जहाज दुर्घटनाबाट अकल्पनीय क्षति भयो–सौर्य एयरलाइन्स

0
51

झापा ।

काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नजिकै गत बुधबार जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

आज एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति बेहोर्न पुगेको बताएको छ । सौर्यले भनेको छ, ‘यस दुर्घटनामा परी ज्यान गुमाउनु हुने प्रतिष्ठित यति धेरै विज्ञहरूको क्षतिको कल्पना नै गर्न सकिन्न ।’

सौर्य एयरलाइन्सको स्थापनाकालबाटै परिवारका रुपमा काम गर्दै आएका मित्र तथा सहयोगी गुमाउँदा मर्माहत तथा भावविह्वल भएको समेत सौर्य एयरलाइन्सका अध्यक्ष दीपक कुमार पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पीडित परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव रहने विश्वास समेत कम्पनीले दिलाएको छ । यस दुर्घटनामा परी बाँच्न सफल क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

‘सौर्य एयरलाइन्स प्रा.लि. को स्थापनाकाल देखि एउटै परिवारको रुपमा रही काम गर्दै आएका हाम्रा अनन्य मित्र एवम् सहयोगीहरुको मिति २०८१/०४/०९ गते अकल्पनीय जहाज दुर्घटनामा परी दिवंगत हुनु भएकोमा हामी अत्यन्त मर्माहत र भावविह्वल भएका छौं’ विज्ञप्तिमामार्फत् अध्यक्ष पोखरेलले भनेका छन्, ‘यस दुर्घटनामा परी ज्यान गुमाउनु हुने प्रतिष्ठित यति धेरै विज्ञहरुको क्षतिको कल्पना नै गर्न सकिन्नँ। यस कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको यस दुःखद घडीमा शोकमा रहनुभएका सम्पूर्ण परिवार र आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्थना गर्दछौं।’

सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनीयता आर्जनका लागि उनीहरूले निष्ठापूर्वक योगदान गरेको विज्ञप्तिमा छ । ‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाउँछौ । साथै, यस दुर्घटनामा परी बाँच्न सफल हाम्रा अनन्य मित्र क्याप्टेन मनिष शाक्यको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं,’ विज्ञप्तिमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here