कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

0
10

ढोरपाटन (बागलुङ),

कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध छ । यही असार २६ गतेको भारी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि कोरिडोर अवरुद्ध भएको हो ।

कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै पहिरोले भासिएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ । असार २१ गतेको खसको पहिरोले सडक भासिएपछि पाँच दिनसम्म अवरुद्ध बनेको कोरिडोर असार २६ गते करिब तीन घन्टा सञ्चालनमा आएको थियो ।

सडक मर्मतका लागि मेसिन र कामदार खटाए पनि वर्षाका कारण काम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक वसन्त भुजेलले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउन प्रयास गरिए पनि वर्षाले हालसम्म सञ्चालनमा ल्याउन नसकिएको उहाँको भनाइ छ ।

कोरिडोरबाहेक जिल्लाका अन्य सडक सञ्चालनमा रहेका प्रहरी निरीक्षक भुजेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पानी पर्ने बित्तिकै पहिरो खस्छ, पहिराले बगाएको पर्खाल निर्माण गर्न बाँकी छ ।”

कोरिडोर अवरुद्ध सडक सञ्चालनमा नआउँदा दक्षिण बागलुङसँग सीधा यातायात सम्पर्क हुन सकेको छैन । यातायात सञ्चालन नहुँदा यात्रुले सास्ती खेपिरहेका छन् । किसानले उत्पादन गरेको दूध सहज रुपमा बजारमा ल्याउन सकेका छैनन् । बागलुङको जैमिनी क्षेत्रबाट मात्रै दैनिक चार सय लिटर दूध बागलुङ बजारमा ल्याउने भए पनि सडक अवरुद्ध हुँदा पर्वतको कुश्मा हुँदै आउनुपर्ने अवस्था रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । अहिले यात्रु कैयाको झोलुङ्गे पुल र यान्त्रिक पुल तरेर कुश्मा पुगेर आउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

सडक अवरुद्ध हुँदा दूध ढुवानीमा समस्या परेको जैमिनी नगरपालिका–२ का राजन सापकोटाले बताउनुभयो । उहाँले सडक सञ्चालन हुँदा दैनिक रु सात सयमा बागलुङ बजारमा दूध ल्याउने गरेको सुनाउँदै अहिले केबलकारको प्रयोग गर्दै रु दुई हजार तिर्नुपरेको गुनासो पोख्नु भयो । पहिरोले लामो समयसम्म सडक बन्द हुँदा सबैभन्दा बढी मारमा किसान परेका सापकोटाले सुनाउनुभयो ।

“बाटो बन्द भएको धेरै दिन भयो, २६ गते एकैछिन खुल्यो, त्यसपछि फेरि बन्द भयो, यतिका दिनसम्म खुलेको छैन, अझै कति दिन लाग्ने हो ? हामीहरु निकै मारमा प¥यौँ, दूध बजार नलैजाउँभन्दा बिग्रिन्छ, लैजाउँभन्दा बाटो बन्द छ”, उहाँले भन्नुभयो, “अहिले केवलकार तारेर कुश्मा जान्छौँ, कुश्माबाट बल्ल बागलुङ बजारमा दूध ल्याउँछौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here