कोशीमा अपराध नियन्त्रण गर्न प्रहरी सफल, डीएसपीसहित ३१२ प्रहरी कारबाहीमा

0
21

नरेन्द्र ढकाल,
बिर्तामोड ।

झापासहित कोशी प्रदेशका १४ जिल्लामा अपराध नियन्त्रणका लागि पछिल्लो एक वर्षमा प्रहरीले उल्लेख्य भूमिका खेलेको पाइएको छ ।

प्रहरीले अपराध गरेर फरार रहेकाहरुलाई पक्राउ गर्दै कानूनको दायरामा ल्याएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अपराध अनुसन्धानमा पाएको सफलतालाई विभिन्न १० बुँदामा समेटेको छ । प्रहरीले सार्वजानिक गरेको तथ्याङ्क अनुसार पूर्वका विभिन्न जिल्लामा अपराधमा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन सफल भएको हो ।

२०८१ बैशाख २५ गते झापाको बिर्तामोड –४ स्थित शिवनगर टोलमा आफ्नो घरमा एक्लै बस्दै आएकी ६७ वर्षीय विष्णुकुमारी बिष्टको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार भएका बिर्तामोड –४ का २२ वर्षीय गंगाप्रसाद राजवंशीसहित पाँच जनालाई लामो अनुसन्धानपछि पक्राउ गर्न सफल भयो ।

त्यस्तै मोरङको पथरी–शनिश्चरे नगरपालिका –७ लामाटोलीमा २०८० साल फागुन २१ गते दाजुको घरमा बस्दै आएकी खोटाङको ऐसेलुखर्क गाउँपालिका –६ की १५ वर्षीया ज्ञानमती राईलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने मोरङको ग्रामथान गाउँपालिका –४ का ३८ वर्षीय धिरेनकुमार खाँ चौधरीलाई प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले जानकारी दिए ।

कोशी प्रदेशमा भएका सफल अनुसन्धानलाई उत्कृष्ट अनुसन्धानका रुपमा लिएर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको विवरणमा मोरङको विराटनगर महानगरपालिका –५ बस्ने रत्न चौधरीका छोरा २८ वर्षीय रोहित चौधरीलाई गोली प्रहार गरी हत्या गर्ने छ जनालाई सिल्भर कलरको पेस्तोल एकथान, सोही पेस्तोलमा फिट गरिएको म्यागजिन दुई थान, गोली नौ राउण्ड, कालो झोला पाँच थानसहित पाँच जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । यो घटना २०८० साल साउन ५ गते भएको हो ।

त्यस्तै २०८० भदौ २२ गते सुनसरीबाट चोरी, लुटपाट नियन्त्रण अपरेशनका लागि खटिएको सादा पोशाकको प्रहरीको टोलीमाथि कुटपिट गर्ने चार जनालाई पक्राउ गरी कानूनी कारवाहीमा ल्याइएको प्रहरीले जनाएको छ । उनीहरुलाई संगठित अपराध तथा डाका मुद्दामा कारवाही अगाडि बढाइएको थियो ।

त्यस्तै झापाको दमक –१ स्थित कुमाल चोकमा मादक पदार्थ सेवन गरी विवाद हुँदा दमक– ७ बस्ने २२ वर्षका सनम राईले धारिलो हतियार प्रहार गर्दा इलामको चुलाचुली –३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्या गरेका थिए । हत्यामा संलग्न राईसहित आठ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । यो घटना २०८० साल असोज १२ गतेको हो ।

त्यस्तै प्रहरीले सुनसरीमा २०८० माघ २८ गते पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका मोहम्मद सैयाद साफीले चलाएको बिआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडीमा शंकास्पद अवस्थामा रहेको एक हजार दरको नक्कली नोट १८ हजार दुई सय ५१ थान फेला पारेको थियो । उक्त घटनामा अनुसन्धानका क्रममा अन्य चार जनालाई समेत पक्राउ गरिएको कोशी प्रदेशका प्रमुख खापुङले बताए ।

त्यस्तै २०८० कात्तिक ३ गते भोजपुरको आमचोक गाउँपालिकामा जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोही स्थानका २० वर्षीय दीपचन्द्र राई रहेका छन् । उनले देवचन्द्र राईकी सात वर्षीया छोरी आकृतिको बलात्कारपछि हत्या गरी शवलाई जंगलमा लगेर गाडेका थिए ।

प्रहरीले सुनसरीको इटहरी –६ बाट सहकारी ठगीमा संलग्नलाई २०८० साल मंसीर ७ गते पक्राउ ग¥यो । अम्बेकोशी बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालकले ४७ करोड सात लाख ६६ हजार चार सय ५९ रुपैयाँ हिनामिना तथा अपचलन गरेको हुँदा अध्यक्ष तथा सञ्चालक फडिन्द्र पूर्वछानेलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

त्यस्तै २०८० चैत ७ गते सुनसरीको धरान उपमहानगरपालिका –१८ मा हत्यामा संलग्न एक जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । धरान –१६ कि २० वर्षीया समुना श्रेष्ठ मृत अवस्थामा फेला परेपछि प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा उनका प्रेमी १९ वर्षीय सविन भनिने बाबुराम भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले धनकुटाको भेडेटारबाट २०८० फागुन २ गते ठूलो परिमाणमा लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा लागूऔषध बरामद गर्न सफल भयो । धनकुटाको साँघुरीगढी गाउँपालिका– ६ भेडेटार चोकबाट को १ ख ७३२२ नम्बरको डिजेल–पेट्रोल बोक्ने ट्याङ्करभित्र लुकाइछिपाइ राखेको अवस्थामा पाँच सय ९४ केजी गाँजासहित तीन जनालाई पक्राउ गर्न सफल भयो ।

प्रहरीले कोशीका १४ जिल्लामा भएका अपराधका सफल अनुसन्धानलाई बुँदागत रुपमा प्रस्तुत गरेको हो । विगत तीन वर्षमा कोशी प्रदेशमा अपराधका घटना बढेको पाइएको छ । सामाजिक अपराध अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ मा एक हजार पाँच सय ७४ वटा उजुरी दर्ता भएका थिए भने एक हजार पाँच सय ५४ जनाले आत्माहत्या गर्नुका साथै लागूऔषधमा एक हजार ३९, यस्तै बैंकिङ्ग कसूर मुद्दामा एक हजार चार जना, चोरी तथा डाँका मुद्दामा सात सय ५३, जबरजस्ती करणी पाँच सय १७, ठगीमा दुई सय ८५ र कर्तव्य ज्यान मुद्दामा एक सय १६ जना रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

डीएसपी सहित ३१२ जना प्रहरी कारवाहीमा

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आर्थिक बर्ष २०८०/०८१ को एक वर्षमा एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी)सहित तीन सय १२ जना प्रहरीलाई कारवाही गरेको जनाएको छ । कानून विपरीत कार्य गर्ने जो कोही पनि कारबाहीमा पर्ने भएकाले प्रहरीले पनि कानून उल्लंघन गरेकाले कारबाही गरिएको जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्ष ०८०/०८१ मा प्रहरी मर्यादा विपरीत र अवाञ्छित क्रियाकलाप गर्ने एक जना डीएसपी, दुई जना प्रहरी निरीक्षक, प्रबनानि २, प्रनानी ४, प्रसनि १९ ,प्रबह १५ ,प्रह ६४ ,प्रसह ५९, प्रज १४१ , प्रकास ५ गरी ३१२ जना प्रहरीहरुलाई कारवाही गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।

कानून विपरीत गर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गरिएको जनााइएको छ । सोही क्रममा तीन जना प्रहरी वरिष्ठ उपरीक्षकसहित दुई हजार एक सय ९३ जनालाई पुरस्कृत गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दाहालले जानकारी दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक दाहालले कोशी प्रदेश प्रहरी कार्यालयले एक बर्षको अवधिमा गरेका सफल अनुसन्धान, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएका सचेतनामुलक कार्यक्रम लगायत प्रहरीले गरेका नविनतम् कार्यहरुको विवरण प्रस्तुत गरेका थिए ।

मनसुनमा २२ जनाले ज्यान गुमाए

कोशी प्रदेशका १४ जिल्लामा मनसुन शुरु भएसँंगै २२ जनाले ज्यान गुमाइसकेका छन् । ३४ जना घाइते भ एभने दुई जना अझै बेपत्ता रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गत जेठ २२८ गतेदेखि हालसम्म चार सय ४४ स्थानमा बाढी र पहिरो जाँदा उक्त संख्यामा मानिसको मृत्यु भएको जनाइएको छ ।

मनसुनकै कारण तीन सय ७१ घर प्रभावित भएका छन् भने नौ सय तीन परिवार विस्थापित भएका छन् । त्यस्तै ४९ परिवारलााई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । उक्त समयमा दुई हजार छ सय १४ जना प्रहरी परिचालित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here