सहकारीहरु यसरी भए असुरक्षित

0
93

हालका दिनमा सहकारीको सुरक्षा चुनौतिपूर्ण बनिरहेको हल्ला सुनिन्छ । सुरक्षा तर कस्तो सुरक्षा ? के सहकारी तोडफोड भइरहेको छ ? सहकारीमा हातहतियार या गोली चलेको छ ? कुटाकुट या मारपिट भएको छ ? जम्मा भएको बचत भल्टबाट चोरिएको छ ? खातापाता या सफ्टवेयर चोरी, नष्ट, नष्ट ह्याक गरिएका छन् ? सहकारीकर्मीहरु अपहरणमा परेका छन् ? तर, यी कुनै पनि भएका छैनन् अनि कसरी सहकारी असुरक्षित भएको हो त ?

खासमा सहकारीमाथि भौतिक क्षति भएरभन्दा पनि सदस्यहरुको बचत रकम सहकारी कै पदाधिकारी र कर्मचारीहरुले मिलेमतो गरी मनमानी हिनामिना, अपचलन गर्नुलाई असुरक्षा मानिँदै आएको छ । आन्तरिक कारणबाट नै सहकारी असुरक्षित भएका देखिएका छन् । हालका दिनमा देशभरका १५ वटा सहकारीहरुलाई समस्याग्रस्त मानिएको छ । ती संस्थाका १२ अर्ब ९९ करोड ६४ लाख रुपैयाँ बराबरको बचत अपचलन भएको एक अध्ययनले जनाएको छ । सदस्यहरुको बचत हिनामिना गर्ने सहकारी सञ्चालक र कर्मचारीहरु नै भएका बताइएको छ । यस्तो अवस्थालाई सहकारीको सुरक्षासँग जोडिएको छ । कारण सदस्यहरुको बचतको सुरक्षा भएन । सहकारी आफैका कारण सहकारीहरु असुरक्षित भइरहेका रहेछन् । बाह्य कारणले होइनन् ।

नेपालको संविधान २०७२ ले सहकारीलाई नेपालको अर्थतन्त्रको एक खम्बा मानेको छ, तर खम्बा मक्किँदै छ । के पनि भनिँदैछ भने पालिकाको अधिनमा रहेका धेरै सहकारीहरुभित्र समस्या खडा भएका छन् । यो त निकै अहम् प्रश्न भयो पालिकाहरुका लागि । निश्चय पनि २०४६ सालपछि सहकारीमा उछाल आएको छ । अनि यो पनि भनिन्छ कि सहकारीहरुमा कुनै एक राजनीति पार्टीका धेरै मान्छेहरु सामेल छन् र उनीहरु कै हाली–मुहाली छ । राष्ट्रिय सहकारी विकास बोर्ड, सहकारी संघ, नेपाल सहकारी विकास बैंक लगायतमा उही राजनीतिक पार्टीका धेरै मान्छेहरु सामेल छन् भनिन्छ । उनीहरुका कारण पनि सहकारीमा केही हदसम्म सुरक्षा थे्रट बढेको मानिन्छ । खासमा सहकारीका सञ्चालकहरुबाटै सहकारी डुब्ने अवस्था आएको छ । विकृतिका बीऊ सञ्चालकहरु नै भए ।

ग्रामीण अर्थतन्त्र बलियो बनाउन आएको सहकारीहरुले ग्रामीण अर्थतन्त्रलाई नै धरापमा पार्न थालेका छन् । सिद्धान्त अनुसार सहकारी नाफामुखी संस्था होइन, तर जति नाफा आयो नाफा जति केही सीमित व्यक्तिहरुले झ्वाम् पारिदिन सक्ने भए । पैसाका हिसाबले ठूला सहकारी केही चम्पट ठोकेका छन् । सहकारी संस्था सदस्यहरुका सेवामा दत्तचित्त रहनुपर्छ भन्ने मान्यताले काम गर्न छाडेको धेरै भयो । सदस्य बाहेक र तोकिएको क्षेत्रभन्दा बाहिर लगानी गर्न नपाइने नियमलाई नटेरी ठूलो रकम लगानी भएका छन् । ती रकम फर्केर आउने सम्भावना कम छ । जानकारहरु भन्छन् त्यसैले सहकारीहरु असुरक्षित छन् ।

इजरायल सहकारीबाटै समृद्ध बनेको मुलुक हो । नेपाल पनि त्यसरी नै समृद्ध बन्ला भनेर २०१५ सालमा इजराइली मोडल नेपाल भित्र्याइएको थियो । तर, आज आएर केही सहकारी त नतैरिने गरी डुबिसकेका छन् । यस्तै अवस्था रहिरह्यो भने अधिकांश डुब्न सक्ने अवस्था देखिदैछ । सहकारीले समुदायलाई जोडछ भनिन्छ, तर आजको अवस्था हेर्दा तोडिएको पो देखिन्छ । अनि सदस्यहरुको आर्थिक उन्नति हुन्छ भनिन्छ, तर आर्थिक दुर्गति पो हुँदो छ । हामीले सहकारी जानेनांै कि ? जानेर पनि यसका छिद्र पक्डेर नरिबल बनायौँ ? सोचनीय विषय छ । सहकारी शिक्षाले मानिसहरुलाई असल बनाउँछ भनिन्छ । तर, यहाँ त धेरै विकृत प्रवृत्तिका पो देखापर्दा छन् । सहकारी अभियन्ताहरुलाई कस्तो लाग्दो होला ? खुल्दुली योग्य विषय भएन र ?

सहकारी एक आदर्श अभियान हो र सहकारी स्वायत्त संगठन हो, जसमा सदस्यहरु समान आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय आवश्यकता र आकांक्षा पूर्तिका लागि लोकतान्त्रिक विधिबाट सञ्चालित भएका हुन्छन् । सदस्यहरु सहकारीका आफै उपभोक्ता, आफै मालिक, आफूबीचबाटै सञ्चालक छनौट गर्दछन् । लेखा सुपरिवेक्षण समितिमा पनि आफै नै रहन्छन् । आफैले बनाएका विनियम, नीति, कार्यविधि र स्वनियम अनुसार संस्था सञ्चालन गर्दछन् । सायद यै सजिलो नियमका कारण आज सञ्चालकहरु बलिया मात्र होइन शेयर रकम र बचत मनोमानीसँग अपचलन गर्न सक्नेसम्मका भएका हुन् कि ?

अन्तर्राष्ट्रिय मान्यता यो छ कि, सदस्यहरुले सहकारी संस्थाको सेवाको उपभोग गर्दछन् र सहकारीप्रतिको दायित्व पनि पूरा गर्दछन् । यहाँ त के भयो भने, सञ्चालकहरुले सहकारीबाट सेवा पनि नलिने बचत चाहिँ अपचलन गर्ने तर दायित्व पनि पूरा नगर्ने खालका हुँदै आएका पाइन्छन् । यिनीहरुले यी दुईवटै कर्तव्य भुल्न थोलेका पाइन्छन् । त्यसैले सहकारीहरु असुरक्षित हुन थालेका हुन् । सहकारीलाई सुरक्षा थे्रट दिन बाहिरका मानिसहरु कहाँ आएका हुन् र ? सहकारीभित्रैका मानिसहरुले सुरक्षा थे्रट सृजना गरेका हुन्, जानकारहरुको भनाइ यस्तै छ । सञ्चालक, कर्मचारीहरु खराब भएपछि निर्जिव सहकारी संस्थाको के दैया चलोस् ।

सन् २०३० सम्ममा सबै सहकारी संघ–संस्था प्रविधिमैत्री भइसक्ने छन् भन्ने राष्ट्रिय सहकारी संघ नेपालले कार्य योजना बनाएको पढ्न पाइन्छ । अनि फेरी सहकारी संघ–संस्थाको संख्या घटाएर १० हजारमा झार्ने योजना समेत अभियानले लिएको पाइन्छ । नेपालका सहकारीहरुको बिग्रँदो हालतबीच कसरी यी काम पूरा गर्न सक्दो हो संघले ? प्रविधिकै दुरुपयोग गरी बचत अपचलन भएका भनिन्छन् ।
प्रविधि कसरी बलियो बनाउन सकिएला ? संख्या कम हुँदैमा समस्या समाधान हुने होइन । सहकारी लघुवित्त या बैंक जस्तो होइन । एक क्षेत्रमा अर्को क्षेत्रको सहकारी आएर हुन्छ र ? जुन ठाउँ हो त्यहीँका बासिन्दाले गठन गरेको सहकारी हुनु राम्रो । अपनत्व हुन्छ । सहकारी राम्रो बनाउन त प्रणाली भरपर्दो हुनुपर्छ होला । जसलाई कसैले पनि तोड्न नसकोस् ।

अर्कातिर सहकारी अभियन्ता या आन्दोलनकर्मी या विज्ञहरुले विभिन्न माध्यममा गतिलै सुझाव दिएका पाइन्छन् । तर, ती सुझाव या उपायहरु आदर्श वाक्यहरुमात्र लाग्दछन् । सहकारी सुरक्षित बनाउने उपाय नहुने भन्ने छैन । धेरै सहकारी त स्थानीय तह मार्फत आइसकेका छन् । प्रदेश या संघ मातहतकै सहकारी भएपनि आखिर सदस्य, कर्मचारी, सञ्चालक र ऋणीहरु कुनै न कुनै पालिका कै बासिन्दा हुन्छन् ।

बरु पालिकाहरुले डिफल्ट सदस्य, कर्मचारी, सञ्चालक र ऋणीलाई पालिकाबाट दिइने सेवा ठप्प पारिदिनु हो भने सहकारी छिटै नै सुरक्षित हुँदै आउँछन् । एउटा उदाहरण लिऔँ, लघुवित्त, वित्तीय कम्पनी र बैंकहरुलाई नियमन गरेर ट्रयाकमा राख्न एउटै राष्ट्र बैंक काफी छ । हो यस्तै अधिकार सम्पन्न एउटा नियामक निकाय पो चाहिन्छ कि ? जसले भनेको जुन कुनै सहकारीले मान्नै परोस् । गलत गरे कारवाहीको भागिदार बन्नै परोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here