झापा,
झापाली समाज युएईले गरीब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्ति मेचीनगर नगरपालिका- १० मा की छात्रा लीला बुढाथोकीलाई हस्तान्तरण गरेको छ ।
बुढाथोकीले ५ हजार ५ सय नेपाली रुपैयाँ छात्रवृत्ति स्वरुप पाएकी हुन् । यसै वर्षको एसइइ परीक्षामा बि प्लस ल्याएर धुलाबारी माविबाट एसइइ उत्तीर्ण गरेकी हुन् । उनले गत वर्षबाट झापाली समाज युएईबाट ५ हजार ५ सय नेपाली रुपैयाँ छात्रवृत्ति पाएकी थिइन् । झापाली समाज युएईको सहयोगमा एसइइ पास गर्ने बुढाथोकी झापाकै पहिलो विद्यार्थी बनेकी छन् ।
झापाली समाज युएईका पालिका संयोजक बलराम अर्याल र झापाली समाज युएई नेपाल सम्पर्क समितिका सल्लाहकार गोपी रिजाल साथै धुलाबारी माविका प्रधानध्यापक महेन्द्र बिलास लुइँटेलले बुढाथोकीलाई बधाई तथा शुभकामना दिदै अन्य संस्थाभन्दा झापाली समाज युएईले फरक खालको कार्यक्रम ल्याएर गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई सहयोग गर्दै आएकोमा खुसी व्यक्त गरेका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा युएईमा श्रमरत झापालीहरुको सामाजिक संस्था झापाली समाज युएईले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई एक अक्षयकोषमार्फत छात्रवृत्ति प्रदान गर्ने गरेको छ ।
झापाका सबै पालिकाबाट १/१ जना विद्यार्थीलाई जनही ५ हजार ५ सय नेपाली रुपैयाँ छात्रवृत्ति स्वरुप प्रदान गर्दै आएको झापाली समाज युएईका संस्थापक परिकल्पनाकार रामप्रसाद ढुंगेलले जानकारी दिएका छन् । ढुंगेलका अनुसार अक्षयकोसमा १३ लाख नेपाली रुपैयाँ राखिएको छ र कोष को ब्याजबाट प्राप्त रकम स्थानीय वडा र सम्बन्धित विद्यालयको सिफारिसमा कक्षा १० सम्म छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
झापाली समाज युएईले विभिन्न समयमा गरेका साँस्कृतिक तथा पिकनिक कार्यक्रमबाट प्राप्त मुनाफाबाट संकलन गरिएको रकममा स्वेच्छिक रूपमा शुभेच्छुकहरुबाट प्राप्त रकमलाई एकमुष्ट रूपमा जम्मा गरेकाले यो छात्रवृत्ति कार्यक्रमले निरन्तरता पाएको झापाली समाज युएईका पुर्व अध्यक्ष अशोक चापागाईंले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा आधिकारिक दर्ता भएको, सुरुङ्गमा कार्यालय रहेको झापाली समाज युएईले आफना आजीवन सदस्यहरुबाट संकलन गरेको रकमबाट पनि करिब १० लाख रुपैयाँलाई पनि अक्षयकोष बनाई उक्त कोशबाट पनि समाजले आफना सदस्यका साथै अन्य विपत्तिहरुमा पनि सहयोग गर्दै आएको झापाली समाज युएईका नेपाल सम्पर्क समितिका अध्यक्ष राजेन्द्रकुमार दाहालले जानकारी दिएका छन् ।
झापाली समाजले स्थानीय पालिका, सम्बन्धित बिद्यालय र एक्सल डेभलपमेन्ट बैंकको सहकार्यमा हरेक जाडाे मौसममा न्यानो लुगा पनि वितरण गर्ने गरेको झापाली समाज युएईका अध्यक्ष अमरराज राईले बताएका छन् ।
यसैगरी झापाली समाज युएईले बिर्तामोडमा रहेको अपाङ्ग शिक्षा सरोकार केन्द्रलाई पनि १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी बर्सेनि छात्रवृत्ति प्रदान गरिरहेको समाजका नेसस पुर्व अध्यक्ष प्रदीप कुमार सँग्रौलाले जानकारी दिएका छन् ।