पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण

0
6

म्याग्दी,

म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् । चालु आव २०८०/८१ मा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको रु एक करोड ५६ लाख बजेटबाट १८ वटा पर्यटन पूर्वाधार योजना निर्माण भएका हुन् ।

चर्चित, ऐतिहासिक र धार्मिक पर्यटकीयस्थलमा नौ किलोमिटरभन्दा बढी पदमार्ग निर्माण भएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषानाथ शर्माले जानकारी दिनुभयो । “कार्यालयका सबै योजना कार्यान्वयन गरेका छौँ”, उहाँले भन्नुभयो, “सात किलोमिटर ४८ मिटर नयाँ ट्रयाक बनाउने, ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउने काम भएको छ ।”

उहाँका अनुसार एक किलोमिटर ७२ मिटर पदमार्गमा ढुङ्गा छापेर पदमार्ग बनाइएको छ । थप एक किलोमिटर ८२ मिटर पदमार्गलाई ढलान गरेर पक्की बनाइएको छ । पदमार्गसँगै धार्मिक पर्यटकीयस्थलमा घेराबार, संरक्षण, प्रवेशद्वार, रेलिङ, भ्यूप्वाइन्ट, वनभोजस्थललगायत पूर्वाधार निर्माण भएको कार्यालयका सबइन्जिनियर सुमन बोगटीले जानकारी दिनुभयो ।

पर्यटन पूर्वाधार बनेपछि पर्यटक प्रवर्द्धनमा सघाउनुका साथै स्थानीयवासीलाई सुविधा पुगेको छ । यस वर्ष सबैभन्दा धेरै रु २० लाख बजेट विनियोजन भएको अन्नपूर्ण गाउँपालिका–५ को खोप्रालेकमा पदमार्ग, भ्यूप्वाइन्ट निर्माणसँगै खानेपानीको पूर्वाधार निर्माण गरिएको छ ।

जिल्लाकै ऐतिहासिक धार्मिकस्थल ताकमकोट, ज्यामरुकोट, चिनाकोटमा रु १०–१० लाख बजेटबाट पदमार्ग, रेलिङलगायत पर्यटन पूर्वाधार निर्माण भएका छन् । बेनी नगरपालिका–९ स्थित ढोलथानमा रु १० लाख बजेटबाट पदमार्ग, प्रवेशद्वार वनभोजस्थल र रेलिङ निर्माण भएको कार्यालयले जनाएको छ ।

महभिरबाट करबाकेलीथान जाने बाटो, पनथोकबाट मालिका जोड्ने बाटो, गलेश्वर–काउलेगौडा–नेप्टेचौर ढोलठान जाने बाटो, दर्मिजा–नाङ्गीदेवी थान बाटो, लामाखोरिया–डाँडागाउँ जोड्ने बाटोमा रु १०–१० लाख बजेटबाट पदमार्ग निर्माण र विस्तार गरिएको छ ।

त्यसैगरी बेनीस्थित डल्लेपिपल–फोहोटे रिठाबोट र रघुगङ्गा गाउँपालिका–२ भगवतीको अन्नपूर्ण आधारभूत विद्यालयबाट हवल्दारको चौतारासम्म रु आठ–आठ लाख बजेटबाट सिँढी चिनेको पदमार्ग निर्माण गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको परम बैदिक धार्मिक सनातन आश्रम, सारेमारे–भुवाने, भालश्री छापाछाङ औसी–खालीखोला, बलौटे–दुखुबेँसी, कालीबराह ताल, शिलखुङ–चाङ्गा जोड्ने बाटोमा रु पाँच–पाँच लाख बजेटबाट पदमार्ग निर्माण तथा संरक्षण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here