भोजपुर,
भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । अहिले होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो बनेको हो ।
हतुुवागढी–६ लङ्खाका ७५, विथारा एक सय ६५, लुम्बुवा एक सय ३५ तथा हतुवागढी–५ सोया गाउँका करिब ४० परिवारले व्यावसायिक रुपमा नाङ्लो बुन्दै आएका छन् । हतुवागढी–६ का नाङ्लो व्यवसायी राजेन्द्र राई विशेष गरेर नाङ्लो भदौ, असोज र कात्तिक महिनामा सबैभन्दा बढी उत्पादन हुने गरेको बताउनुहुन्छ । दसैँ, तिहार, छठलगायत पर्वका अवसरमा नाङ्लोको बढी माग हुने गरेको उहाँको भनाइ छ ।
यहाँ उत्पादन भएको नाङ्लो बिक्रीका लागि जिल्ला बाहिर पठाउने गरिएको छ । महिनामा १८ हजारदेखि २० हजारसम्म नाङ्लो बजारमा पठाउने गरेको राईले बताउनुभयो । एउटा नाङ्लो औसतमा रु एक सयदेखि रु एक सय ५० सम्ममा खरिद बिक्री हुने गरेको उहाँले बताउनुभयो ।
“हाम्रो गाउँका अधिकांशले नाङ्लो बुन्दै आएका छन्”, व्यवसायी राईले भन्नुभयो, “हाम्रो आम्दानीको मुख्य स्रोत नाङ्लो हो । सबै जना मिलेर यहाँ उत्पादन भएको नाङ्लो सङ्कलन गरेर बाहिरका बजारमा पठाउँछौँ । सरदरमा एक महिनामा १९ हजारदेखि २१ हजारसम्म नाङ्लो बजारमा पठाउने गरेका छौँ ।” मासिक रु २१ लाख बराबरको नाङ्लो बिक्री हुने गरेको छ । गाउँमा नाङ्लो बिक्रीबाट वार्षिक रुपमा रु दुई करोडदेखि रु दुई करोड ५० लाखको हाराहारीमा रकम भित्रिने गरेको बताउनुभयो । यहाँका एउटा परिवारले मासिक रुपमा न्यूनतम एक सय ५० देखि अधिकतम तीन सय वटासम्म नाङ्लो उत्पादन गर्दै आएका छन् ।
चाडबाडका समयमा सबैभन्दा बढी नाङ्लोको माग हुन्छ । यहाँ बनाइएको नाङ्लो धरान विराटनगर इटहरीलगायत सहरमा बिक्री हुन्छ । चाडबाडका समयमा नाङ्लोको माग बढी हुन्छ । नाङ्लो व्यवसायी प्रकाश राई यसलाई थप व्यवसायिक बनाउन स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको बताउनुहुन्छ ।
नाङ्लो बुनेर घर खर्च चलाउँदै आउनुभएका पूजा राईले आफ्ना घरका सबैजनाले नाङ्लो बुन्ने गरेको बताउनुभयो । एक महिनामा एक सय ५० नाङ्लो बुन्ने गरेको उहाँले बताउनुभयो । नाङ्लो बिक्रीबाट वार्षिक रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । “नाङ्लो घरबाटै रु एक सय १० मा बिक्री हुन्छ”, उहाँले भन्नुभयो– “हामी घरका सबै सदस्य मिलेर नाङ्लो बुन्छौँ, आम्दानीको स्रोत नै यही हो । खेतबारी थोरै छ । प्रायः सबैले व्यावसायिक रुपमा नाङ्लो बुन्दै आएका छौँ ।”