क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

0
17
चितवन,
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु हुने भएको छ । भरतपुर महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिले आज संयुक्त रुपमा स्थलगत अनुगमनपछि निर्माण कम्पनीले एक साताभित्र निर्माणको काम सुरु गर्ने जनाएको हो ।
धुर्मुस सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माणका लागि ल्याएर बाँकी रहेको सामानको लगत सङ्कलनको काम आजैदेखि सुरु गरिएको छ । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण व्यवसायीका प्रतिनिधिहरुले स्थलगत अनुगमन गरेको हो । फाउण्डेशनले निर्माणका लागि ल्याएको सामानको मुचुल्का तयार गरे लगत्तै निर्माणका लागि काम थालिने निर्माण कम्पनीका विकास गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आइतबारदेखि सरसफाइलगायत काम सुरु हुन्छन् ।”
रङ्गशाला निर्माणस्थलमा रहेको झाँडी पन्छाउने, सरसफाइ गरेर कामलाई तीव्रता दिइने उहाँले बताउनुभयो । महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार फाउण्डेशनले निर्माणका लागि ल्याएका सामान महानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने हुँदा मुचुल्का उठाउने काम सुरु गरिएको बताउनुभयो । प्राविधिक टोलीसहित मुचुल्का उठाएपछि निर्माण कम्पनीले आफ्नो काम सुरु गर्ने उहाँले बताउनुभयो ।
रङ्गशाला निर्माणका लागि गत असार २३ गते महानगरपालिका र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार रु ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा निर्माण सम्पन्न गर्ने गरी दुई पक्षीय सम्झौता भएको छ ।
धुर्मुश–सुन्तली फाउण्डेशनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला ३० महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको उहाँले बताउनुभयो । संयुक्त अनुगमनपछि महानगर प्रमुख दाहालले एक सातामा निर्माणको काम सुरु गर्ने गरीठेकेदार कम्पनीले कामलाई अघि बढाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्माणको वातावरण बनाइ दिने काम महानगरपालिकाको हो । समयमा काम सम्पन्न गर्ने जिम्मेवारी निर्माण कम्पनीको हो ।” पहिलो चरणमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गराउन मिल्ने गरी मैदान र स्टेडियम निर्माणको काम हुने उहाँले बताउनुभयो । तीन तहको सरकारको साझेदारीमा बन्न लागेको रङ्गशाला समयमा नै निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गराइने उहाँले बताउनुभयो ।
कम्पनीले खेल मैदान, पिच, प्रोटेक्सन वाल, दुई वटा टावर बिल्डिङ र थप १० हजार क्षमताको प्याराफिट निर्माण गर्नेछ । निर्माणाधीन रङ्गशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा थियो । रङ्गशालाको सबै काम पूरा गर्न रु तीन अर्बभन्दा बढी खर्च लाग्ने छ । पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले निर्माणका क्रममा देखिएका समस्या सामूहिक रुपमा समाधान गर्दै जाने बताउनुभयो । निर्माण व्यवसायीलाई चाँडो काम सुरु गरेर समयमा नै सम्पन्न गर्न उहाँले निर्देशन दिनुभयो । त्रिभुवन विश्वविद्यालयसँग ३० वर्षका लागि जग्गा भाडामा लिएर रङ्गशाला निर्माणअघि बढाइएको हो । रङ्गशाला त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिघा छ कठ्ठा जग्गा बन्ने छ ।
विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेशनबीच निर्माणका लागि सम्झौता भएको थियो । अधिकारीले फाउण्डेशनले काम गर्न नसकेर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेसँगै सङ्घ र प्रदेशसँग समन्वय गरेर रङ्गशाला निर्माण गर्न लागिएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here