चप्पलमै दौडिने सफललाई झापाबाट खेल सामग्री सहयोग

0
45

बिर्तामोड।

दौडिने हुटहुटी भएर प्रतियोगितामा भाग लिए पनि जुत्ता अभावमा समस्या भोगिरहेका सफल राईलाई झापाबाट सहयोग जुटेको छ ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकाका–७ का १३ वर्षीय सफल राईको अभाव र समस्याबारे झापा टुडेमा समाचार प्रकाशन भएपछि झापाली समाजसेवी दाताहरुले उनलाई सहयोग गरेका हुन् ।

एथलेटिक्समा औधी रुचि भएका नवोदित खेलाडी सफललाई बुधबारेको बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं र सहारा नेपाल साकोसका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले सहयोग गरेका हुन् ।

पूर्वधावक समेत रहेका प्रसाईं र बेलायतबाट छुट्टीमा घर आएकी उनकी छोरी आश्रा प्रसाईंले सफललाई बुधबारेमा एक कार्यक्रमका बीच व्यावसायिक रनिङ सुज, हाफपेन्ट र टिसर्ट एक सेट प्रदान गरे । आश्रा समेत बेलायतमा एथलेटिक्सकी खेलाडी हुन् ।

त्यस्तै, चारपानेस्थित सहाराको कार्यालयमा प्रमुख कार्यकारी गिरीले व्यावसायिक रनिङ सुज, हाफपेन्ट र टिसर्ट एक सेट सफललाई प्रदान गरे । सफललाई झापाका अग्रज साइकल अभियन्ता बुधबारेका पूर्ण गौली अभ्यास जुत्ता, हाफपेन्ट र टिसर्ट प्रदान गरे भने बिर्तामोडको जोया ब्रान्डले दुई सेट जर्सी प्रदान गर्यो ।

अभावका बीच पनि सानै उमेरमा खुला दौडमा सहभागी भइरहेका उनी अधिकांश प्रतियोगितामा चप्पलमै दौडिन बाध्य थिए । आर्थिक रूपमा विपन्न सफल जुत्ता किन्ने पैसा नहुँदा असार २१ गते चप्पलमै झापा दमकदेखि केर्खास्थित सहिद गेटसम्मको १० किलोमिटर दूरी पार गरेका थिए । खुला दौड प्रतियोगितामा पुरुषतर्फ सहभागीमध्येकै सबैभन्दा कान्छा प्रतिस्पर्धी उनले ४० मिनेटमा दौड पूरा गरेका थिए ।

सफललाई भोजपुरमा राखेर प्रशिक्षक प्रशान्त राईले दौडकला सिकाउँदै आएका छन् । तीन महिनाको हुँदा उनको आमाको निधन भएको थियो । भोजपुरमा सिंहश्वरी माविमा कक्षा ७ मा अभ्ययनरत सफललाई झापा टुडेले खेल सामग्री जुटाइदिएकोमा सफल र उनका प्रशिक्षक प्रशान्तले धन्यवाद दिए । झापाबाट सफललाई ३० हजार रुपैयाँभन्दा बढीको खेल सामग्री प्राप्त भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here