मैले खोजेको देशभित्रका राजेश ढुंगाना

0
3

नेपालको सुदूरपूर्वी जिल्ला झापाको सुन्दर नगरी भद्रपुरलाई सिर्जनाथलो बनाएर कविता लेखनमा समर्पित अग्रज कवि राजेश ढुङ्गाना नेपाली साहित्यको क्षेत्रमा सुपरिचित नाम हो । उनले आफ्ना सुन्दर सुन्दर कृतिहरू नेपाली साहित्यलाई पस्केर ठूलो योगदान दिएका छन् ।

लामो समयदेखि कविका रूपमा स्थापित उनको पहिलो कविता सङ्ग्रह हो– सुकिला मान्छेको सामुहिक मृत्यु । पहिलो कविता कृतिबाट सर्वाधिक चर्चामा रहेका कवि राजेश ढुङ्गानाले भर्खरै नेपाली साहित्यको काव्यात्मक पूmलबारीमा एउटा अर्को कृति थपेका छन्, जुन कृति हो– मैले खोजेको देश । आज म मेरो हातमा रहेको राजेश ढुङ्गानाद्वारा प्रकाशित मैले खोजेको देश कविता कृतिभित्र रहेका कविता, कविताको बनोट, त्यहाँभित्रको विषय, शब्दभाव र केही कविताका बारेमा आफ्ना विचार राख्ने प्रयास गरेकी छु ।

कवि राजेश ढुङ्गानाको मैले खोजेको देश कविता सङ्ग्रह २०८१ साल बैशाख ६ गते काठमाडौंमा विमोचन भएको थियो । यो कविता कृति सुन्दर कलात्मक आवरणले सजिएको छ । यसको कभर पेज र भित्री पानाहरू पनि उत्कृष्ट रहेका छन् । यो कविता कृति मझ्यौला आकारको रहेको छ । यस कविता कृतिमा अत्यन्तै आकर्षक ढङ्गले अहिलेको आधुनिक प्रविधि प्रयोग गरेर अर्थात् एआइको प्रयोग गरेर कभर पेजमा सुन्दर कलाकृतिले नेपाली भेषभूषामा सजिएको नेपाली युवकले काँधमा नेपालको झण्डा बोकेर देशप्रतिको दायित्वबोध गरेको जस्तो अनुभूति गरिएको चित्र देख्न सकिन्छ ।

आवरणको पृष्ठभूमिमा दृश्यचित्रले नेपालको हिमाल पहाड र तराईको भौगोलिक स्वरूपलाई पनि देखाएको छ । यस कविता कृतिमा मझौला आकारका र छोटा–छोटा जम्मा ६७ वटा कविताहरू सङ्कलन गरिएका छन् । प्रस्तुत कृतिको प्रकाशक मीना ढुङ्ंगाना रहेकी छन् । कविता सङ्ग्रहमा कविले आफ्नी आमा समानकी प्रिय निरु दिदीलाई कविता कृति समर्पित गरेका छन् । कविता सङ्ग्रहको शुरुवातमा आदरणीय कवि, समालोचक र पत्रकार हरि अधिकारीको छोटो समीक्षा प्रस्तुत छ ।

त्यसपछि अग्रज कवि, लेखक मदन पुरस्कार विजेता कृष्ण धरावासीले कविको बारेमा साङ्गोपाङ्गो अध्ययन गरी भूमिका प्रस्तुत गरेका छन् । धरावासीको यो भूमिका पढिरहँदा आफ्नै साथी कवि राजेश ढुङ्गानाको जीवनको इतिवृत्तान्त, संघर्षपूर्ण कथा व्यथाहरू, जीवनका उकाली ओरालीहरु, दुःख र कष्टहरू छर्लङ्ग बुझिन्छ । कवि राजेश ढुङ्गाना कस्तो व्यक्तित्व हो र ऊ कसरी यहाँसम्म आइपुग्यो भन्ने कुरा सो भूमिकाबाट स्पष्ट हुन्छ ।

उनले नेपाली साहित्यका गद्य कविहरू भूपी शेरचन, हरिभक्त कटुवाल, दुबसु क्षेत्री, विष्णुविभु घिमिरे लगायतका कविता र कविको हाराहारीमा पुग्न सफल कवि राजेश ढुङ्गानाको कवित्व देखिन्छ भनेका छन् । कवि राजेश ढुङ्गानाले मेरो भन्नु शीर्षकमा आफ्ना लेखन यात्रा र कविताबारे विचार राखेका छन् । पछाडिको पातोमा अग्रज समालोचक प्रमोद प्रधान र साहित्यकार कवि विवश पोखरेलका कविता सम्बन्धी धारणा छ । यी सबै भूमिका र भनाइहरूले कविता सङ्ग्रहको गरिमालाई अझ उच्च बनाएको छ ।

एकपटक लड्दैमा जीवन सकिँदैन, लडेर फेरि उठ्नु चाहिँ जीवन हो– यो भनाइ राजेश ढुङ्गानाको जीवनमा चरितार्थ हुन्छ । जीवन र जगतका समस्याले र समाज र राजनीतिका विकृतिले जब मन, मस्तिष्कलाई छुन थाल्छ अनि कविको मन तरङ्गित बनाउँछ र भावनाहरू सल्बलाउन थाल्छन् र साहित्य जन्मिन्छ, कविता जन्मिन्छ, कथा जन्मिन्छ, यी सबै भोगाइलाई कविले आफ्नो हृदयको कुनामा राख्छ र आफ्ना भाव, विचार र अनुभूतिहरुले सिँगार्न थाल्छ । यसरी नै कवि राजेश ढुङ्गानाका कविताहरू जन्मिएका देखिन्छन् र नेपाली साहित्यको सुन्दर बगैँचामा कवि राजेश ढुङ्गाना एउटा फूल भएर ढकमक्क फुलेका छन् ।

आजभन्दा करिब ४० वर्षभन्दा अगाडिदेखि काव्य सिर्जनामा समर्पित बनेका कवि राजेश ढुङ्गानाको मैले खोजेको देश कविताकृतिभित्र यथार्थ र कल्पनाको सम्मिश्रण रहेको छ । जहाँ हाम्रा भोगाइका विविध अनुभूति पाइन्छन् । राजेश ढुङ्गानाका कवितामा आफ्नै स्वाद छ, मौलिकता छ । उनी प्रायः छोटा–छोटा र मझौला आकारका कविता नै लेख्न मन पराउँछन् । छोटा भए पनि मन मस्तिष्कलाई तरङ्गित पार्ने च्वास्स रोप्न सक्ने र मनलाई आकर्षण गर्न सक्ने शक्ति उनका कवितामा रहेका छन् । उनका कवितामा कतै विद्रोह आक्रोश पोखिन्छन् त कतै शालीनता पाइन्छ । पुरातन सोचले ग्रस्त भएको हाम्रो समाजमा रहेको विकृति र विसङ्गतिलाई आफ्ना विचारका कोर्राले हिर्काउँछन् उनी । उनका कविता कति भावुक छन् र कति शक्तिशाली छन् भन्ने कुरा यहाँ प्रस्तुत गर्न चाहन्छु । देखँु नदेखुँ कवितामा उनी भन्छन्–

तिमीले
केही देखिनौ
आँखामा
आँशु भरिएको थियो
मैले पनि केही देखिनँ
नयनमा
तिमी जमेकी थियौ ।
यस कवितामा एक अर्काप्रतिको प्रेम समर्पणको मार्मिक अभिव्यक्ति छ ।

जीवन र जगतको बारेमा राजेश ढुङ्गाना अलि फरक दृष्टिकोण राख्छन् । कहिलेकाहीँ उनको जीवनदर्शनको सोच डगमगाउँछ । कहिलेकाहीँ सामाजिक विकृति र मानिसको व्यवहारले गर्दा उनका आशावादी स्वरहरू निराशातिर मोडिन खोज्छन् र मस्तिष्कलाई हल्लाउन आउँछन् । उनी जीवन र दृष्टि भन्ने कवितामा फरक दृष्टिकोण प्रस्तुत गर्दछन् र पनि जीवनप्रति आशावादी छन् ।

युद्ध र स्वतन्त्रता राम्ररी बुझेका कविले कवितामा क्रान्तिका स्वरहरू उरालेका छन् । उनी कवितामा भन्छन्– युद्ध अझै पनि भूमिगत छ । पहिला पड्काएका बन्दुकहरु साक्षी छन् । बेकामे बन्दुकहरूका बिरुद्धमा बन्दुक नै उठ्न सक्ने सम्भावना अझै रहेको छ– यस्तो क्रान्तिकारी सोच छ कविको हृदयमा । उनी हाम्रा प्राप्ति प्रति असन्तुष्ट छन् । वास्तवमा यो सत्य हो, यथार्थ हो । उनका कवितामा जन्म र मृत्युको सम्बन्धलाई पनि गहिरो रुपमा हेरेको पाइन्छ । कुनै कविता हेर्दा यस्तो लाग्छ, कवि राजेश ढुङ्गाना कवि मात्र नभएर एक महान दार्शनिक हुन् । उनका कविता पढिरहँदा आफूलाई जीवनको एउटा दर्शन पढिरहेको बोध पनि हुन्छ । मृत्यु शीर्षकको कवितामा कवि राजेश ढुङ्गाना लेख्छन्–

मृत्यु छेउबाटै
बाकटे हानेर गएको छ
गएको भूकम्प त फेरि फर्कन्छ भन्छन्
कतै मेरै छेउ र मेरै वरिपरिबाट सुत्त गएको मेरो मृत्यु कतै
एक्कासी फर्कने त होइन ?

कविताले धेरै गहनता, यथार्थता स्वीकार गरेका हुनाले कविता उचाइमा पुगेका छन् । आदिमकालदेखि सत्ताले किन जनता देख्दैन ? किन राष्ट्रियता देख्दैन ? किन समस्या देख्दैन ? कविले कवितामा खरो प्रश्न गरेका छन् ।

हरेक कविताहरू कलात्मक छन् । गहिरा छन् । भावमय छन् । कविता पढ्दा एउटा बेग्लै आनन्दको अनुभूति हुन्छ । उनका कविताले मन र मस्तिष्कलाई गम्भीर बनाउँछन् । कतै–कतै प्रयोग गरिएका शब्दहरू निर्लज्ज हाँसिदिन्छन्, लाज मान्दैनन् । कवि राजेश ढुङ्गानाका कविताहरू यो जगत र मानवताबाट टाढा भागेका छैनन् । कविता सत्तामोह र स्वार्थमा लागेका नेताहरू देखेर दिक्क मानेका छन् । पहिलो कृतिमा शालीन देखिएका कवि राजेश ढुङ्गाना दोस्रो कृतिमा आइपुग्दा अलिक विद्रोही देखिएका छन् । शायद समयले, जीवनका तिक्त भोगाइले उनी विद्रोही भएका हुन् कि ? हामी पनि जीवनप्रति कहाँ आशावादी छौं र !

कृष्ण धरावासीले भूमिकामा भने जस्तै भावुकता नभएको मानिस कवि हुनै सक्दैन । त्यही भावुकताले निकास नपाए या विद्रोही बनाउँछ या निराश । कवि राजेश ढुङ्गाना कहिले भावुक निराश बनेका छन् । जसले कविता पढ्छ उसलाई मेरै निम्ति लेखेको हो कि ? मेरै भावना समेटिएको हो कि ? या मैले आफैले लेखेको हो जस्तो लाग्ने जीवन्त कविता लेख्न सक्ने क्षमता छ कविमा ।

साँच्चै कवितालाई अझै मेहनत गरेर मसिनो गरेर पढ्ने हो भने मन र मस्तिष्कलाई जुरुक–जुरुक उचाल्न सक्ने क्षमता र तागत रहेका छन्– राजेश ढुङ्गानाका कवितामा । जति पढ्यो पढौँ–पढौँ लाग्ने, जति बुझ्यो अझै गहिराइमा डुबाउन सक्ने कविता छन्, यस कृतिभित्र । वास्तविक कविता नै पढेको जस्तो अनुभूति हुन्छ, यो सङ्ग्रह पढ्दा । हाम्रा साझा भोगाइका विम्बका रूपमा आएको छ, यो कृति ।
अन्त्यमा, म एउटा सामान्य कविले र कविताको पाठकले एउटा सिङ्गो इतिहास रच्न सफल भएका अग्रज कवि र कविताको बारेमा जुन लेख्ने साहस गरेँ, यो मेरो लागि अमूल्य अवसर हो । साँच्चै ! म भाग्यमानी छु कि मैले देश बोलेको, समाज बोलेको, हामी सबैको मन मस्तिष्क र भावना बोलेको एउटा कृति अध्ययन गर्ने र केही लेख्ने अवसर पाएँ । यो कृतिको समीक्षा होइन, समीक्षा त हातमा कविता कृति परेर जब पढ्न थालिन्छ अनि सबैको मन–मस्तिष्कले कविताको समीक्षा गर्न थाल्छ । यो त मैले सङ्ग्रहभित्र पसेर कविता छिचोल्ने सामान्य प्रयास मात्र गरेकी हुँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here