सशस्त्र प्रहरी बलः विपद्मा खोज तथा उद्धारदेखि राजस्व सङ्कलन

0
2
धरान (सुनसरी),
जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरले विपद्मा खोज तथा उद्धार, चोरी तस्करी तथा लागुऔषध नियन्त्रण र विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको छ ।
गत आर्थिक वर्षमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरले विपद् खोज तथा उद्धारका क्रममा कोशी प्रदेशका विभिन्न नदी र खोलामा डुबेका १० जना शव निकालिएको जनाएको छ ।
विपद्मा फसेकाको खोज तथा उद्धारका लागि कोशी नदीमा नमूना अभ्यास गर्ने क्रममा डुबेका १३ जना र गत चैत २७ गतेदेखि बराहक्षेत्र चतराधाममा सञ्चालन भएको पूर्णमहाकुम्भ मेलामा फसेका १० जनाको जीवित उद्धार गरिएको कार्यालय प्रमुख सशस्त्र प्रहरी  उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिनुभयो ।
सोही अवधिमा कार्यालयले विभिन्न चोरी तथा अवैध सामान बरामदका शीर्षकमा प्रतिवादीलाई कारबाही गरी रु १७ करोड ९९ लाख १३ हजार चार सय नौ राजस्व सङ्कलन गरेको बज्राचार्यले बताउनुभयो ।
जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरबाट खटिएको टोलीले जाँच गर्ने क्रममा घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ प ७६१३ नम्बरको कारबाट रु एक करोड एक लाख, विशेष सुराकीका आधारमा हरिपुरबाट मकै भनी रु ४५ लाख ५० हजार बराबरको चिनीलगायत विभिन्न समयमा अवैध सामग्री बरामद गरिएको बज्राचार्यले जानकारी दिनुभयो ।
गत आवमा एक सय १५ वटा सडक दुर्घटना हुँदा २७ को मृत्यु, दुई सय ११ जना घाइते भएका छन् । हेडक्वाटरले एक सय ४१ आगलागीका घटनालाई नियन्त्रण गरिएको जनाएको छ ।
एक हजार तीन सय तीन किलो भन्दाबढी गाँजा, ब्राउन सुगर ५७ दशमलव ८३ ग्राम, ट्रामाडोल/ट्रामोल २३ हजार सात सय एक लागुऔषध बरामद गरिएको उपरीक्षक बज्राचार्यले जानकारी दिनुभयो । “सो क्रममा ४२ जनालाई पक्राउ गरी कारबाही गरेका छौँ”, उहाँले भन्नुभयो, “लागुऔषध ओसारपसारमा दुई एम्बुलेन्स, १२ मोटरसाइकल र एउटा अटोसहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएका छौँ ।”
सङ्कलन भएको रकम राजस्व कार्यालयलाई बुझाइसकिएको बज्राचार्यले बताउनुभयो । कार्यालयले चोरीतस्करी तथा लागुऔषध नियन्त्रण र विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखी कार्य सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here