सतासी १४औं वर्षमाः सत्य–तथ्य समाचार मात्र सम्प्रेषणमा जोड

0
57

कमल ।

झापाको शिवसताक्षी–८ झिलझिलेबाट प्रकाशन हुँदै आएको साप्ताहिक सतासी खबर पत्रीकाले मंगलवार १४औं वार्षिकोत्सव मनाएको छ ।

२०७६ साउन ८ गतेबाट साताको सोमबार प्रकाशन हुँदै आएको सतासी पत्रिकाले १३औं वर्ष पुरागरेर १४औं वर्षमा प्रवेश गरेको अवसरमा झिलझिले स्थित कार्यालयमा बार्षिकोत्सव मनाएको हो ।

शिवसताक्षी नगर प्रमुख मेघाहाङ (रोशन थोप्रा) ले कार्यक्रममा १४औ बार्षिकोत्सवको ब्यानर बाचन गर्नुका साथै केक काटेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख थोप्राले नगरको एक मात्र छापा संस्थालाई टिकाइ राख्न आवस्यक सहयोग गर्दै आएको र त्यस सहयोगलाई आागमी दिनमा समेत निरन्तरता दिने बताए । नगर प्रमुख थोप्राले पत्रिकाले नगरमा सम्पन्न भएका र आयोजना हुने कार्यक्रमका बारेमा सत्य–तथ्य समाचार मात्र सम्प्रेषण गर्न समेत आग्रह गरेका थिए ।

कार्यक्रममा पत्रकार महासघ झापाका अध्यक्ष एकराज गिरीले निष्पक्ष, भयरहित र स्वतन्त्र रहँदै समाजमा घटेका विसंगति, कुरुति र विकृतिको भण्डाफोर गर्दै समाजलाई दिशाबोध गर्दै आएको पत्रिकाको थप सफलताको शुभकामना व्यक्त गरेका थिए ।

पूर्वनगर प्रमुख चन्द्र शेर्माले समाजमा अमनचयन, शान्ति, सुरक्षा र सुशासन कायम राख्न यसले सन्तुलित भूमिका निर्वाह गर्दै आइरहेको पत्रिकालाई शुभेच्छा व्यक्त गरे । शेर्माले प्रेस स्वतन्त्रताको प्रत्याभूति र ग्यारेन्टी गर्न पत्रिकाले खेलेको भूमिका पनि उतिकै दर्विलो भएको समेत बताए ।

कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का नेता, पत्रकार दिपिन राईले निकै कठिन यात्राहरु छिचोल्दै १४औं वर्षमा प्रवेश गर्दैगरेको सतासी साप्ताहिकले निरन्तरता पाइरहनु गौरवको विषय भएको बताए ।

स्थानीय युवाहरुको सक्रियतामा २०६८ सालदेखि तत्कालिन सतासीधामस्थित झिलझिलेबाट सतासी साप्ताहिक पत्रिका प्रकाशन सुरु गरेका थिए । कार्यक्रममा पत्रिकाका सस्थापक सम्पादक अनिलदेब राईले सतासी साप्ताहिकले सुविधाबाट बञ्चित ग्रामिण क्षेत्रका गतिविधिहरुलाई सुविधासहितका शहर बजारहरुसम्म खबरका रुपमा पुर्याउन पत्रिका प्रकाशन शुरु गरिएको बताए ।

राईले सतासीधाम लगायत स्थानीय गाविसहरुका कृषि उपजहरु, सामाजिक क्षेत्रका गतिविधिहरु, विकासका कार्यहरु, धार्मीक र पर्यटकीय प्रवर्दनका विषयमा सतासी साप्ताहिकले सवाल–जवाफहरु उठाउने उदेश्यसहित पत्रिका प्रकाशन सुरु भएको बताए ।

कार्यक्रमको सञ्चालन सेलिङ केसी र धन्यवाद मन्तव्य छबिलाल दवाडीले गरेका थिए । सो अवसरमा सभाको अध्यक्ष योगेन लावतीले पत्रीकालाई यहाँसम्म आइपुग्न भरपुर सहयोग गर्ने स्थानिय, प्रदेश र संघीय सरकारसहित विज्ञापनदाता र पाठकहरुलाई धन्यवाद दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here