श्रीमतीको प्रसव पीडा र मेरो अनुभूति

0
349

“ए, एघार वर्षको फरक ? किन यति धेरै ग्याप राखेको ? अलिक छिटो प्लान बनाउनु पर्छ नि अर्को सन्तान जन्माउनलाई त ।” हो, यस्तै यस्तै प्रश्न र सुझाव पाउने गर्छु म, जबजब सन्तानको बारेमा कुराकानी हुन्छ । पहिलो छोरी र दोस्रो छोरीबीचको यति लामो समय ग्याप हुँदै गर्दा म जति खुशी थिएँ, त्यत्तिकै पीर पनि लागिरहेको थियो कि श्रीमतिलाई हुने पीडा सम्झेर, सन्तान प्राप्तीको बेला । एघार वर्ष अगाडि उनले त्यो पीडा एक पटक भोगी सकेकी थिइन् जुन पीडालाई मैले श्रीमान् भएर पनि थोरै मात्र अंश आफ्नो भागमा ल्याउन सकिन ।

सबै श्रीमानले चाहेर पनि बाँड्न नसकिने जिम्मेबारी रहेछ यो । मलाई अनि मेरो भावनामा पनि कम्ती पीडा थिएन त्यतिबेला, जतिबेला उनी प्रसब पीडाले छट्पटिंदै मेरो काखमा रोइरहेकी थिइन् । डेलिभरी गराउने कक्षमा लगिसकेको थिएन त्यतिबेला । एघार वर्ष अगाडि उनले भोगेको त्यो पीडा अनि म प्रत्यक्ष साक्षी बनेर अनुभूत गरिहेको त्यो क्षण फेरि दोहरिंदै थियो, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटनमा २०७५ श्रावण महिनामा ।

त्यसो त २०७५ भन्दा अघि नै केहि अनपेक्षित र हाम्रो झाँगिदै गएको खुशीमा तुषारापातको घटना पनि बिर्सन नसकिने खालको छ । दोस्रो सन्तानको चाहना अनुरुप बाह्र हप्ताको गर्भ भइसकेको थियो । २०७२ सालको भूकम्प पश्चात् काठमाडौंमा धेरै पराकम्प गइरहेकोले सुरक्षाको लागि उनी तराई गइन् आमाबाबासँगै बस्न । ठीकठाक नै चरिरहेको थियो । म काठमाडौंमा बसिरहेको थिएँ, उनी बिदा लिएर तराईमा । एक दिन एकाबिहानै फोनमा म्यासेज देखेें, “मलाई एकदमै पेट दुख्यो, म हस्पिटल जाँदै छु ।” म्यासेज छोटो थियो तर त्यसमा धेरै भाव र अर्थ पाएँ । म्यासेज पढ्ने बित्तिकै मलाई रिंगटा लागे जस्तो, मन आत्तिए झैं, उकुसमुकुस भएँ । पराकम्प गइरहने भएकाले म आफैं पनि आफन्तहरुसँग बस्ने गर्थें रातको समय । म आफूलाई एकदम बलियो छु, मेरो आत्मबल बलियो छ भन्ने लाग्थ्यो, तर त्यो दिन मैले आफूलाई एकदमै कमजोर महसुस गरें । सायद, श्रीमती र पेटमा हुर्किंदै गरेको बच्चाको मायाले होला । त्यतिबेला हाम्रो घर बनिसकेको थिएन । म म्यासेज देख्ने बित्तिकै स्कुटर लिएर आफ्नो डेरामा गएँ । त्यतिबेला डेरा धोबिघाट, ललितपुरमा थियो । मलाई अहिले पनि एकिन छैन, म कुन बाटो हुँदै डेरा पुगें, कसरी पुगें, डेराबाट कतिबेला निस्कें । तर म काठमाडौंबाट हिडिसकेको थिएँ गाडी चढेर तराई । बाटोमा केहि खाएँ या खाइन, भोक लाग्यो या लागेन, मलाई अहिले पनि थाहा छैन । अहिले यी शब्दहरु लेखिरहदा पनि मेरो मन भक्कानिएर आएको छ । आँखामा आँशु टिलपिलाई रहेको छ ।

सरी श्रीमतीजी, मैले तिमीलाई भनेर यो सब लेखेको छैन । तिमीलाई नरमाइलो लाग्न पनि सक्छ, तर एउटा श्रीमान्को भोगाई, अनुभव र आफ्नो सन्तानप्रतिको माया, स्नेह कस्तो हुन्छ भनी अभिव्यक्त गर्दैछु । अनि म सिधै अस्पताल पुगें । अस्पताल पुगे पछि थाहा भयो, हुर्कंदै गरेको बाह्र हप्ताको हाम्रो सन्तान रहेन । मेडिकल भाषामा “मिसक्यारी” भएछ । श्रीमतीलाई भेटें । उनी म भन्दा कम पीडामा थिइनन् उक्त घटनाले । समय क्रमसँगै हामीले सो पीडालाई भुल्ने कोशिस ग¥्यौं र अर्को सन्तानको योजना बनायौं । सायद, यो सब कहानी र अवस्था थाहा भएको भए कसैले पनि सुरुमा उल्लेख गरिएका ती प्रश्नहरु सोध्दैनथे होलान् । अनि प्रश्न सोध्दैमा यी सबै कहानी बताइरहने कुरा पनि त भएन । आज यहिं लेखमार्फत ती प्रश्नहरुको जवाफ दिंदैछु । प्रसव पीडा श्रीमतीले सहिरहँदा श्रीमानलाई चाहिं के हुन्छ भन्ने जवाफ पनि लेख्दैछु । यो घटना यहाँ लेखिरहँदा कति आमा बुबाहरु जसले यस्तै परिस्थिति भोग्नु परेकोछ, उहाँहरुलाई आघात पुग्न सक्छ, निको भएको घाउ कोट्याएको जस्तो लाग्न सक्छ । मलाई माफ गर्नुहोला, मेरो त्यस्तो कुनै आशय या दुराशय होइन । मैले जे भोगें, जे अनुभूत गरें, त्यो मात्र यहाँ राख्न चाहेको हुँ । यहाँहरुलाई आघात पुग्न गएमा फेरि पनि बिनम्रताकासाथ माफी चाहन्छु ।

केहि समयको अन्तरालमा हामीले अर्को सन्तानको योजना बनायौं । त्यतिन्जेल ठूली छोरीलाई पनि म एक्लै छु, मलाई मेरो सिवलिङ्ग चाहिन्छ भन्ने लागेकोले होला, हामीलाई भन्थिन्, “मेरो चाहिं कोहि पनि सिवलिङ्ग छैन । म एक्लै छु ।” हो, यहिं कुराले पनि कताकता हामीलाई दोस्रो सन्ताको आवश्यकता महसुस भयो । सोही बमोजिम एकातिर दोस्रो सन्तानको चाहना बढिरहेको थियो, अर्कोतिर बाह्र हप्ताको गर्भ खेर गएको घटना र पीडाले मन झस्किरहन्थ्यो । बिगतको घटना सम्झेर पीडाबोध गरिरहने या नयाँ योजना बनाएर अघि बढ्ने, यो दोधारको दोसाँधमा केहि महिना हामी रुमल्लियौं । र अन्ततः दोस्रो सन्तानको योजना बनायौं । हाम्रो चाहना र योजना अनुसार दोस्रो सन्तान श्रीमतीको गर्भमा आइसकेकोले यो पटक भने हामी अत्यन्तै सजग भयौं साथसाथै सशंकित पनि । विगतको घटनाले अझै ढुक्क हुन सकिरहेको थिएन । नियमित स्वास्थ्य परीक्षण गराई रह््यौं । हरेक पटक अस्पताल जानेबेलामा मैले उनको साथ छोडिन । मैले श्रीमानको मात्र भूमिका र जिम्मेबारी हैन, गर्भमा भएको बच्चाको बाबुको जिम्मेबारी पनि निर्वाह गरेको हुँ जुन परिस्थितिजन्य र बाध्यात्मक नभएर अन्तरआत्मादेखि नै स्चालित कदम हो । र यो सबै श्रीमानहरुमा हुनु पर्दछ भन्न चाहन्छु । हो, परिस्थितिबस सँगै नभएर कोही परदेशमा, कोही घरबाट टाढा अन्य स्थानमा कर्म गरिरहेका श्रीमानहरुको हकमा यसो भन्न नमिल्ला । तर सँगै भएर पनि जबसम्म श्रीमतीलाई आफ्नो श्रीमान् सँगै भएको आभाष हुँदैन, तब हामी श्रीमान्हरुले ठूलो अपराध गरेका हुन्छौं । हुर्कंदै गरेको आफ्नो सन्तानको लागि र श्रीमतीको लागि यो सब बिचार गरेर नै मैले उनलाई कुनै पनि रुपमा मनोवैज्ञानिक रुपमा असर नपरोस्, मेरो अनुपस्थिति र अभावको प्रभाव नपरोस् भनी म हरेक कदम साथमै रहें । दुई महिना, चार महिना हुँदै उनको गर्भमा सन्तान हुर्कंदै गयो । उनी गर्भवती हुने बेलामा बैंककमा झण्डै एक हप्ताको तालिममा जानु पर्ने भयो । म पनि सँगै गए मात्र उनी तालिममा जाने भइन् । चिकित्सकको सल्लाह बमोजिम हामी बैंककमा जाने निधो गर्र्यौं र गयौं पनि । जहाज ल्याण्ड गर्ने बेलामा चाहिं मलाई कताकता डर लागेको थियो । त्यहाँ छोटो भए पनि बसाई राम्रो भयो । हुर्कंदै गरेको पेटको बच्चाले हात हो कि खुट्टा, चलाएको देख्दा रमाइलो लाग्थ्यो । उनलाई भने काउकुती लाग्थ्यो रे । अलिकति मात्र दुखाई भयो भने हामी अस्पताल गइहाल्थ्यौं ।

घलेको पारिवारीक तस्वीर ।

केहि थान कपडा र आवश्यक सामान सहित एउटा झोला सधैं तयारी अवस्थामा राखिन्थ्यो । झोला बोक्यो, बाटो लाग्यो । सजिलो पनि । घरबाट हिड्ने बेलामा केहि दिन अस्पतालमा बस्नुपर्छ होला भन्ने तयारीका साथ हिडिन्थ्यो । त्यसैगरि हामी दुई तीन पटक अस्पतालमै भर्ना भएर बस्यौं केहि दिनसम्म । तर चिकित्सकको सल्लाह अनुसार पुनः डिस्चार्ज हुँदै घर फर्कियौं । श्रीमती गर्भवती भएदेखि स्कूटर चलाउन छोड््यौं । सधैं गाडीबाट नै कार्यालय जाने आउने ग¥्यौं । हाम्रो त गाडी भएर सजिलो भयो तर सबैसँग गाडी हुँदैन । गर्भवती भएको बेलामा सार्वजनिक यातायातबाट आवतजावत गर्दा कति गाह्रो र सकस हुन्छ, म पुरुष भए पनि अनुभूत गर्न सक्छु । कास मेरो हातमा शक्ति र सत्ता भएको भए गर्भवती हरेक महिलाहरुका लागि सवारी साधनबाट आवतजावत गर्न विशेष व्यवस्था गर्थें होला ।

डेलिभरी हुने समय नजिकिंदै गर्दा, तेस्रो पटक पेट दुखेर अस्पताल गएको बेला भने “लेबर पेन” नै हो भन्नुभयो चिकित्सकले । त्यतिन्जेल आफ्ना परिवारका सदस्यहरु, आफन्त र नजिक भएका साथीहरुलाई खबर गरिसकेका थियौं ताकि आवश्यक सहयोगका लागि वहाँहरु कुनैपनि बेला तयार हुनुहुन्छ भनेर पनि हो । मनमा एक किसिमको कौतुहलता, खुशी, संशय र भय मिश्रित रुपमा तरङ्गित भइरह््यो । भित्र लेबर रुममा श्रीमतीको छटपटी, बाहिर कुरुवा बस्ने ठाउँमा मेरो छटपटी । भित्र बेडमा सुतेर पिडाले श्रीमती दायाँबायाँ टाउको चलाउे, खुट्टा चलाउने । म बाहिर छटपटिएर कहिले भ¥्याङतिर जान्थें, कहिले झ्यालबाहिर चिहाउथें । दुबै जना छटपटि रहेका थियौं तर केहि न केहि फरक पीडाले । म मानसिक रुपले मात्र छटपटिरहेको थिएँ तर श्रीमती शारीरिक र मानसिक दुबै पीडाले । एउटा शरीरले अर्को सिङ्गो शरीर जन्माउनुको पीडा केबल ती आमाहरुलाई मात्र थाहा छ, हामी पुरुषले त केबल सुन्ने मात्र हो के भयो, कस्तो भयो भनेर । यसर्थ, सम्पूर्ण आमाहरुलाई शीर निहुराएर नमन गर्न चाहन्छु जसले जीवन र मरणको दोसाँधमा पुगी युद्ध जितेर आफ्नो सन्तानको जन्म दिन्छन् । मेरी श्रीमती पनि त्यहिं युद्ध लडिरहेकी थिइन् भित्र । म चाहेर पनि साथ दिन सकिरहेको थिएन बाहिर बसेर । घरिघरि महिला कर्मचारीलाई सोध्थें, कस्तो छ उनलाई भनेर । अस्पताल भर्ना भएको रात डेलिभरी भएन । स्लाइन पानी चढाउने काम भयो । भोलिपल्ट श्रावण ७ गते सोमबार भने अब डेलिभरीको तयारी हुँदैछ भन्ने खबर पाएँ । त्यतिबेला उनीसँग उषा (श्रीमतीको फूपूकी छोरी) थिइन् र उनैले साथ दिइरहेकी थिइन् । तराईबाट सासूआमा पनि आइसक्नु भएको थियो । आफ्नो आमा पनि सँगै हुनुहुन्थ्यो । छिमेकी आन्टी पनि सँगै अनि छिमेकी एक जना दिदी पनि सोही अस्पतालको कर्मचारी हुनुभएकोले मलाई सहयोगको कत्ति पनि कमी महसुस भएन । केबल खड्किरह््यो त त्यो क्षण श्रीमतीसँगै बस्न नपाएर । उनी पीडाले छटपटाई रोइकराइ गर्दा पनि म बाहिर बसिरहन विवश भएँ । अस्पतालको नियम अनुसार पुरुष भित्र लेबर रुममा बस्न नपाउने । उषा कहिले भित्र दिदीलाई ढाडस दिन्थिन् त कहिले बाहिर आएर मलाई । हामी दुईबीचको सञ्चार सम्पर्क गराई रहिन् उनले । उनी हाल स्पेनमा छिन् । भित्र श्रीमती बच्चा जन्माउन बल गरिरहँदा बाहिरबाट म आफ्नो बल पनि उनलाई जाओस् भनी कामना गरिरहन्थें । कुरुवाहरुको भीडमा कसैलाई नचिने पनि आँखा र भावनाले हामी कुरा गथ्र्यौं । हो, म पनि श्रीमतीलाई डेलिभरी गराउन आएको भन्ने भाव म मनमनै व्यक्त गर्थें । त्यसो त अरुसँग गरेको कुराकानी र व्यवहारबाट पनि प्रष्टिन्थ्यो नै । अस्पतालका महिला कर्मचारीले यी सामानहरु किनेर ल्याउनु होला भनेर जब मेरो हातमा लिस्ट थमाइदिए तब मलाई लाग्यो अब छिट्टै नै म दोस्रो सन्तानको बाबु हुँदैछु । मनमा यस्तै भाव र विचारको ब्याटल चलिरह््यो । सोच्दै सोच्दै फार्मेसीमा औषधी र सुत्केरी गराउँदा चाहिने सामग्रीहरु किन्न गएँ । अरुबेला भन्दा अलिक छिटो र हतारमा हिडिरहेको थिएँ म अस्पताल परिसरमा ।

मनमा एक किसिमको खुशीबीचमा पनि कताकता भय र संशयले ठाउँ लिइरह््यो । मेरी श्रीमतीलाई केहि नहोस् भगवान् भन्दै कामना गरिरहें, भ¥्याङतिरको एउटा कुनामा बसेर । पलपलको समय पनि अत्यन्त हतार र महत्वपूर्ण लागिरह््यो । सन्तान आगमनको खुशीलाई श्रीमतीको स्वास्थ्यबारेको चिन्ताले अलिक ओझेलमा पारेको जस्तो महसुस गरें त्यो बेला । उनलाई कति गाह्रो भइरहेको होला भनेर सोच्ने बित्तिकै अनायास आँखाको डिलमा आँशु टिलपिलाउँथ्यो । आँशु रुमालले पुछ्थें घरिघरि । म ठीक छु भन्ने सोचेर पुनः सम्हालिन्थें । “ए, भिनाजु रुनु भाको । ठीकै छ के दिदीलाई” भन्दै उषा मेरो नजिक आएर मलाई सम्झाउने कोशिस गर्थिन् । उनको ढाडसले मन झन् भक्कानिएर आउँथ्यो । आफ्ना यी अनुभव र अनुभूति लेख्दै गर्दा पनि मलाइै धेरै गाह्रो भयो । धेरै पटक पानी पिउँदै एकछिन बिश्राम गर्दै लेखेको हुँ । सायद, अरु श्रीमानहरुलाई पनि यस्तै हुन्छ होला जसले मन, मुटु र मस्तिष्कबाट नै श्रीमतीलाई माया गरेको हुन्छ । एकछिन पछि छिमेकी आन्टीले काखमा नानीलाई बोकेर ल्याउनु भयो, “ल बधाई छ । बाबा जस्तै छिन् नानी ।” म खुशीले अगाडि बढें नानीतिर तर मेरो आँखा भने पछि पछि ह्वील चेयरमा आउँदै गरेकी श्रीमतीतिर थियो । छोरीको मुख हेर्दै श्रीमतीलाई छुन गएँ, काँधमा हात राख्दै भने, “बधाई छ तिमीलाई ।” उनी अलिक असहज भावमा हाँस्ने कोशिस गरिन् । सन्तान जन्माउँदाको त्यो पीडा र दुखाइले गर्दा उनी खुलेर हाँस्न सकिनन् । एकछिन अघिसम्मको मेरो भय र संशय अब दूर भयो । उनले दोस्रो सन्तान पनि नेचुरल तरिकाले जन्माइन् । स्यालुट छ मेरी महान् श्रीमतीलाई । तिमीले सकुशल हामीलाई दुई सन्तान जन्माई दियौ । यहिं श्रावण ७ गते हाम्री छोरी कार्भी घले ६ वर्ष पूरा भइन् । यहिं अवसरमा छोरीलाई जन्मदिनको अनमोल शुभकामना छ । केहि दिनको अस्पताल बसाई पश्चात् हामी घर आयौं । पहिलो सन्तान हुर्काएको अनुभवले गर्दा मलाई त्यति गाह्रो लागेन नानीलाई हेरबिचार गर्न । त्यसो त आमा र आन्टीहरुले नै बढि ख्याल गर्नुहुन्थ्यो नानीलाई । राति भने म नै अकिल बढि समय दिन्थें नानीलाई । श्रीमतीलाई सजिलो होस् भनेर राति नानीको कपडा फेरिदिने, ख्वाउन सहयोग गर्ने आदि काममा मैले नै अलिक धेरै समय दिएँ । उनी गर्भवती भएको बेला मैले बाचा गरेको थिएँ कि तिमी जन्माइदेऊ, अरु हेरबिचार र बाँकी काम त म गरिहाल्छु नि । म विश्वस्त छु कि मैले मेरो बाचा पूरा गरें । अहिले पनि छोरीले मलाई नै बढि खोज्छिन् । खेल्न मन लाग्यो भने बाबा, नुहाइदिन प¥्यो भने बाबा, बिहान ओछ््यानमा ममीसँगै सुतिराकी हुन्छे तर उठ्ने बेलामा मलाई देखिनन् भने बाबा । स्कूल पु¥्याइदेऊ बाबा, भरे लिन को आउने ? “बाबा” । अहिले यसरी नै दिनचर्या चलिरहेको छ ।

हाम्रो सन्तान प्राप्तीको बेला घर परिवारको साथ त छँदैछ, बेलाबेलामा अस्पताल आएर, हामीलाई हौसला र सुझाव दिनुहुने सबै साथीहरु र छिमेकीहरुलाई मनैदेखि आभार प्रकट गर्न चाहन्छु । लक्ष्मी दिदी, सुधा दिदी, सीता मगर, मुना सुवेदी र उषा मगर, साबित्रा दिदी, अस्पतालका कर्मचारी लगायत मैले यहाँ नाम छुटाएका सबै सबैजनालाई धेरै धेरै धन्यवाद । विशेषतः खिमा सुवेदीजी, जो डेलिभरि हुने भन्ने रात अस्पतालमै बसेर हामीलाई साथ दिनुभयो, तपाईंको साथ र सहयोगको मैले यहाँ जति वर्णन गरे पनि कमै हुन्छ । त्यो अमूल्य माया र सहयोगप्रति हामी सदैव आभारी छौं । हामीले कसैको अहित हुने कार्य गरेका छैनौं रत तपाईंहरुको माया र साथ पाइरहेका छौं । हाम्रो परिवारमा दोस्रो सन्तान जन्माएर हामीलाई खुशी बाँड्ने मेरी श्रीमती नीलमलाई हृदयदेखि धन्यवाद । अनि तपाईं सम्पूर्ण आमाहरुलाई नतमस्तक भएर, शीर निहुराएर उच्च सम्मान प्रकट गर्न चाहन्छु जसले जीवन र मरणको दोसाँधमा रहेर परिवारमा खुशी बाँड्नु हुन्छ । यो मेरो लेख पनि ती सबै आमाहरुमा समर्पण गर्न चाहन्छु । सबैको जय होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here