बाढीपहिरोमा परी एक सय आठको मृत्यु

0
9
काठमाडौँ, 
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिराका कारण हालसम्म एक सय आठ जनाको मृत्यु भएको छ ।
      प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायत विपद्मा परी आज दिउँसोसम्म एक सय आठ जनाको मृत्यु भएको हो ।
      मृत्यु हुनेमा काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा आठ जना रहेका छन् ।
      यस्तै उक्त घटनामा परेर एक सय १९ जना घाइते भएका छन् । घाइते हुनेमा काठमाडौँ उपत्यकामा आठ जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा नौ जना, बागमती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन् ।
      घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ  । बाढी पहिरोमा परेका ५३ जनाको उद्धार गरिएको र छ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेको बताइएको छ । यस्तै, दुई सय तीन वटा घर, ७५ वटा गोठ, ४१ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
पाँच सय १६ वटा पशुचौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार पाँच सय ५२ घर परिवार विस्थापित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here