कोशी प्रदेशका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

0
12
मोरङ,
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेश पूर्ण खोप सुनिश्चिता घोषणा गर्नुहुँदै उहाँले बालबालिकाले १६ महिनामा सबै १३ वटा खोप लगाउने अधिकार कुण्ठित हुन नदिन मन्त्रालय, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई आग्रह एवं निर्देशन दिनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्न पाएकामा खुसी व्यक्त गर्नुहुँदै यसबाट राष्ट्रिय तथ्याङ्क एवं मानचित्रमा प्रदेशको नाम राख्न पाएकामा सबैलाई बधाई एवं शुभकामना दिनुभयो ।
उहाँले सरकारले आगामी साउनदेखि नागरिकका घरदैलोमा स्वास्थ्य जाँच गर्न विशिष्ट स्वास्थ्यकर्मीको साथमा मोबाइल भ्यानबाट सेवा प्रारम्भ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “यहाँहरू सबैको सहयोगमा प्रदेशलाई प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गर्न सकिएको छ । अब बाल विवाह, छुवाछूत, बाल मृत्यु, सुत्केरी मृत्युदर न्यूनीकरण गर्न सबैले आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा आवश्यकता छ”, उहाँको भनाइ थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले महामारी आउन नदिनका लागि बालबालिकालाई तोकिएको समयमा सबै खोप दिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलिया र स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतलाई प्रदेशका १४ जिल्लाका एक सय ३७ पालिका खोप सुनिश्चिता भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here