‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’

0
8
काठमाडौँ,
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा वर्तमान सरकार गठन भएपछि जनतामा आशा र उत्साहको सन्देश प्रवाह भएको विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरुले प्रतिक्रिया दिनुभएको छ ।
प्रतिनिधिसभाबाट  प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँहरुले वर्तमान राज्यसत्तामा सरकारको राम्रो पकड भएकाले राष्ट्रियता, आर्थिक अनुशासन कायम र सुशासन प्रवर्द्धन  गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
एमालेका नेता योगेशकुमार भट्टराईले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमति तथा अरु दलको सहयोग र समर्थनमा बनेको वर्तमान सरकारका अगाडि अर्थतन्त्रलाई सकरात्मक दिशा दिने, लगानीको वातावरण बनाउने र रोजगारीको अवसर बढाउने ऐतिहासिक कार्यभार र दायित्व रहेको बताउनुभयो ।
विदेश पलायन भएका जनशक्तिलाई देशभित्रै रहने वातावरण बनाउनेलगायतका केही मुख्य जिम्मेवारी रहेको बताउँदै उहाँले भन्नुभयो, “असाधारण ढङ्गले असाधारण काम गर्नका लागि हामी एक ठाउँमा आएका हौँ ।”
नेता भट्टराईले देशभित्र जनतामा आत्मविश्वास बढाउने, दलकाबीचमा सहमति निर्माण गर्ने गरी संविधानको पुनरावलोकन र समिक्षा  गर्दै  आवश्यक परेमा संशोधन समेत गर्ने समेत दायित्व रहेको बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले आजको वर्तमान परिस्थितीलाई ध्यानमा राखी मुलुक र जनहितमा उठेको प्रश्न र  समस्या समाधान गर्नेतर्फ नयाँ सरकारको ध्यान जान आवश्यक रहेको प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो, “विश्वासको मत लिने सिलसिलामा सदनमा आफूले राखेका कुरालाई सम्बोधन गरी सबैलाई विश्वासमा लिएर अघि बढने विषयलाई ख्याल गर्नूपर्छ । भ्रष्टाचार नियन्त्रण र सुशासनमा जोड दिनुपर्छ ।”
नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकमा राजनीतिक अस्थिरता हटाउन साना दलको समेत सहभागितामा गठन भएका सरकारमा लोकतन्त्रप्रतिको गहिरो सम्मान र  प्रतिबद्धता रहेको प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो, “मुलुकमा लोकतन्त्र स्थापनाका लागि जतिपनि भएका आन्दोलनको नेतृत्व गरेको राजनीतिक परिवर्तन आन्दोलनको नेतृत्व गरेका प्रमुख दलबीचको सहकार्यले राजनीतिक स्थिरता, विकास र समृद्धिमा गुणात्मक अन्तर आउँछ ।”
नयाँ सरकार गठन भएसँगै अर्थतन्त्र चलायमान हुने तथा निजी क्षेत्रको आत्मविश्वास बढ्ने सङ्केत देखिएको बताउँदै नेता महतले भन्नुभयो, “वर्तमान सरकार सफल हुन्छ । चुनौती धेरै छन्, त्यसलाई पन्छ्याउन धेरै मेहनत र समन्वयका साथ काम गर्नुपर्छ अनि जनताको आशा विश्वासमा परिणत हुन्छ ।”
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का नेत्री एवमं पूर्वमन्त्री रेखा शर्माले सरकारले गर्ने कामको गुण र दोषका आधारमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पश्चगमनमा जाने कुरालाई समर्थन गर्दैनौ । त्यसको डटेर मुकाबिला गर्छौ । सकारात्मक काममा रचनात्मक सहयोग गर्छौ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here