नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (वीपी)को साउन ६ र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको साउन ७ गते स्मृति जयन्ती मनाउने गरिन्छ । यी दबै नेताले स्थापना र नेतृत्व गरेका दल आज देशका पहिलो र दोस्रो छन् । सधैँ झैं यस पटक पनि नेपाली कांग्रेसले वीपी कोइरालाको र कम्युनिस्ट पार्टीका घटकहरूले पुष्पलालको स्मृतिमा देशका विभिन्न भागमा कार्यक्रम गरिरहेका छन् । नेपालको राष्ट्रियता र लोकतन्त्रका लागि यी दुबै नेताको योगदान महत्वपूर्ण छ । बहुदलीय व्यवस्था विना र मौलिक हकको अभावमा आजको युगमा कोही पनि मान्छे साँचो अर्थमा नागरिक बन्न सक्दैन भन्ने मान्यतामा यी दुवै जीवनभर रहे र त्यसको प्राप्तिका लागि संघर्ष गरिरहे । नागरिक स्वतन्त्रता, मानव अधिकार र लोकतन्त्रका लागि वीपीले कठोर जेलजीवन बिताउनु परेको थियोे भने पुष्पलालले गरीब, मजदुर र सर्वहारा वर्गको हितका खातिर अभाव, पारिवारिक विछोड र दुःखले भरिएको प्रवासको जीवन जिउनुप¥यो ।
‘कम्युनिस्ट घोषणापत्र’को नेपाली अनुवाद गर्ने पहिलो अनुवादक, माुक्र्सवादी इतिहासकार पुष्पलाल श्रेष्ठ सारमा नेपाली कम्युनिस्ट आन्दोलनका सिद्धान्तकार हुन् । राजनीतिमा धेरैले उनलाई एक्लो पारे, कहिले आफैं एक्लै रहे । पुष्पलाल नेपालमा नयाँ जनवादको नारा दिने पहिलो कम्युनिस्ट नेता हुन् । नेपाली समाजका ऐतिहासिक सर्वेक्षक पुष्पलाल क्रान्तिको दिशानिर्देश गर्ने विचारक पनि हुन् । ऐतिहासिक भौतिकवादी चिन्तक पनि हुन् । माक्र्सवादी इतिहासकार पनि हुन् । सारमा, उनी नेपाली कम्युनिस्ट आन्दोलनका सिद्धान्तकार हुन् । वीपी कोइरालाले बाँचुन्जेल नेपाली कांग्रेसलाई मात्र केन्द्रमा राखेर सोचे र पछिल्लो कालमा राजासँग मेलमिलापको नीतिलाई जोड दिए । राजासँगको लडाइँमा भारतले गम्भीर धोका दिएर अप्ठ्यारोमा पारेपछि र भारतीय स्वार्थका लागि राजासँग भारतले मोलमोलाइ गर्न थालेपछि कोइराला २०३३ सालमा भारतबाट नेपाल फर्के र मेलमिलापको नीतिमा जोड दिन थाले ।
उनको स्वदेश आगमन नेपाली राजनीति र नेपालको लोकतान्त्रिक आन्दोलनका लागि सकारात्मक एवम् महत्वपूर्ण घटना थियो । दलहरू प्रतिबन्धित रहेको बेला उनले संंवैधानिक राजतन्त्र र मेलमिलापको नारा दिनु त्यस बखतको परिस्थिति ध्यानमा राख्दा कार्यनीतिक रूपमा ठीकै पनि देखिन्छ । २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको जन्म गराउने प्रमुख नेता पुष्पलाल थिए । उनले नेकपाको स्थापना मात्रै गरेर छाडिदिएको भए नेपाली कम्युनिस्ट आन्दोलनले नेपालको राजनीतिक इतिहासमा यति धेरै महत्व र शक्ति प्राप्त गर्ने थिएन । पुष्पलालले नेकपालाई सङ्गठनात्मक स्वरूपका साथ अगाडि बढाउने विषयमा पनि सर्वाधिक महत्वपूर्ण योगदान गरेका थिए । उनले राष्ट्रियता खतरामा छ, त्यसैले राजा र प्रजातान्त्रिक शक्ति मिल्नुपर्छ भन्ने जोड बाँचुन्जेल दिइरहे । तर, राजा महेन्द्र र वीरेन्द्रले आफ्नो अलोकतान्त्रिक र निरङ्कुश शक्ति घटाएर लोकतन्त्रलाई ठाउँ दिन चाहेनन् । २०४६ सालमा आन्दोलनले बाध्य बनाएपछि मात्र वीरेन्द्र दलहरू माथिको प्रतिबन्ध हटाउन राजी भए । त्यसबेला पुष्पलालको निधन भएको ११ वर्ष र वीपी कोइराला दिवङ्गत भएकै सात वर्ष भइसकेको थियो । वीपी र पुष्पलाललाई बुझेर उनका विचारको अद्यावधिक गर्ने, सामयिकीकरण गर्ने अर्थात् आजको परिस्थिति र सन्दर्भमा उनीहरूका मूल्य–मान्यताबारे व्यापक छलफल चलाउने अनि उनीहरूका विचारलाई व्यवहारमा कार्यान्वयन गर्दै जानु नेपाली कांग्रेस र कम्युनिस्टहरूको कर्तव्य हो । दुबैप्रति उच्च सम्मान र हार्दिक श्रद्धाञ्जली !