अर्जुनधारा–७ नं. वडा कार्यालयद्वारा आयोजित उद्घोषण तालिम सम्पन्न

0
80

अर्जुनधारा ।

विभिन्न संस्थामा आबद्ध महिलाहरुलाई उद्घोषण कला सम्बन्धी सीप प्रदान गर्ने उद्देश्यले अर्जुनधारा–७ नं. वडा कार्यालयद्वारा आयोजित १० दिने उद्घोषण तालिम बुधबार सम्पन्न भएको छ ।

वडा कार्यालयको सभाहलमा वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा आयोजित तालिम समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पराजुली, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, वडाध्यक्ष खतिवडा, वडा सदस्यहरु जानुका विश्वकर्मा, पार्वतादेवी न्यौपाने, देवकुमार राई, हरिबहादुर कटुवाललगायतले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

त्यसैगरी कार्यक्रममा तालिमको सम्पूर्ण गतिविधिसहितको प्रतिवेदन प्रशिक्षार्थी रमला बुढाथोकी र मूल्याङ्कन प्रतिवेदन प्रशिक्षार्थी ममता काफ्लेले प्रस्तुत गरेका थिए । प्रशिक्षार्थीद्वय अनिता रेग्मीले स्वागत मन्तव्य र मेनुका भट्टराईले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का प्रशिक्षार्थी चन्दा तामाङ ढुंगेलले गरेकी थिइन् ।

पत्रकार अमित खम्बूले प्रशिक्षण दिएको तालिममा नव युवा क्लब, नमूना महिला कृषक समूह, पतञ्जली नगर समिति अर्जुनधारा, पातञ्जल नगर समिति अर्जुनधारा, समाज उद्धार कल्याण संघ, सामूहिक उद्धार तथा उपकार संघ, सिर्जना बाल युवा क्लबमा आबद्ध २६ जना प्रशिक्षार्थीको सहभागिता रहेको वडासचिव एवम् तालिमकी संयोजक सस्मिता लुँइटेलले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here