हात्तीको आक्रमणमा सदस्य गुमाएका परिवारलाई राहत

0
13

बिर्तामोड ।

मेचीनगर नगरपालिका –४ वडा कार्यालयले हात्तीको आक्रमणमा परी मृत्यु भएका चार परिवारलाई राहत प्रदान गरेको छ । कार्यालयले प्रतिपरिवार १२ हजार रुपैयाँका दरले राहत प्रदान गरेको हो ।

प्रेम बराल, शम्भु थापा, रणबहादुर दियाली र मनोरथ ढुङ्गेलको परिवारलाई १२ हजाका दरले राहत हस्तान्तरण गरिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए । बारम्बार प्रयास गर्दा पनि नियमानुसार सरकारले गराउने राहत उपलब्ध गराउन विलम्ब गरेपछि वडाकै बजेटबाट उनीहरूलाई राहत प्रदान गरिएको हो ।

परिवारका सदस्य पनि अनाहकमा गुमाउँदा समेत सरकारले कानमा तेल हालेपछि पीडितको घाउमा मल्हमपट्टि गर्ने काम वडाले गरेको वडाध्यक्ष कार्कीको भनाइ छ । आफन्त गुमाएका परिवारका सदस्यलाई रकम हस्तान्तरण गरिएको र थप राहतका लागि निरन्तर प्रयास जारी राखिने वडाध्यक्ष कार्कीले बताए । हात्ती आउँदा मानिसहरु गुरुङ्रुङ हेर्न तथा धपाउन जाने गलत बानी अहिले कम भएको कार्कीले सुनाए । परिमाण ६ महिनादेखि ४ र १ नम्बर वडामा हात्तीको आक्रमण रोकिएको उनले बताए ।

राहतका नाममा आहत दिने गरेको पीडित हेमराज बरालको दुखेसो छ । १५ महिना धाउँदासमेत राहत पाउन आफूलाई गाह्रो भएको उनले बताए । वन ऐन, राष्ट्रिय निकुञ्ज ऐन , कार्यविधि र राहत निर्देशिका अनुसार सरकारले वन्यजन्तु पीडितलाई राहत तथा क्षतिपूर्ति दिन्छ । मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने व्यवस्था छ ।

संशोधन सहित २०८० साउन १ गतेदेखि लागू निर्देशिका अनुसार सख्त घाइतेले २ लाख रुपैयाँसम्म पाउँछन् । तर, सरकारी प्रक्रिया झन्झटिलो हुँदा घाइते र सदस्य गुमाएका अधिकांश परिवारले उपचार खर्च र राहत पाउनै मुस्किल पर्छ । राहत निर्देशिकामा दस लाख भनेपनि मनोरथको परिवारले पाँच लाख रुपैयाँ मात्रै पाएको छ । राहत निर्देशिका बन्नु अघि नै हात्तीको आक्रमणबाट अन्य तीन परिवारले आफ्ना सदस्य गुमाएको कारण अहिलेसम्म कुनै राहत पाएका थिएनन् ।

सन्तानको शिक्षादीक्षा, मृतकको स्मृतिमा कुनै काम गर्न सहयोग पु¥याउने उद्देश्यले चार परिवारलाई वडाले आफ्नो बजेटबाट सहयोग गरेको वडाध्यक्ष कार्कीको भनाइ छ । २०६८ सालपछि मात्रै झापामा ६५ जनाले हात्तीको आक्रममा परी ज्यान गुमाई सकेका छन् । तर, अहिले पनि हात्ती पीडित धेरैले राहत पाएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here