दलीय भूमिका कमजोर हुनुहुँदैन

0
8

दलीय भूमिका कमजोर, अस्पष्ट, सङ्कीर्ण र अनुदार भएका कारण नेपाली जनताले दुःख पाएका हुन् । राजनीतिक दललाई लोकतन्त्रको आधारशिला भनिन्छ । दलगत शासन उत्तरदायी शासनको महत्वपूर्ण सिद्धान्त हो । राजनीतिक दल उत्तरदायी शासनको अविभाज्य अङ्ग हो । राजनीतिक दल बिना लोकतन्त्रको कल्पनासम्म पनि गर्न नसकेका पश्चिमी विद्वानहरू छन् । राजनीति भनेको राज्य विषयक विज्ञान हो । प्राचीन र प्रारम्भिक राजनीतिक विद्वानहरूले विज्ञानको रूपमा राजनीतिलाई मानेका छन् । आधुनिक राजनीतिक वैज्ञानिकहरूले राजनीतिलाई सर्वश्रेष्ठ नीतिका रूपमा विस्तृत अर्थमा प्रयोग गरेका छन् ।

हिजोआज राजनीति भन्नाले व्यावहारिक राजनीति भन्ने बुझिन्छ र यसको प्रयोग या त राजनीतिक दललाई नियन्त्रण गरी कुनै खास सरकारी पदमा पुग्ने कलाका लागि गरिन्छ या सरकारको नीतिलाई निर्देशित गरी कुनै खास लक्ष्यतर्फ अभिमुख गराउने कलाका लागि गरिन्छ । समाजसेवा, खेलकुद, व्यापार, शिक्षा लगायत क्षेत्रमा गुटबन्दी भएमा राजनीति घुस्यो भनेर भनिन्छ । वस्तुतः हिजोआज राजनीति विकृत अर्थमा प्रयोग गरिन्छ । वास्तवमा राजनीतिक दलले राज्य सञ्चालनको प्रमुख भूमिका खेल्दछन् । तर अचेल राजनीति भन्नाले छक्कापञ्जा, छलछाम, गुटबन्दी र स्वार्थको खेललाई बुझिन्छ । यो राजनीतिको सङ्कीर्ण परिभाषा हो । दलीय व्यवस्थामा राजनीतिक दलका कमजोर भूमिकाका कारण सबै क्षेत्रमा समस्या सिर्जना हुन्छन् ।

पहिलो कुरा राजनीतिक दलले आफ्नो कर्तव्य र गरिमालाई बोध गर्न सकेमा मात्र लोकतान्त्रिक व्यवस्थाको महत्व स्थापित हुन्छ । आधुनिक शासन–व्यवस्था लोकमतमा निर्भर छ । हरेक राजनीतिक दलले आफ्नो जनताप्रतिको दायित्व र मुलुकप्रतिको उत्तरदायित्व बुझ्न जरुरी हुन्छ । स्थानीय, क्षेत्रीय र राष्ट्रिय समस्या र तिनका समाधानका लागि दलहरूले सक्रियता, सबलता र सक्षमतापूर्वक चिन्तनमनन र विचारविमर्श गर्नुपर्छ । बनेका नीति–नियम र योजना–परियोजनालाई सफलताका साथ कार्यान्वयन गर्ने मूल दायित्व राजनीतिक दलकै हो । नेपालमा नेपाली कांग्रेस र एमाले जस्ता दलले मुलुकको विकास, सुरक्षा, विदेश सम्बन्ध, शिक्षा नीति लगायतका विषयमा आफ्नो धारणालाई प्रभावशाली बनाउनका नसकेको कारणबाट आजका समस्या सृजना भएका हुन् । दलको अभावमा स्वतन्त्रताको अभाव रहन्छ । प्रतिनिधिमूलक लोकतन्त्रको सफलता राजनीतिक दलहरू उपर नै निर्भर छ ।

राजनीतिक दलविना लोकतान्त्रिक शासन व्यवस्था चल्न नसक्ने कुरा जगजाहेर छ । राजनीतिक दलहरूले नै मनुष्यका अस्पष्ट तथा परस्पर विरोधी विचारहरूलाई रूप र आकार प्रदान गर्दछन् । राजनीतिक दल नहुने हो भने सिद्धान्तको एकीकृत अभिव्यक्ति हुन सक्दैन, नीतिको नियमित विकास असम्भव हुन जान्छ, नियमितरूपले निर्वाचनको वैधानिक उपाय प्रयोग गर्ने तरिका समाप्त हुन जान्छ र ती समस्त संस्थाहरूको अन्त्य हुन जानेछ । जसको माध्यमबाट राजनीतिक दलले शक्ति ग्रहण गर्दथ्यो र तिनलाई जीवित राख्ने प्रयत्न गर्दथ्यो । राजनीतिक दल जनमत निर्माण र जनताको विचार अभिव्यक्तिको महत्वपूर्ण साधन हो । राजनीतिक दलले जनताप्रतिको कर्तव्यबोध गरेमा लोकतन्त्र सबल हुन्छ र मुलुक खिचातानीबाट मुक्त भएर सकुशल प्रभावशाली, समृद्ध र विकसित हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here