साहित्यकार सुवेदी सम्मानित

0
48

सुरुङ्गा ।

प्राध्यापक तथा साहित्यकार होम सुवेदी १५ हजार नगदसहित एक भव्य कार्यक्रमका वीच सम्मानित भएका छन् ।

कनकाई प्रतिभा प्रतिष्ठान झापाद्वारा सुरुङ्गामा आयोजित कार्यक्रममा मनोजबाबु (लक्ष्मीप्रसाद) ओली स्मृति पुरस्कारबाट सुवेदी सम्मानित भएका हुन् । मेची बहुमुखी क्याम्पस भद्रपुरबाट सेवानिवृत्त प्राध्यापक सुवेदीले ९ वटा पुस्तक सृजना गरी प्रकाशनमा ल्याएका छन् भने दर्जनौं पुस्तक तथा साहित्यिक पत्रिकाको कुशल सम्पादन पनि गरेका छन् ।

कोरोनाबाट निधन भएका मनोजबाबुका पिता लोकगायक अनिरुद्र ओली, माता नन्दा ओली र परिवारजनबाट आफ्नो सुपुत्र र भाइको स्मृतिमा स्थापित अक्षयकोषबाट सो सम्मान प्रदान गरिएको हो ।

कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदीको अध्यक्षता र अग्रज साहित्यकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महाकाव्यकार मित्रप्रसाद दाहाल रचित पाँचौं महाकाव्य ‘देवहूति’ को लोकार्पण गरिएको थियो । समीक्षक विष्णुप्रसाद कोइरालाले सम्मानित व्यक्तित्वको परिचय प्रस्तुत गरेका थिए भने युवा लेखक भीम दाहालले लोकार्पित कृतिको समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि रुद्र–गौरी श्री –अम्बिका ओली प्रतिष्ठान झापाका अध्यक्ष गंगाप्रसाद ओली, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय महासचिव एवम् गीतकार चन्द्र भण्डारी, कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष युवराज चम्लागाईं, प्रगतिशील लेखक सङ्घका झापा अध्यक्ष राजेन्द्र संग्रौला लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा मातृका संग्रौला, हस्त परियार, टंक विकल्प, गणेश निरौला, जय भण्डारी, मोक्ष खतिवडा, देवीभक्त श्रेष्ठ, तुलसीप्रसाद भट्टराई, आकृति चौधरी, अशोक तिवारी, अंकित राई, खगेन्द्रा खुसी, वीरेन्द्र खडका, विश्वनाथसिंह राजवंशी, दिव्या काफ्ले लगायतले गीत, गजल तथा कविता प्रस्तुत गरेका थिए ।

भानु जयन्तीको पूर्व सन्ध्यामा आयोजित सो कार्यक्रममा अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल, सामाजिक व्यक्तित्व शेरबहादुर थापा, संगीत साधना कला केन्द्र सुरुङ्गाका सञ्चालक ध्रुबप्रसाद पाठक, लेखक भवानी थापा, शिक्षाकर्मी उमानाथ ओली, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका सभापति बालकृष्ण प्रसाईं, साहित्यकार हरिनारायण भट्टराई लगायतको आतिथ्य रहेको थियो ।

आयोजक संस्थाका सदस्य निर्मलकुमार खतिवडाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन डा. पुण्यप्रसाद सिग्देल र प्रेम प्रभातले संयुक्त रूपमा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here