बाढीपहिरो प्रभावितलाई रेडक्रसको सहयोग

0
15

काठमाडौँ,

नेपाल रेडक्रस सोसाइटीले बाढीपहिरो प्रभावितलाई रु एक करोड ५० लाखको गैरखाद्य सामग्री आफ्ना जिल्ला शाखालाई पठाएको छ । रेडक्रसले त्रिपाल, कम्बल, म्याट्रेस, भाँडाकुँडालगायत सामग्री प्रभावित जिल्लामा पठाएको हो ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालका अनुसार विभिन्न सहयोगी निकायसँगको सहकार्यमा विपद्मा परेका तीन सय ७६ र रेडक्रसबाट दुई सय नौजनालाई तयारी खाना वितरण गरिएको छ । हालसम्म एक सय ९१ परिवारलाई त्रिपाल, एक सय चार परिवारलाई कम्बल र २२ परिवारलाई भाँडाकुँडा सेट वितरण गरिएको छ ।

बाढीपहिरोबाट प्रभावित क्षेत्रका पाँच सय ८५ जनाको उद्धार गरिएको अध्यक्ष नेपालले बताउनुभयो । वर्षाका कारण यही असार १२ देखि हालसम्म २७ जिल्ला प्रभावित भएको रेडक्रसले जनाएको छ । नेपाल रेडक्रसको आपतकालीन कार्य सञ्चालन केन्द्रबाट मनसुनको अवस्था र प्राप्त विवरणका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नियमित सूचना सम्प्रेषण भइरहेको रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिनुभयो । रेडक्रसले राष्ट्रियस्तरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र र अन्य सरोकारवाला निकाय तथा अन्तर्राष्ट्रिय रेडक्रस अभियानका सदस्य निकायमा सूचना सम्प्रेषण भइरहेको उहाँको भनाइ छ ।

बाढीको उच्च जोखिममा रहेका बाँके, बर्दिया र कैलालीका १२ पालिकमा रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घको विपद् प्रतिकार्य आपत्कालीन कोष (डिआरइएफ) को सहयोगमा बाढी पूर्वकार्य सञ्चालन भइरहेको रेडक्रसले जनाएको छ । रेडक्रसले मनसुनजन्य विपद्मा तत्काल आपत्कालीन प्रतिकार्यका लागि सातै प्रदेश र ७७ जिल्ला शाखामा तालिमप्राप्त जनशक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सबै प्रदेश र जिल्लामा मनसुन पूर्वतयारी र प्रतिकार्य सञ्चालनका लागि कार्ययोजनासहित अभिमुखीकरण कार्य सम्पन्न भएको रेडक्रसले जनाएको छ ।

गोदामघरमा राहत सामग्रीको भण्डारण र विपद् अतिजोखिम जिल्लामा पूर्वतयारीका लागि राहत सामग्री पठाइएको महामन्त्री श्रेष्ठले जानकारी दिनुभयो । राहत सामग्री भण्डारण गर्ने र आवश्यकतानुसार तत्काल प्रतिकार्यका लागि प्रदेश र जिल्ला शाखाबाट प्रदेश र स्थानीय तहमा समन्वय भइरहेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here