गण्डकीमा मनसुनजन्य विपद्मा परी ३८ जनाको मृत्यु

0
15

गण्डकी,

यही असार १ गतेदेखि हालसम्म भएका मनसुन्य विपद्का घटनामा परी गण्डकी प्रदेशमा ३८ जनाको मृत्यु भएको छ । बाढी पहिरोलगायत घटनामा ज्यान गुमाउनेमा २१ महिला र १७ जना पुरुष रहेका गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उक्त अवधिमा ८२ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । सबैभन्दा बढी कास्कीमा पहिरोमा परी १४ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी विपद्मा परी स्याङ्जामा सात, लजमुङमा पाँच, तनहुँमा चार, बागलुङमा तीन, म्याग्दीमा दुई, पर्वतमा दुई र नवलपुरमा एकजनाको मृत्य भएको हो ।

गए राति मात्र पहिरोका घटना परी कास्कीमा ११ र म्याग्दीमा दुईजनाको मृत्यु भएको थियो । मनसुनजन्य विपद्का घटनामा आठ महिला र १७ पुरुष गरी २५ जना घाइते र ७६ जना विस्थापित भएका प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले जानकारी दिनुभयो । “एकानब्बे पशुचौपाया र छ सय ९० पक्षीको मृत्यु भएको छ । विपद्का कारण झण्डै दुई करोड बराबरको भौतिक क्षति भएको छ”, उहाँले भन्नुभयो ।

सबैभन्दा बढी कास्कीमा २३ मनसुनजन्य विपद्का घटना भएका प्रहरी प्रवक्ता रेग्मीले बताउनुभयो । सो अवधिमा गोरखा र मुस्ताङमा विपद्का घटना भएका छैनन् । उहाँका अनुसार स्याङ्जामा १२, पर्वतमा १०, नवलपुरमा छ, बागलुङमा चार, लमजुङ आठ, मनाङमा एक, म्याग्दीमा आठ र तनहुँमा आठ विपद्का घटना भएका छन् ।

यसैबीच, केही दिनयता निरन्तर वर्षा भइरहेकाले सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here