किसानको तरकारी बेच्न बिर्तामोड नगरपालिको पहल, पारीको होइन बारीकोलाई प्रोत्साहन

0
8

नरेन्द्र ढकाल,
बिर्तामोड ।

पूर्वको सबैभन्दा तिब्र रुपमा जनघनत्व बढिरहेको झापाको बिर्तामोड नगरपालिकाले आफ्ना नागरिकलाई अग्र्यानिक तरकारीप्रति आर्कित गरेको छ । ‘पारीको होइन बारीको खाँऊ’ भन्ने नाराका साथ बिर्तामोडका किसानले उत्पादन गरेका कृषिजन्य बस्तु बेच्नका लागि नगरपालिकाले पहल थालेको हो ।

बिर्तामोडका विभिन्न १० स्थानमा सामुदायिक तरकारी बिक्री केन्द्र स्थापना गरेर बिर्तामोडका किसानले उत्पादन गरेको तरकारी बेच्नका लागि बिक्री केन्द्रको निर्माणको काम धमाधम भइरहेको कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए ।

उनले पूर्वाञ्चलसंँग कुरा गर्दै भने– आगामी साउन पहिलो साताबाट बिक्री केन्द्रको क्रमशः उद्घाटन गर्दै किसानका तरकारी बेच्न शुरु गर्दै छौं । अब तरकारीमा पारीको होइन बारीकै भर पर्ने हो । साउन ७ गतेबाट १७ गतेसम्ममा सबै बिक्री केन्द्रको उद्घाटन गरेर तरकारी बेच्नका लागि आवश्यक पहल भइरहेको कृषि शाखा प्रमुख कडरियाको भनाइ छ । उनका अनुसार ४ वटा संकलन केन्द्र र ६ वटा बिक्री केन्द्रहरु रहने छन् ।

बिर्तामोडका विभिन्न स्थानमा सामुदायिक तरकारी बिक्री केन्द्र स्थापना गरेर तरकारी बेच्ने प्रक्रिया अघि बढाइएको हो । बिर्तामोडस्थित कृषि थोक बजारमा मुख्य संकलन केन्द्रमार्फत संकलित तरकारीहरु सामुदायिक तरकारी बिक्री केन्द्रमा पु¥याएर बेच्ने जनाइएको छ ।

बिर्तामोड नगरपालिकाले किसानलाई तरकारी खेतीतर्फ आकर्षित गर्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । तरकारी खेतीमा आत्मनिर्भर बनाउन सकेमा यहाँका किसानले बारीमा फलाएका कृषिजन्य उत्पादनले मूल्य पाउने थिए । बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी भन्छन्– यहाँका किसनले उत्पादन गरेको विषादी रहित तरकारी खाएमा हामी सबै स्वस्थ्य हुने थियौं ।

भारतबाट आयतित तरकारीमा विभिन्न बिषादीको प्रयोग गरिने हुँदा त्यो बिषादी सिधै भन्सामा पुग्ने भएकाले हामीले यहाँका किसानलाई आग्र्यानिक खेतीतर्फ आकर्षित गर्दै बिर्तामोडलाई तरकारी खेतीमा अत्मनिर्भर बनाउने प्रयास गरिरेका छौं–अध्यक्ष बुढाथोकीले भने ।

स्वास्थ्यप्रति सचेत बन्दै विषादीलाई निरुत्साहित गर्न बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा (प्रसाई)ले मेयर पकेट कार्यक्रम अन्तरगत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेकी छन् । किसानलाई आत्मनिर्भर बनाउँदै उनीहरुलाई ब्यवसायिक रुपमा उद्यमी बनाउनका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताइएको छ ।

नगरप्रमुख महतारा (प्रसाई) ले भनिन्– बिर्तामोडका किसानले उत्पादन गरेका कृषिजन्य वस्तुलाई बिक्री गर्दै स्वस्थ्य तरकारी खान सबैलाई प्रेरित गर्दैछौं । उनले यो अभियानले किसानलाई आत्मनिर्भर बनाउँदै ब्यवसायिक बन्न प्रेरणा मिल्ने विश्वास ब्यक्त गरिन् । भारतीय बजारबाट आयतित तरकारीमा अत्यधिक मात्रामा विषादी प्रयोग गरिने हुँदा उपभोक्ताले अब स्वास्थ्यप्रति सचेत बन्दै किसानले उत्पादन गरेको तरकारी छनौट गर्नुपर्ने नगरप्रमुख महतारा (प्रसाई)को भनाइ छ ।

स्थानीय तहले रसायनिक विषादी र मलको उपयोग नियन्त्रणको अभियान नै सञ्चालन गर्दै अग्र्यानिक खेती तर्फ प्रोत्साहित गरिरहेको छ । तरकारी तथा फलफूलमा हुने रसायनिक विषादीले मानव स्वास्थ्य तथा पर्यावरणमा नकारात्मक असर पु¥याउने ठहर गरी बिर्तामोड नगरपालिकाले यसको उपयोगमा कडाई गरेको छ । किसानका उत्पादनहरुलाई दुई चरणमा विषादी परीक्षण गरेर मात्रै बजारमा लैजाने गरी तयारी भइरहेको बिर्तामोड नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

किसानका उत्पादनलाई बारीमै गएर पहिलो चरणमा विषादी मापन गरिन्छ भने दोस्रो चरणमा बिर्तामोडस्थित कृषिथोक बजारमा रहेको विषादी मापन केन्द्रमा परीक्षण गरेर मात्रै बजारमा लैजाने तयारी भएको कृषि शाखा प्रमुख कडरियाले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाका किसानले उत्पादन गरेको तरकारीले उपभोक्ताको माग धान्न नसकेमा अन्य पालिकाका किसानले उत्पादन गरेका अग्र्यानिक तरकारीलाई समेत खरिद गरेर बिक्रीका लागि राख्ने जनाइएको छ । पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन भएको तरकारीहरुलाई समेत विषादी परीक्षण पश्चात विक्रीका लागि सामुदायिक तरकारी बिक्री केन्द्रमा राख्ने कृषि शाखाका प्रमुख कडरियाको भनाइ छ । बिर्तामोड नगरपालिकाका विभिन्न वडाहरुमा एक कठठदेखि ६ विगाह क्षेत्रफलमा किसानले तरकारी खेती गर्दै आएका छन् । हालसम्म ११७ जना किसानले बिर्तामोडमा तरकारी खेती गर्दै आएको विवरण कृषि शाखासँंग रहेको र अन्य किसानको पनि विवरण संकलन गरिने जनाइएको छ ।

किसानलाई तरकारी खेतीतर्फ प्रोत्साहन गर्नका लागि नगरपालिकाले सिँचाई मोटरहरु समेत वितरण गर्दै आएको छ । हालसम्म ८०७ वटाभन्दा धेरै सिँचाई मोटरहरु वितरण गरिसकेको बताइएको छ । साउन, भदौ र असोजमा तरकारीको उत्पादन कम हुने भए पनि उक्त समयमा अन्य पालिका तथा पहाडी जिल्लाका किसानका उत्पादन खरिद गरेर भएपनि बिर्तामोडका किसानलाई अग्र्यानिक तरकारी बिक्री गर्ने आफूहरुको योजना रहेको कृषि शाखा प्रमुख कडरियाले बताए ।

अब बिचौंलियाको अन्त्य हुने:

बिर्तामोड नगरपालिकाले तरकारी संकलन केन्द्रमार्फत सिधै किसानका तरकारी किन्ने भएपछि बिचौलियाको अन्त्य हुने विश्वास लिइएको छ । किसानले एउटा लौका फलाएर बेच्छु भन्दा पनि तरकारी संकलन केन्द्रमा किन्ने काम हुन्छ– बिर्तामाड नगरपालिकाकी प्रमुख महतारा (प्रसाई)ले पूर्वाञ्चलसँंग भनिन्– यसले किसानले उत्पादन गरेर सिधै बिक्री गर्न सक्ने भएकाले बिचौलियाको अन्त्य हुन्छ ।

किसान र उपभोक्ताको भेट तरकारी संकलन केन्द्र तथा विक्री केन्द्रमा हुने भएकाले उपभोक्तासँंग उत्पादक जोडिने भएकाले किसानले उचित मूल्य पाउनुका साथै उपभोक्ताले पनि सस्तो दरमा तरकारी किन्न पाउने बताइएको छ । तरकारीमा किसानले मूल्य नपाउने समस्या छ भने उपभोक्ताले चर्को मूल्य तिर्नु पर्ने हुन्छ ।

यसमा बिचौलिया बिना परिश्रम मालामाल हुने गरेका थिए । अब सिधै क्रेता र विक्रेताको सम्पर्क हुने भएकाले बिचौलिएको अन्त्य हुनेमा आफूहरु विश्वस्त रहेको नगरप्रमुख प्रसाईको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here