आज साउन ७ गते ४६औं पुष्पलाल स्मृति दिवस । पुष्पलाल श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता । उनी नेपालको प्रजातान्त्रिक आन्दोलनका मुख्य हस्ती हुन् । नेपाली राजनीति र विशेषगरी वाम राजनीति उनकै विचारबाट आजपर्यन्त अनुप्राणित छ । उनी नेपालको समग्र वाम आन्दोलनको आदर्श बनेका छन् । नेकपा पुष्पलालको मथिङ्गलको उपज थियो । २००६ सालमा भारतको कोलकातामा कम्युनिष्ट पार्टीको स्थापना गर्दा समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य पुष्पलालले लिएका थिए । उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव थिए । पुष्पलालको जन्म भक्तलाल र तुलसीकुमारीको माइला छोराका रूपमा भएको थियो । पुष्पलालका एक दाजु गङ्गालाल, तीन भाइ गौरीलाल, देवीलाल, विजयलाल श्रेष्ठ एवम् बहिनी पुष्पलता हुन् ।
१९९७ सालमा आफ्ना दाजु शहीद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एक दिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्’ –भनेका थिए र दाजुको यही शब्द नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको स्रोत बनेको भनाइ छ । वि.सं. १९८१ असार १५ मा पूर्व २ नं. रामेछापमा जन्मिएका श्रेष्ठ वैचारिक रुपले सशक्त र प्रेरणादायी नेताका रुपमा परिचित छन् । श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्तिको आवश्यकता अझै पनि उत्तिकै महत्वपूर्ण रहेको छ । उनको नेपालको वामपन्थी तथा प्रजातान्त्रिक आन्दोलनमा ठूलो भूमिका रहेको छ । पुष्पलाल लगायतका संस्थापक नेताहरुले जन्माएको कम्युनिस्ट पार्टीभित्रै फुट र विभाजन यति धेरै भएका छन् । जसको अन्दाज सायद पुष्पलालले पार्टी स्थापना गर्दा गरेका थिएनन् । यो फुटको श्रृङ्खला पार्टी स्थापना भएको ११ वर्षपछि शुरु भएको थियो र जारी छन् टुटफुट, अनि एकता र फेरि विभाजन ।
‘कम्युनिस्ट मेनिफेस्टो’ (कम्युनिस्ट घोषणापत्र)को पहिलो नेपाली रूपान्तरण गर्ने श्रेय पनि पुष्पलाललाई नै जान्छ । उक्त रूपान्तरित प्रतिको भूमिकामा ‘केही कुरा’ शीर्षक दिएर लेखिएको थियो– ‘विश्व मजदुर आन्दोलनलाई सही बाटो देखाउने शक्ति र साहस प्रदान गर्ने यस घोषणापत्रलाई नेपाली भाषामा प्रकाशित गरी नेपाली मजदुर वर्गको आन्दोलनलाई सही बाटो लैजान अत्यन्त आवश्यक भएको हुनाले मैले यस घोषणापत्रलाई यथासक्य परिश्रम गरी नेपाली भाषामा उल्था गरी नेपालको सम्मान राखेको छु ।’ यो माक्र्सवादी चेतना र साहित्यको थालनी थियो । पुष्पलाल राजनीतिज्ञ मात्र थिएनन् अपितु इतिहास, समाजशास्त्र, मानवशास्त्रले ओतप्रोत भएका लेखहरू लेख्न सक्ने एक अध्ययनशील लेखक पनि थिए ।
राजनीतिमा लाग्ने प्रेरणा चाहिँ उनले दाजु गंगालाल श्रेष्ठबाट पाएका थिए । गंगालाल श्रेष्ठ राजनीतिप्रति आकृष्ट भएकाले साथीहरूसँग उनी देश–विदेशका राजनीतिक घटनाक्रमबारे चर्चा गर्ने गर्थे । एक पटक गंगालालले साथीहरूसँग कुरा गर्दा ‘रुसमा ईश्वरको अस्तित्व छैन र त्यहाँ भोकानांगा छैनन्’ भनेको सुने । उनले रुसबारे पहिलो पटक दाजुकै मुखबाट सुने । दाजुको कुराले उनमा रुसी समाज तथा राजनीतिबारे कौतुहल जगायो । त्यसपछि उनी राजनीतिबारे चर्चा हुने छलफलमा भाग लिन थाले । यसरी उनी कम्युनिस्ट आन्दोलनप्रति आकर्षित भए ।
वि.सं. १९९७ मा राणा शाहीले राजनीतिक स्वतन्त्रता माग गर्ने चारजना युवकको हत्या गरे । हत्या हुनेमा पुष्पलालका दाजु गंगालाल पनि थिए । हत्या हुनुअघि सदर जेलमा राखिएका दाजु गंगालालसँग पुष्पलालले अन्तिम पटक भेट गरे । त्यतिबेला गंगालाल दुई छोराका बाबु र तरुनी श्रीमतीका पति २२ वर्षका लक्का जवान थिए । उनले माफी मागे ज्यान सजाय मिनाह गरी दिने वचन राणा शाहीले दिएको थियो । माफी माग्न उनलाई परिवारका सदस्य लगायतले दबाब पनि दिएका थिए । तर, उनले माफी माग्नुभन्दा शहीद बन्न मञ्जुर गरे । राजनीतिक आस्थाप्रति दाजुको यस्तो चट्टानी दृढताले पुष्पलाललाई राजनीतिप्रति अझ दृढ भएर लाग्न र राणा शाहीको जरो उखेल्न प्रेरित ग¥यो । शहीद गंगालालको भाइ हुनुले पुष्पलालको राजनीतिक जीवनमा लाभ पु¥यायो । गंगालालको भाइ भनी कसैले आफूलाई चिनाउँदा पार्टीका अन्य सदस्य तथा नेताहरूको ध्यान आफूप्रति आकर्षित हुने गरेको र उनीहरूले आफूसँग मन खोलेर कुरा गर्ने गरेको पुष्पलालले उल्लेख गरेका छन् ।
पुष्पलाल देशभक्त क्रान्तिकारी थिए, उनी नेपाली स्वाभिमान र स्वतन्त्रताप्रति अति संवेदनशील थिए । अन्तर्राष्ट्रवादमा विश्वास गर्ने कम्युनिस्ट हुँदाहुँदै पनि उनी हरेक कम्युनिस्ट क्रान्तिकारीमा राष्ट्रिय चरित्र हुनुपर्छ भन्ने मान्यता राख्थे । उनले भनेका थिए– ‘प्रत्येक देशका क्रान्तिकारीहरू प्रथमतः राष्ट्रमुखी हुनु पर्दछ । त्यसै भएको खण्डमा मात्र पार्टीले आफ्नो राष्ट्रिय कर्तव्य निभाउन सक्नेछ ।’ भारतको नेपालप्रतिको हेपाहा नीति र नेपालको स्वतन्त्र अस्तित्व नमान्ने प्रवृत्तिको उनी प्रखर आलोचक थिए । समाजको विश्लेषण गर्दा र राजनीतिक कार्यक्रम तय गर्दा साम्प्रदायिकताको गन्ध लेसमात्र पनि आउनु हुँदैन भन्ने उनको स्पष्ट विचार थियो । पुष्पलालले आफू नेवारबाट नेपालीमा परिणत भई माक्र्सवादतिर लागेको व्यक्ति भएकाले जातिवादी र साम्प्रदायिकता बिथोल्ने कुराप्रति घृणा जागेको लेखेका छन् । वर्गीय राजनीति गर्न नसक्नेले साम्प्रदायिक नारा उराल्छ भन्ने उनको विचार थियो ।
२००६ साल बैशाख १० गते (१९४९ अप्रिल २२) का दिन भूमिगत तवरले भारतको कोलकातास्थित श्यामबजार टोलस्थित एक घरमा कमरेड पुष्पलालको नेतृत्वमा नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, निरन्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठ (दुर्गादेवी)ले नेपाल कम्युनिस्ट पार्टी स्थापना गरिएको थियो । तत्कालीन सामन्ती–जहाँनिया राणा शासनको दबदबा भएको बखत राजनीतिक गतिविधि गर्न प्रतिबन्ध भएको अवस्थामा सामन्ती सत्तालाई अन्त्य गरी नयाँ जनवादी सत्ता स्थापना गर्ने उद्देश्यका साथ कमरेड पुष्पलालको अदम्य साहस र वैचारिक दृष्टिकोणको प्रकाशमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । पार्टी स्थापना लगत्तै प्रकाशित पहिलो पर्चामा मजदुर, किसान र श्रमजीवी जनताको राज्य व्यवस्था स्थापना गर्ने, राणासँग सम्झौता होइन क्रान्ति गर्ने, सामन्ती शासन व्यवस्थाको उन्मूलन गर्दै बेलायती, अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पूँजीवादको शोषण उत्पीडनबाट देशलाई मुक्त बनाउँदै नेपालमा नयाँ जनवाद स्थापना गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरिएको उल्लेख गरिएको थियो ।
पार्टी स्थापनाको चार महिनापश्चात २००६ भाद्र ३० तदनुसार १५ सेप्टेम्बर १९४९ मा जारी घोषणापत्रमा विद्यमान सामन्ती व्यवस्था र नेपाल माथिको साम्राज्यवादी शोषणलाई पुरै खत्तम गर्ने, मजदुर वर्गको नेतृत्वमा जनताको जनवादी राज्य स्थापना गर्ने, वालिग मताधिकारको आधारमा संविधान निर्माण गर्ने, सर्वसाधारण जनतालाई विचार, राजनीतिक पार्टी, कार्यक्रम रोज्ने अधिकारसहित पूर्ण स्वतन्त्रता तथा अधिकारको प्रत्याभूति गर्ने र नेपाली जनतालाई आधारभूत आर्थिक अधिकारको ग्यारेन्टी गर्ने प्रतिबद्धता उल्लेख गरिएको थियो । नेपालमा लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिकता लगायतका राजनीतिक उपलब्धि प्राप्त गर्न नेपाली कम्युनिष्टहरुले ६ दशकभन्दा बढी समयदेखि सञ्चालन गरेको सामन्तवाद विरोधी राजनीतिक आन्दोलनले सफलता मिलेको हो । कम्युनिस्ट आन्दोलनको थालनीसँगै नेपाली समाजमा विकास भएको माक्र्सवादी चेतनाको लहरले जनसमुदायमा सामाजिक परिवर्तनप्रतिको चासो र सरोकार बढेर गएको छ । लाखौंलाख जनसमुदायहरु कम्युनिस्ट पार्टी र जनसङ्गठनमा सङ्गठित भएका छन् । हाल नेपालमा झण्डै दुईतिहाइ जनमत वामपन्थी शक्तिप्रति आकर्षित भएको छ । यी महŒवपूर्ण उपलब्धि हुन् र यी सबै उपलब्धिका पछि मुख्य हात पुष्पलालका विचारहरूको रहेको छ ।
राजा महेन्द्रबाट २०१७ साल पुस १ गते बहुदलीय व्यवस्थाको अपहरण गरिएपछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिस्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गरे । नेपाली कांग्रेस र कम्युनिस्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरङ्कुश पञ्चायती व्यवस्था समाप्त हुन सक्छ भनी २०२५ सालमै भविष्यवाणी गर्ने नेता पुष्पलालको विश्लेषण अन्त्यमा सही सावित भयो । उनी आन्दोलनकारी शक्तिहरूलाई राजतन्त्रबिरुद्ध गोलबन्द गर्न चाहन्थे र यसका लागि मूलतः नेपालको वामशक्ति तथा प्रजातान्त्रिक शक्तिबीच कार्यगत एकता हुनुपर्छ भन्ने मान्यता राख्थे ।
यस्तो प्रस्ताव राख्दा उनलाई ‘गद्दार पुष्पलाल’ भनी कम्युनिस्टबाटै आरोप पनि लाग्यो । उनी संयुक्त जनआन्दोलनको आवश्यकता र औचित्य पुष्टि गर्न अहोरात्र लागे । तर, कम्युनिष्टका कट्टर अन्धविरोधी बीपीले पुष्पलालको प्रस्ताव स्वीकारेन् । वाम र प्रजातान्त्रिक शक्तिलाई एकअर्काबिरुद्ध प्रयोग गरेर पञ्चायती व्यवस्थाको आयु लम्ब्याउने मौका राजदरबारले पायो । वीपीको मृत्युपछि मात्र नेकाका सर्वमान्य नेता गणेशमान सिंह नेकपा मालेका महासचिव मदन भण्डारीको परिपक्व र सुझबुझपूर्ण निर्णयले यी दुई शक्तिबीच कार्यगत एकता भयो र यसले नेपालमा प्रजातन्त्र पुनःस्थापनालाई सम्भव तुल्यायो । अन्ततः समयले पुष्पलालको मान्यतालाई सही साबित गरिदियो । कम्युनिस्टसँग सहकार्य नगर्ने बीपीको हठ अव्यावहारिक ठहरियो ।
भारतको बनारसमा निर्वासनमा रहँदा पुष्पलालले धेरै दुःख व्यहोर्नुप¥यो । २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीमा उनले उपचारकै क्रममा भौतिक रूपमा बिदा लिए । उनी हामीवीच छैनन्, तथापि उनको विचार र दर्शन मुलुक र जनताकै निधि र धरोहरको रूपमा चिरकालसम्म रहिरहनेछ । देश र जनताप्रति समर्पित, बहुदलीय लोकतन्त्रप्रति बफादार, सिद्धान्तनिष्ठ, अनुशासित र सङ्घर्षशील व्यक्तित्व पुष्पलालबाट कोरिएको मार्गचित्रबाट नयाँ नेपाल निर्माण गर्नेतर्फ अग्रसर हुन नेपालका कम्युनिस्टहरूलाई प्रेरणा मिल्छ भन्ने विश्वास गर्न सकिन्छ । शारीरिक रूपमा पुष्पलाल लेनिन जस्तै होचा कदका तर विचार र कार्यक्षमताका दृष्टिबाट बडो अग्ला व्यक्तित्व थिए । पुष्पलाल सदा साम्यवादी विचारप्रति प्रतिबद्ध नेपाली राजनीतिका शिखर व्यक्तित्व हुन् ।