कृषि व्यवसाय पहिले र अहिले

0
53

पहिले–पहिले यो देशलाई कृषि प्रधान देश नेपाल भनिन्थ्यो र भने जस्तै पनि थियो । पहिले र अहिलेमा केफरक छ सो केलाउने प्रयास गरौं भन्ने लागेर पाठक समक्ष आएको छु । वि.सं. २०१२/०१५ तिरको कुरा हो– त्यो बेलामा पहाडी भू–भागमा प्रशस्तै पशुपालन थियो र खेतीपाती गरिन्थ्यो । हिँउदयाम लाग्दा उँधौली पर्व तथा वर्षायाममा उँभौली पर्व अनुरूप गोठधुप गर्ने प्रचलन सबै जातजातिहरूमा चल्थ्यो र सामान्य त चल्दै आएको पनि छ, आ–आफ्नो तरिकाले उँभौली र उँधौली मनाइन्छ यी पर्वहरू ।

अन्न र पशुधनको रक्षार्थ गरिने यो कर्ममा पौराणिककता मात्र नभई यसमा वैज्ञानिकता पनि छ भन्न मन लाग्छ । हिमालतिर आ–आफ्ना खर्कमा रहेका ती गाई भैंसी÷भेडा च्याङ्ग्रा गोठ लेकबाट बेसीतिर झारिन्थ्यो र आ–आफ्ना खेतबारीको हिँउदेबाली उठाउँना साथ ती फाँटहरूमा चौपाया खुल्ला गरिन्थ्यो । उँधौलीको गोठधूप तथा उँधौली पर्वसँगै चौपाया र अन्नबालीको रक्षार्थ गर्ने यो प्रचलन युगौंदेखि चलिआएको पाइन्छ । हिँउदयाममा खाली खोल्सा रहेका जमिनमा वस्तुगोठ थला सारी–सारी खेतबारी मलिन्थो र अन्नबाली प्रशस्तै उब्जन्थ्यो । त्यो समयमा हिमाली भागमा हुर्किएका बडा–बडा ती माले–झुले गोरूहरू बेसीमा झरेर खुल्ला मैदान भेला हुँदा खुशी भएर हुक्राँ…हुक्राँ… गर्दै जुधेको रमाइलो हेर्दा बालापन त्यसै मन पुलकित हुन्थ्यो ।

त्यो समयमा लैना गाई भैंसीहरू प्रसस्तै हुन्थे एउटा गोठमा दैनिक साँझ–बिहान कम्तिमा पाँच पाथीका दरले दूध उत्पादन हुन्थ्यो र प्रत्येक दिनको दूध तताएर जमाएको दही दिनहँु मही पार्ने गरिन्थ्यो । दिनहँु धार्नीका दरले घिऊ उत्पादन हुन्थ्यो । उत्पादित घिऊ भारतका बजारमा निकासी गरेर जसको आयबाट लुगा कपडा नून–तेल, मर–मसला जस्ता घरायसी समस्या समाधान खरिद गरिन्थो । यता प्रत्येक गोठमा हुर्किएका हलगोरुले खेत जोतेर लगाएको फसल मुख्य धान, मकै, कोदो, फापर, जौ, गहुँ, तोरी, तथा कोसेबालीहरू मास, भटमास, बोडी, मश्याम, बनमारा, गहत, सिमी, केराउ, मटर, रहरी आदि तथा ईस्कुस, फर्सी, लौको, चिचिण्डो, कुभिण्डो, करेला, मुला गाजर जस्ता सागसब्जीहरू उत्पादन गरेर आफ्नै परिश्रमले दालभातको परिपूर्ति गरिन्थ्यो ।

उक्त खाद्यान्न आफ्नो परिवारले मात्र खाएर सकिँदैन थियो । बचत अन्न खेती लगाउँदा काम गर्ने हली खेताला गोठाला घर बनाउने सिकर्मी डकर्मीहरूको पारिश्रमिक भनौ काम अनुसारको ज्याला माना पाथीले भरेर दिइन्थो । त्योबेलाको मुद्रा स्थिति नेपाली र भारतीय रुपैयाँ सरिबरि थियो । प्रायः नगद रकमको काम कमै मात्रामा उपयोग हुने गथ्र्यो र अन्न भएपछि सोही दिँदा कामदारको गर्जो टथ्र्यो । आज कालको जस्तो च्याउसरि जताततै बैङ्क थिएनन् । खानपिन ओषधियुक्त भएकोले स्वास्थ्य चौकीहरूको आवश्यकता पनि पर्दैन थियो । गाँउ मिलेर धरम ढिकुटी वा धरम भकारी खोलेका हुन्थे । त्यो भनेको अहिलेको सहकारी संस्था जस्तै थियो । कतै गाउँमा खाद्यान्न कमी भई गयो भने ढिकुटीका सञ्चालकहरूले समस्या समाधान गरिदिन्थे । कुलो खन्ने बाटो खन्ने, घर बनाउने काम परेमा गाउँ–समाज एकजुट भएपछि जुनसुकै काम चिताई सक्दा समाधान भइ जान्थ्यो ।

त्यहाँ जतिसुकै सम्पन्न परिवारका सदस्य रहे पनि खेतीको काम गर्ने बेलामा खेतालासँग सँगै लागेर खेत बारीको काम गर्ने प्रचलन थियो । हिमाली भेकतिर प्रायः आलु प्रशस्त हुने हुँदा आलु मात्र खाएर जिविका चलाउँथे । त्यहाँ हीमपातले गर्दा अन्न उब्जाउन कठिन पर्ने प्रायः उब्जाउँभन्दा पनि वर्ष दिनसम्म लाग्छ । बेसीमा भने समय पनि थोरै लाग्ने र उब्जनी बढि हुने गर्दछ ।

ती लेकालीहरू आलुका भारी बोकेर बेसीतिर झर्ने र बेसीका साहुहरूसँग लेकका आलुले मकै कोदो साटेर एकअर्काले नौलो मिठो खाने प्रचलन पुस्तौंदेखि चल्दै आएको हो । त्यो समयमा अहिले झैं यातायातको साधन थिएन, डडाल्नोमा ढाकरमा भारी बोकेर त्यो पूर्वी हिमाल तथा बेंसीमा रहेका किसानहरूलाई नून–तेल मर–मसला लत्ता–कपडाको आवश्यक पर्दा पशुपालनबाट आर्जित घिऊ भारतको दार्जेलिङ्गसम्म लिएर जाने र त्यो घिऊले घरायसी सामान साटेर ल्याउने चलन थियो । पहाडी जनजीवनमा परिश्रम भने असाध्यै गर्नुपथ्र्यो र गर्न मन लाग्थ्यो । हावापानी शुद्ध भएकोले त्यहाँका नर नारी हष्टपुष्ट राता पिरा हुन्थे र सबै जातजाति मिलेर बसेका थिए । माथिका कुरा सुन्दा एक देशको कथा झंै लाग्दछ ।

अहिले आएको गणतन्त्रले यहाँका जनतालाई एकताबाट अनेकतातिर खल्बल्याउँदै गइरहेको सहजै अनुमान गर्न सकिन्छ । तराई भागतिरको कुरा गर्नुपर्दा पहिला–पहिला यहाँ प्रायः पातलो बस्ती थियो र यहाँ आदिबासिहरूको पातलो गाउँ बस्ती थियो यहाँको ७५ प्रतिशत जमिन जङ्गलले ढाकेको थियो । यातायातका साधन थिएनन् । पूर्व–पश्चिम हुलाकी पैदल मार्गबाट आवागमन गर्नु पथ्र्यो ।

वि.सं २०२१ सालपछि राजमार्गको डोरो टागिएको थियो । अहिलेको जस्तो यातायातको सुविधा पहाड होस् या मधेश कहीँकतै थिएन । त्यो समयको यातायात भनेको ११ नम्वर नै हो । तर, त्यो बखत पहाड पर्वतमा रहनेहरू जाउलो खान मधेश झर्ने लहड चल्न थाल्यो । त्यस्तो बिकराल स्थितिमा ती पहाडका पौरखी र विदेशिएका नेपालीहरूलाई एकैसाथ भेला पारेर मधेशका जङ्गलहरू फडानी गरेर मधेशमा पुनर्वास गराउने काम गरे । त्यो बेलाको सरकार भनेको राजा महेन्द्रले उद्योग धन्दा भने जताततै खोलि दिए । उद्यमीहरू कम्मर कसेरै लागे जस्तो विराटनगरमा जुटमील स्थापना गरेर मधेशका किसानहरूलाई सहकारीको माध्यमबाट पाटाको बिऊ बाँडियो तराईका किसानहरूलाई ठाउँ–ठाउँमै पाटा खेती लगाउन किसानलाई प्रेरित गरियो । यहाँ धान फसल पनि त राम्रो उत्पादन हुन्थ्यो । यहाँ उत्पादित धान चामल भारततिर चोरी निकासी हुन थाल्यो । त्यो देखेर सरकारले उक्त धान चामल नेपालबाट भारततिर निकासीगर्न धान चामल कम्पनी खोलेर उक्त धान चामल निकासी गर्न थाल्यो त्यो बेलाको खाद्यान्न यहाँका जनताले खाएर सकिँदै थियो ।

त्यस्तै गरेर सरकार गाउँ–गाउँमा उखु खेती गर्न प्रोत्साहन दिएर प्रशस्तै उखु उत्पादन हुन थाल्यो । उता सरकारले चिनी मिल खोल्ने व्यवस्था मिलाई सो किसानकरुो उखु उक्त चिनी मीलले खरिद गरिदिएपछि वरोजगारीहरूले गाउँ–गाउँमा राम्रो रोजगारी पाए । यसरी जताततै उद्योगहरू खोल्दा सबैले काम पाए यहाँ कुनै कुरा कमी थिएन । त्यसरी नै पश्चिमाञ्चलतिर कपास खेतीको व्यवस्था मिलाइयो र किसानलाई उद्यमी बनाउन धागो कारखाना नै खोलियो । त्यही धागोबाट कपडा कारकानाहरू चल्न थाले । त्यस्तै बाबियो खर पराललाई प्रोस्साहन दिनुका साथै सोबाट कागज कारखाना चल्न थाल्यो ।

किसानहरूले प्रोत्साहन पाए । देशमा जताततै उद्योगको लस्कर नै लागेको थियो । त्यो देखेर अर्को थरि परिवर्तकारीहरू निस्किए भ्रम छर्न थाले बिस्तारै ती कारखानामा काम गर्ने मजदुरलाई उकासेर मेनपावरहरूबाट वैदेशिक रोजगारी खुलाउँदै युवाशक्ति सबैलाई वैदेशिक रोजगारीतिर जान बाध्य पारियो । देशमा अनेक आन्दोलन चल्नथाले हेर्दाहेर्दै देश खोक्रो भयो, पहिले नेपालमा उत्पादित धान चामल अदुवा अलंैची घिऊ भारततिर निकासी हुन्थ्यो मुद्रा आर्जन गरिन्थ्यो । अहिले हरेक खानेकुरा जस्तो चामल, चिउरा, चिनी, दाल, साग–सब्जी, मर–मसला, लुगाकपडा ईतिश्री सबै दैनिक भोग्य वस्तुहरू भारतबाट आउँछ । अब बिस्तारै के पहाड के मधेश देशभरिका युवायुवतीहरू कमाउने बहानामा विदेशतिर लाग्दा यहाँका ती कल कारखानाहरू पनि बन्द भए ।

यता खेतीयोग्य जमिन जहाँ बास्मती, नूनीया, चुल्ठे मसिनो धान फल्ने सिम खेतहरू सबै बाँझिए । बिस्तारै ती बाँझिएका जमिनहरूमा कमाउ अभियानमा लागेका व्यापारीहरूले बाँझिएका उर्वरभूमिमा घडेरी प्लानिङ गर्ने बहानामा ती मगमग बास्ना आउने बास्मती, नूनीया, चुल्ठे धान फल्ने खेतीयोग्य जमिनहरूमा बालुवागिटी छरेर मरुभूमि तुल्य बनाएर भिटाको पसल थापियो र ती विदेशमा श्रम पसिना बगाएर आर्जन गरेर धन आर्जन गर्ने सपना बोकेर विदेशिएका युवा बाकसमा फिर्नु परेका दुःखद् घटनाले के परिणाम ल्यायो त ? दुःखले दुई चार पैसा नगद रकम पनि बिस्तारै गएर घडेरी किनाउने दलालका हात पर्छ, यो तितो सत्य हो ।

हिमाली, पहाडी भेकबाट पहेलेका पुर्खाहरू ढाकर तोक्मासँग सातु सामल बोकेर नून तेलको जोहो गर्न छिमेकी मुलुकको दार्जेलिङ्सम्म पैदल पुगेर कुइन्टलका भारी डडाल्नामा बोकेर १५ दिन लाएर आफ्ना लालाबाला पाल्नुपथ्र्यो । यो सुन्दा एकादेशको कथा झैं लाग्छ, तर यो हामीले पनि जन्म गाउँमा छँदा यो व्यहोरे कै हो । आज युग वैज्ञानिक भयो, तर मानव परपेक्षी हुँदै गयो । के पहाड के मधेश सबैतिरका युवा शक्ति पलायन हुँदा उर्वर भूमि बाझिँदै गएर मरुभूमितुल्य बनेको महशुस हुन्छ । ती जीर्ण हुँदै गएका घर–घडेरी रुँगेर बसेका वृद्ध बा–आमाहरूको भोक–प्यास मेटाउने सहयोगीविहीन हँुदैछन् र कोही बा–आमा वद्धाश्रमको शिकार हुन बाध्य छन् ।

देश सञ्चालकहरू कुर्सीको लडाइँमै ठिक्क छन् । प्रत्येक नागरिकका थाप्लामा लाखभन्दा बढी विदेशीको ऋण बोकाइएको छ । यस्तो चाल कहिलेसम्म रहने हो । हामीले हेर्दाहेर्दै यो देश–विदेशको कब्जमा पर्ने जस्तो लाग्न थालेको छ । होशियार हौं अब हामी हाम्रा नानीहरूलाई मोवाइल चलाउन मात्र दिने कि ? उद्यम सिकाउने अरू कुनै वैकल्पिक उपाय रच्ने र सोच्ने हो ? मेरो यही प्रश्न छ । तमाम देशबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई । ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here