छ । ग्रामीण क्षेत्रमा प्रजनन् दर २० वर्षअघिको ३.७ बाट घटेर हाल २.१ र शहरी क्षेत्रमा २.७ बाट १.६ मा झरेको छ ।

भारतको औषत आयु, सन् २०२३ मा ७२ वर्ष थियो– महिलाको ७३.६ वर्ष र पुरुषको ७०.५ वर्ष । भारतको घट्दो टीएफआर विश्वव्यापी प्रजनन दर घट्दोक्रमसँग मिल्दोजुल्दो छ, तैपनि देशले आफ्नो जटिल जनसांख्यिकीका लागि अझ राम्रो योजना बनाउन आवश्यक छ । बढ्दो युवा जनसंख्या, जसलाई थप रोजगारीका अवसरहरूको आवश्यकता छ, र बढ्दो वृद्ध जनसंख्या जसलाई सामाजिक सुरक्षा र स्वास्थ्य सेवा योजनाको आवश्यकता छ ।

केही प्रदेशहरुको जनसंख्या अवस्थाः भारतको सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेश (यूपी)मा टीएफआर २.७ (२०१५–२०१६) बाट घटेर २.४ (२०२०–०२१) मा झरेको छ । एनएफएचएसका अनुसार शहरी क्षेत्रमा टीएफआर १.९ थियो भने ग्रामीण क्षेत्रमा २.५ थियो । राज्यको तथ्याङ्क अनुसार बिहारमा टीएफआर सबैभन्दा बढी २.९८ छ भने मेघालयमा २.९१ रहेको छ । सबैभन्दा कम टिएफआर सिक्किमको १.०५ र गोवाको १.३ रहेको छ ।

देश जति आधुनिक र विकसित हुँदै आएको छ मानिसहरुको दैनिकी अति व्यस्ततामा बित्न थालेको छ । आफ्ना आवश्यकता पूरा गर्न मानिसहरुले धेरै घण्टा काम गर्नु परिरहेको छ । आम्दानी मेन्टेन गर्नुपर्ने प्रेसरका कारण मानिसहरु बालबच्चा जन्माएर झन्झटमा फँस्न चाहँदैनन् । एक वा दुई सन्तान भएपछि अरु बढी सन्तान नचाहने प्रवृत्ति बढ्दो छ । यसैले पनि होला भारतमा प्रजनन् दर घट्दो देखिएको छ । परिणाम स्वरुप भारतभित्रै मात्र होइन विश्व बजारमा आवश्यक उत्पादनशील जनशक्ति कम हुँदै जाने देखिन्छ । जसले विश्वकै विकासक्रम र आर्थिक वृद्धिमा असर पार्न सक्ने देखिन्छ । त्यसैले नयाँ कारगर योजनाहरु बनाउनु अबको आवश्यकता देखिएको छ ।

(सामग्रीहरु अध्ययनबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here