‘नागरिक विना बर्दीका प्रहरी हुन्’

0
2
खोटाङ,
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । खार्मीसँगै वडा नं १० पाथेकावासीका लागिसमेत शान्ति सुरक्षा प्रदान गर्न तथा ग्रामीण क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न खार्मीको खानीडाँडामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।
अस्थायी प्रहरी चौकी खार्मीमा तत्कालका लागि वरिष्ठ हवल्दारको नेतृत्वमा छ जनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम खड्काले बताउनुभयो । “नागरिकलाई शान्ति सुरक्षा दिनु प्रहरीको कर्तव्य हो । स्थानीय नागरिकलाई शान्ति सुरक्षा दिन खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ”, उहाँले भन्नुभयो, “नागरिक विना बर्दीका प्रहरी हुन् । उहाँहरुको सहयोग र समन्वयले मात्र समाजमा शान्ति सुरक्षा कायम गर्न सक्छौँ । अस्थायी प्रहरी चौकीमा खटिएका प्रहरीहरुले स्थानीय बासिन्दासँग सहकार्य गरेर अघि बढ्छ ।”
खानीडाँडास्थित स्वास्थ्य चौकी नजिकैका स्थानीय बासिन्दाको घर भाडामा लिएर स्थापना गरिएको अस्थायी प्रहरी चौकी शुक्रबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले उद्घाटन गर्नुभएको भएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहनुभएका प्रजिअ कार्कीले शान्ति सुरक्षा कायम राख्न स्थानीय बासिन्दाको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
कार्यक्रममा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, वुद्धिजीवी, समाजसेवी, स्थानीय बासिन्दालगायत उपस्थिति थियो । उद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्थानीय जगत आधारभूत विद्यालयका विद्यार्थी तथा स्थानीय बासिन्दाले सांस्कृतिक झाँकीसहित फूलमाला र अविरलले स्वागत गरेका थिए ।
खार्मीस्थित खानीडाँडाका स्थानीय तस्बिर उदासले उपलब्ध गराउनुभएको घरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको वडाध्यक्ष ईखबहादुर राईले बताउनुभयो । “प्रहरी चौकीका लागि आवश्यक फर्निचर, बिजुली, खानेपानी लगायतका सुविधा वडा कार्यालयबाट उपलब्ध गराइएको छ । घरभाडा टुङ्गो लागेको छैन । निःशुल्क दिलाउन पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “यदि घरधनीले भाडा लिएको खण्डमा वडा कार्यालयबाट उपलब्ध गराउँछौँ । यसलाई स्थायी बनाउन सबैले सहयोग गर्नुप¥यो ।”
अस्थायी प्रहरी चौकी तालखर्कले शान्ति सुरक्षा प्रदान गर्दै आएको खार्मीमा अस्थायी प्रहरी चौकी आएपछि स्थानीय बासिन्दासमेत हर्षित बनेका छन् । खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै गाउँमा हुने सानातिना मुद्दा मिलापत्र गर्नका लागि तालखर्क तथा जिल्ला धाउनुपर्ने बाध्यता अन्त्य भएपछि स्थानीय बासिन्दा हर्षित भएका हुन् ।
यसअघि, यही साउन ९ गते बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा अस्थायी प्रहरी चौकीको उद्घाटन गरिएको थियो । १० स्थानीय तह रहेको जिल्लामा खार्मीसहित प्रहरी चौकी भएको स्थान २४ पुगेको छ ।
दश स्थानीय तहको ७९ वटा वडा रहेको जिल्लामा एउटा जिल्ला प्रहरी कार्यालय, छ वटा ईलाका प्रहरी कार्यालय, तीनवटा विमानस्थल सुरक्षा कार्ड, पाँचवटा अस्थायी प्रहरी सहायता कक्ष तथा एक वटा पर्यटक प्रहरी सहायता कक्ष सञ्चालनमा छन् । जिल्लामा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रणमा प्रनाउ खड्का नेतृत्वको वर्तमान प्रहरी सङ्गठनको भूमिका महत्त्वपूर्ण रहेको जिल्लावासी प्रतिक्रिया छ ।
यसैबीच, प्रहरी चौकी खार्मीका लागि पक्की भवन निर्माण गर्न वडाध्यक्ष राईसहित चार जनाले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । भाडाको घर प्रयोग गरेर अस्थायी रूपमा सञ्चालन गरिएको प्रहरी चौकीलाई स्थायी बनाएर पक्की भवन निर्माण गर्न वडाध्यक्ष राई, प्राध्यापक देवकुमार राई, योगा शिरोमणि नरेन्द्र श्रेष्ठ र समाजसेवी भुवन राईले चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।
चार जना जग्गादातामध्ये कार्यक्रममा उपस्थित वडाध्यक्ष राई र भुवनलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको छ । प्रहरी चौकीका लागि आवश्यक जग्गा भइसकेकाले पक्की भवन निर्माणका लागि पहल थालिने वडाध्यक्ष राईले बताउनुभएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करिब १७ किलोमिटर टाढा पर्ने खार्मीस्थित चम्फेडाँडामा तत्कालीन राना शासनकालमा प्रहरी चौकी स्थापनाका लागि स्वीकृति प्राप्त भएपनि बाक्सिला लगिएको जानकारले बताउँदै आएका छन् । चम्फेडाँडामा स्थापना गर्नेगरी स्वीकृति पाएको प्रहरी चौकी केही व्यक्तिको अवरोधका कारण बाक्सिलामा लगेर सोही नाम ‘चम्फे चौकी’ उल्लेख गरी स्थापना गरेको खार्मीका तत्कालीन गाविस अध्यक्ष बलराम राईले बताउनुभएको छ ।
अहिले खार्मीमा स्थापना गरिएको अस्थायी प्रहरी चौकीको नाम सोही ‘चम्फे चौकी’ उल्लेख गरिनुपर्ने स्थानीय बासिन्दाको माग छ । प्रहरी चौकीको नामको विषयमा फलफल गरेर अगाडि बढ्न सकिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here