असुरक्षित नेपाली आकाश

0
23

नेपाली आकाश असुरक्षित रहेको बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल परिसरभित्रै भएको दुर्घटनाले देखाएको छ । चालक, दलका सदस्य र प्राविधिक लिएर पोखरा जान उडेको सौर्य एयरको विमान दुर्घटना हुँदा अठार जनाको दुःखद् निधन भयो । विमानस्थल परिसरमै दुर्घटना हुँदा समेत समयमा उद्धार गर्न नसक्दा विमान चालक बाहेकका सबैले मृत्युवरण गर्नुप¥यो । विमानका चालकलाई भने जीवितै उद्धार गरिएको र उनको अवस्था सामान्य रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय विमान स्थल परिसरभित्रै भएको दुर्घटनामा त समयमा उद्धार गर्न सकिएन भने विकट भू–बनोट भएका स्थानमा भएका दुर्घटनामा उद्धार गर्न सकिने कुरै भएन । त्यसै पनि नेपाली आकाश असुरक्षित रहेको अन्तर्राष्ट्रिय निकाय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले प्रतिवेदनमा उल्लेख गरिसकेको छ । यस्तोमा हाम्रो सरकारले हवाइ दुर्घटनाका कारणहरुको पहिचान गरी न्यूनीकरणका लागि प्रभावकारी उपायहरु अवलम्बन गर्नुपर्ने हुन्छ । तर, सरकार सत्ता बचाउने, हत्याउने र ‘आफ्ना’ मान्छेलाई अवसर र नियुक्ति दिने काममै व्यस्त रहँदा निरपराध मानिसले जीवन गुमाउनु परिरहेको छ भने वर्सेनि अर्बौं रुपैयाँ क्षति व्यहोर्नु परेको छ ।

सरकारकै गैरजिम्मेवार र असंवेदनशील व्यवहारका कारण सम्बद्ध पक्ष पनि उदासिन देखिएको छ । नत्र त पोखरामा गएर मर्मतसम्भार गर्नुपर्ने जहाज उडानका लागि योग्य छ/छैन नहेरी त्यति ठूलो संख्यामा मानव धन बोकेर उडान भर्न कसरी सम्भव हुन्थ्यो ? बर्सेनि जस्तै हवाई दुर्घटनाको भय व्यहोर्न बाध्य हामी नेपालीको नियति नै हो त ! प्रश्न पटक–पटक आउने गरेको छ । हाम्रो विकट भौगोलिक अवस्था, प्रतिकूल मौसम, आवश्यक सूचना, उपकरणको अभाव जस्ता कारणले विगतमा पनि ठूल्ठूला हवाई दुर्घटना भएका छन् । त्यसैगरी विमानको नियमित परीक्षण, मर्मत नगरिँदा, पुराना जहाजको प्रयोग, मानवीय त्रुटि तथा व्यवस्थापन र सरोकारी निकायको लापरबाहीले पनि कतिपय दुर्घटना भएका छन् ।

नेपाली आकाशमा भएको यो १५१औं दुर्घटना हो । विमान सेवा प्रारम्भ भएको सत्तरी वर्षमा धेरैले ज्यान गुमाइसकेका छन् । हवाई यात्रा आफैंमा जोखिमपूर्ण र संवेदनशील हुन्छ । छिट्टै पुग्न सकिने र स्थल यातायातको अभाव भएको ठाउँमा त यो निर्विकल्प माध्यम नै हो । त्यसैले यस क्षेत्रलाई सम्बन्धित निकायले नियमन गरेर सुरक्षित बनाउनु पर्दछ । होइन भने बाह्य पर्यटक भित्र्याउने नेपालको सपना पनि पूरा हुँदैन र नेपाल आउन खोज्ने विदेशीहरुले आफ्नो योजना बदल्न सक्छन् । यस्तो अवस्था हाम्रा लागि सुखद् हुँदैन । यसतर्फ सरकार सचेत र जिम्मेवार बनोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here