काभ्रेमा रोकिएन प्रतिबन्धित लागूऔषध तस्करी

0
9

काभ्रेपलाञ्चोक,

बनेपा नगरपालिका–७ उग्रेश्वरबाट प्रहरीले यही साउन १ गते लागुऔषध बोकेर हिँडेका २५ वर्षीय कान्छामान तामाङलाई प्रहरीले पक्राउ गर्यो । सुराकका आधारमा पक्रिएका तेमाल गाउँपालिका–७ का तामाङको साथबाट प्रहरीले एक सय ५७ ट्याब्लेट नाइट्राभेट नामक प्रतिबन्धित लागुऔषध बरामद गरेको थियो ।

तत्काल प्रहरीले उनको बनेपास्थित डेरामा खानतलासी गर्दा एक सय ३५ ट्याब्लेट नाइट्राभेट फेला पार्यो । इलाका प्रहरी कार्यालय बनेपाले तामाङलाई काभ्रे जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइहेको जनायो । साथै, तामाङसहितका लागुऔषध ओसारपसार गर्ने तथा प्रयोगकर्ताको खोजीकार्य भइरहेको इप्रका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो ।

यसअघि गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय काभे्रमा लागुऔषधका १५ मुद्दा दर्ता भएका छन् । सेवनका आठ र ओसारपसारका सात मुद्दामा ३२ जना संलग्न रहेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९÷८० मा सात मुद्दा दर्ता भएका थिए । अठारदेखि २५ वर्ष उमेर समूहका १२ पुरुष, २६ देखि ३५ उमेर समूहका १५ पुरुष, ३६ देखि ४५ उमेर समूहका दुई पुरुष र ४६ देखि ५९ उमेर समूहका दुई पुरुष र एक महिलालाई लागुऔषध सेवन तथा ओसारपसारमा मुद्दा चलाइएको छ ।

कार्यालयका अनुसार प्रहरीले हालसम्म लागुऔषध ओसारपसारका क्रममा तीन सय २५ किलो गाँजा र ३८ ग्राम खेरो हिरोइन बरामद गरेको छ । यस्तै सेवनका क्रममा डाइजिपाम चार एम्पुल, नोफिन तीन एम्पुल, फेनारगन दुई एम्पुल, नाइट्राभेट आठ सय दुई ट्याब्लेट, कोरेक्स तीन बोतल बरामद गरेको प्रहरीले जनाएको छ ।

बितेको आवमा २० हजार गाँजाका बोट फडानी गरिएको छ भने विभिन्न स्थानमा २० पटक गरेर पाँच सय ८३ जनालाई सचेतना कार्यक्रम गरिएको जनाइएको छ । गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागुऔषध नेपालको कानुनद्वारा निषेधित हो भने सुर्तिजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागुपदार्थ हो ।

घटनाक्रमले सुराकका आधारमा मात्रै प्रहरीले जाँच गर्ने र लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने गरेको देखाएको छ । साथै, बिपी राजमार्गबाट अधिकांश रूपमा लागुऔषध ओसारपसार हुने गरेको देखिएको हो । काभ्रेलगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागुऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने जिल्लास्थित प्रहरीको तथ्याङ्कबाट देखिन्छ ।

पक्राउ परेकामध्ये पनि अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिँदै आएको प्रहरीले जनायो । प्रहरीको अनुसन्धानले विशेषगरी ‘टिनएजर्स’ यसको तस्करी र प्रयोकर्ताका रूपमा देखिएको सुवेदी बताउनुहुन्छ । घटना विवरणअनुसार तराई क्षेत्रबाट बिपी राजमार्ग हुँदै लागुऔषध तस्करी भई लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेको बनेपालाई बनाएको देखिन्छ ।

यसैबीच काभ्रेमा लागुऔषध प्रयोग बढ्दो क्रममा रहेको पाइएपछि प्रहरीले यसविरुद्ध अभियान सञ्चालन गरिने जनाएको छ । जिल्लास्थित प्रशासन कार्यालय र प्रहरी कार्यालयले सरोकार भएकाहरूसँग समन्वय गरी जिल्लाभर सचेतना तथा नियन्त्रणसम्बन्धी अभियान चलाइने भएको खड्काले बताउनुभयो ।

उहाँका अनुसार लागुऔषध सेवन तथा ओसारपसार नियन्त्रणका गर्न सूचना महत्त्वपूर्ण हुने भएकाले परिवार वा समुदाय नै सचेत भए यसको नियन्त्रण सम्भव देखिन्छ । लागुऔषध प्रयोगकर्ता कम उमेरका अर्थात् युवा–विद्यार्थी पाइएपछि यसको कुलतमा फसेर जीवन बर्बाद हुने भएकाले परिवार र शिक्षकलाई सचेतना गरिने भएको हो ।

यस्तै अभियानका क्रममा लागुऔषध प्रयोगकर्ता र ओसारपसारमा संलग्नबारे ‘सुराकी’ र सूचना प्रदान गर्न अपिल गरिएको छ । “नाकाहरूमा लागुऔषध आपूर्ति नियन्त्रण गर्न सुरक्षा–जाँचमा कडाइ गरिएको छ”, प्रहरी प्रमुख खड्काले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here